थाहा नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका तीन विधामा ५ जनालाई ‘थाहा पदक’बाट विभुषित गरेको छ । ९ जेठमा एक पालुङ जेसीज सभाहलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा भिन्दा भिन्दै क्षेत्रमा योगदान दिएको मूल्याङ्कनसहित नगरपालिकाले पदकबाट सम्मानसहित विभुषित गरेको हो ।

 

‘थाहा सेवा पदक’बाट थाहा नगरपालिकाका प्रथम नगर प्रमुख लवशेर विष्ट र प्रथम नगर उपप्रमुख खड्ग गोपालीलाई पदकसहित विभुषण गरिएको छ । नगरपालिकाको विकास र सम्वृद्धिका लागि योगदान पु¥याएको मूल्याङ्कनसहित नगर प्रमुख विष्णु बहादुर विष्टले दुवै जनालाई चाँदीको पदक र विभुषण गरिएको हो । कार्यक्रममा थाहा ‘आर्थिक सम्ृद्धि पदक’बाट पर्यटन व्यवसायी अर्जुन सिंह ठकुरी र किसान श्याम विष्ट विभुषित भएका छन् । आफ्नै ठाउँमा रहेर पर्यटन र कृषि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको मूल्याङ्कनसहित ठकुरी र विष्टलाई नगरपालिकाले पदकसहित सम्मान पनि गरेको छ । त्यसैगरी ‘थाहा संस्कृति तारा पदक’बाट थाहा नगरपालिका वडा नम्बर ६ बज्रवाराहीका अजिमा मन्दिरका मुल पुजारी टीकालाल कर्माचार्य पाि विभुषित भएका छन् । परम्परागत संस्कृति संरक्षणमा योगदान पु¥याए वापत उनलाई सम्मान गरिएको हो ।

वि.सं. २०७१ साल वैशाख २५ गते साविक दामन, पालुङ, आग्रा, टिष्टुङ, बज्रबराही र चित्लाङलाई समेटेर सरकारले थाहा नगरपालिका घोषणा गरेको थियो । वि.सं.२०७१ जेठ ९ गते नगरपालिकाको कार्यालय स्थापना गरेर काम थालनी गरिएको थियो । स्व. रुपचन्द्र विष्ट (थाहा)को योगदानलाई चिरस्थायी बनाउन भन्दै थाहा नगरपालिका नामाकरण गरिएको हो । ‘थाहा’ भनेर चिनिने स्व. विष्ट साविकको दामन गाविस–२ का हुन् । ९ हजार ७४९ घरधुरी रहेको थाहा नगरपालिकामा १२ वटा वडा रहेको छ । वि.सं. २०७८ को जनगणना अनुसार नगरपालिकामा ३८ हजार ८ सय ७० जनसंख्या रहेको छ ।

यसअघि नगरपालिकाको स्थापना दिवसको उद्घाटन कार्यक्रम ९ जेठ विहान थाहा–४ क्याम्पाडाँडामा गरिएको थियो । पाँचौं उपप्रमुख ब्याडमिन्टन प्रतियोगिता र स्थापना दिवस समारोहको संयुक्त उद्घाटन गरिएको हो । कार्यक्रममा नगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, नेकपा एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेकपा माओवादी केन्द्र थाहाका अध्यक्ष बिनोद लामा, राष्ट्रिय स्वतन्त्र पार्टीका थाहानगर सभापति जयराम खत्री, राप्रपा थाहाका अध्यक्ष कुलमान तामाङ, वडाध्यक्षहरु, लगायत विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै स्थापना दिवसकै अवसरमा ९ जेठ अपरान्ह इन्द्रायणी चौर खेल मैदानमा नगर प्रमुख–११ र प्रमुख प्रशासकीय–११ टिमबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । प्रतियोगितामा प्रमुख प्रशासकीय–११ टिमले शुन्यका विरुद्ध ४ गोले गरेको थियो । नगर प्रमुख ११ टिममा नगरका राजनीतिक दल प्रमुख तथा जनप्रतिनीधिहरु र प्रमुख प्रशासकीय–११ टिममा नगरपालिका र अन्तर्गतका वडा कार्यालयका कर्मचारीहरुले खेलेका थिए ।

पालिका प्रेस
थप जानकारी