Exif_JPEG_420

थाहा नगरपालिकाको विकास घरमा हेम्प (गाँजा) र अल्लोको पाटबाट कपडा बनाउने तालिम सुरु भएको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आर्थिक सहयोगमा घाइते अपाङ्ग योद्धा संघ मकवानपुरको आयोजना तथा थाहा नगरपालिका वडा नम्बर ३ को सहकार्यमा निःशुल्क १ सय ६० घण्टे सीपमूलक तालिम शुरु भएको हो ।

२० दिनसम्म संचालन हुने तालिममा अल्लो तथा गाँजाको पाटबाट कपडा र अन्य सामान बनाउन सिकाइने ३ नम्बर वडाध्यक्ष हिरेन्द्रकुमार रायमाझीले जानकारी दिए । तालिमको एक समारोहकाबीच ५ वैशाखमा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित घलानले उद्घाटन गरे । अल्लोको कपडा बनाएर जिल्लाबाहिर बिक्री गर्नुपर्ने प्रमुख घलानको भनाइ छ । घलानले तालिममा सहभागीलाई तालिमपछि उद्यमी बन्न अनुरोध गरेका छन् । गाजाबाट औषधि मात्र नभई कागज, तेल, कपडा, डाइपर, झोला, जुत्ता र फेब्रिसहरु र घर बनाउन समेत सकिने उनको भनाइ थियो । नेपाल जस्तो अल्पविकसित राष्ट्रमा गाँजालाई प्रतिबन्ध होइन गाँजाको उपयोग गरेर रोजगारीको सृजना गर्नतिर लाग्नुपर्ने घलानले बताए ।

घाइते, अपाङ्क योद्धा संघ मकवानपुरका अध्यक्ष कृष्ण घिमिरेको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा थाहा ३ का वडा अध्यक्ष हिरेन्द्र रायमाझी, नेकपा माओवादी केन्द्र जिल्ला संयोजक भिम पाख्रीन, नगर अध्यक्ष विनोद कुमार लामा, प्रशिक्षक खड्क सिंह बोगटी, मदन ढकाललगायतले शुभकामना व्यक्त गरेका थिए।

पालिका प्रेस
थप जानकारी