५ वैशाखमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा नेकपा एमालेले नगर स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईञ्चार्ज गुरु प्रसाद बराल, पोलिटव्युरो सदस्य एवम् मकवानपुर ईञ्चार्ज देवी ज्ञवाली, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, प्रतिनिधि सभा सदस्य एवम् एमाले संसदीय दलका मुख्य सचेतक महेश कुमार बर्तौला, बागमती प्रदेश सदस्यहरु बलराम बल, इन्द्रमान स्याङ्तान, नारायण रिजाल, समृद्व बागमती अभियान सदस्य भोजराज ढकाल, जिल्ला संगठन कमिटी सदस्य एवम् नगर सह–ईञ्चार्ज शशीधर सुवेदीलगायतका अतिथिहरु थिए । तर मञ्चमा एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान मात्र थिए । अन्य सबै अतिथिहरु दर्शकतिरैको पहिलो पङ्तिमा थिए ।

कार्यक्रममा सहभागी नगर कमिटीका सदस्यहरु र वडा कमिटीका पदाधिकारीहरु नौलो मानिरहेका थिए । उसो त कार्यक्रमका सभाध्यक्ष प्रधानले मन्तव्य मै भन्दैथिए, ‘२७–२८ वर्षको सार्वजनिक जीवनका कयौं कार्यक्रमहरुमा यसरी सञ्चालन भएको यो पहिलो कार्यक्रम हो । म आफैलाई अनौठो लागिरहेको छ ।’

खासमा अघिल्लो महिनाको २२ गते सम्पन्न नगर कमिटीको पहिलो बैठकमा प्रदेश कमिटी सदस्य तथा निर्वाचन क्षेत्र नम्बर २ का ईञ्चार्ज बलराम बलले अर्को कार्यक्रमदेखि दर्शक र नेताबीचको वर्ग छुट्याउन नहुने र वर्ग विहीन कार्यक्रम गर्न पार्टेको सर्कुलर रहेको जानकारीसहित निर्देशन दिएपछि अतिथिहरुको आशन ग्रहणको बसाई परिवर्तन गरिएको नगर सचिव सुजन कुमार रायमाझीले जानकारी गराए ।

कार्यक्रममा सहभागीहरुले वर्ग विहीन कार्यक्रमको प्रसंशा मात्रै गरेनन् समाजमा गरिने हरेक क्रियाकलापमा यसरी नै वर्ग विहीन अभ्यास गर्न सके उन्नत समाज बन्ने विश्वास गर्दै थिए । कार्यक्रमका प्रशिक्षकहरु पनि पार्टीमा गरिने थोरै कार्यक्रमहरुमध्ये यो अभ्यास राम्रो रहेको प्रसंशा गरेका थिए ।

पालिका प्रेस
थप जानकारी