काठमाडौं महानगरपालिकामा घरबहाल कर फरक-फरक ढंगले उठाइने भएको छ ।
महानगरले ल्याएको ‘घर बहाल व्यवस्था निर्देशिका २०७९’ अनुसार भौगोलिक स्थान, भवनको प्रकृति वा प्रयोजनको आधारमा बहाल करको न्यूनतम अंक तोकिने भएको हो । ‘महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र स्थान विशेष वा भवनको प्रकृति वा बहाल प्रयोजन वा अन्य कुनै विषयलाई आधार बनाई घरबहाल करको न्यूनतम दर वा अंक तोक्न सक्ने छ’ निर्देशिकाको बुँदा नम्बर ३१ मा भनिएको छ ।
यस्तै घर बहालमा लिने व्यक्ति विद्यार्थी, शहीद परिवार, घाइते, अपाङ्गता भएका व्यक्ति, विपन्न वा असहाय भएमा पनि कर छुट वा मिनाहा हुनसक्ने महानगरले व्यवस्था गरेको छ । ‘महानगरले बहालमा लिएको घरजग्गा समाजसेवा वा लोककल्याणकारी कार्यमा प्रयोग भएमा, मुनाफाको उद्देश्य नराखी कुनै पेशा व्यवसाय सञ्चालन गरेको अवस्थामा घर बहालमा लिने/दिने पक्षहरूका बीच प्रमाण खुलाई कारण र औचित्यका आधारमा सम्झौता गरी बहाल रकममा छुट वा मिनाहा गर्न सक्नेछन्’ निर्देशिकामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्