संघीयताको कार्यान्वयनपछि गाउँ गाउँमै सिंहदरबार आउँछ भनेर धेरैले भाषण गरे । र, गाउँमै सिंददरबारको आभाष पनि भयो । नयाँ संविधान जारी भएपछिको दोस्रो कार्यकालमा अहिले स्थानीय सरकार अघि बढिरहेको छ । यसअघि सर्बदलीय बैठकको स्वाद चाखेका र जनताबाट अनुमोदित हुन नसकेहरु चाहिँ गाउँमा सिंहदरबार आएको छैन, सिंह मात्रै आयो पनि भन्छन् ।

तर, जे होस् शिक्षकहरुको सरुवाको बिषय होस् कि, छोराको नागरिकता बनाउन गाविस सचिव खोज्दै जिल्ला विकास समितिको भ¥याङमुनि पुग्नुपर्ने बाध्यता नै किन नहोस् ? संघीयताको कार्यान्वयनसँगै ती समस्याहरु हल भएका छन् । स्थानीय सरकारलाई अझ संविधानले दिएकोजति अधिकारको प्रत्यायोजन भइसकेको छैन, नत्र नापी र मालपोतका कामहरु पनि गाउँकै सिंहदरबारमार्फत हुनेमा शंका गर्न सकिन्न ।
एकाथरिले आरोप लगाए झैँ स्थानीय सरकार अर्थात गाउँ गाउँको सिंहदरबारले अझै राम्ररी काम गर्न सकेको छैन ।

विकास निर्माणका काममा राजनीतिकरण, सेटिङमा ठेक्का, टाठोबाठोको मात्रै हालीमुहालीजस्ता घटनाहरु यत्रतत्र नदेखिएका होइनन् । कतिपय लुकेका र लुकाइएका छन् भने कतिपय सार्बजनिक हुने क्रममै छन् ।
यी र यस्तै आरोपहरुलाई खण्डन गर्न मकवानपुरको राक्सिराङ गाउँपालिकाले यसपटक प्रभावकारी रुपमा जनताको घरघरै पुगेर सेवा दिने प्रयास गरेको छ । यद्यपि अघिल्ला बर्षहरुमा पनि घुम्ती शिविरहरु नराखिएका होइनन् ।

यसपटक भने पहुँचमा नपुगेका मान्छेहरु अर्थात पार्टीको पहुँचमा नरहेका र सँधै पीडित भइरहेकाहरुको आँगनसम्मै पुग्ने गरी राक्सिराङ गाउँपालिकाले योजना तर्जुमा गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्ल उत्पीडितहरुको घर आँगनमै पुगी सेवा दिनेगरी योजना बनेको बताउनुहुन्छ ।

एकीकृत शिविर नामाकरण गरिएको अभियानले सम्बन्धित ठाउँमै पुगेर आवश्यकतालाई अनुगमन गरी जस्तापाता, पाइप जस्ता सामग्रीहरु बितरण गर्नेछ भने योजनाहरुको अनुगमन गरी प्राविधिक मूल्यांकन गरेर फिल्डबाटै रकम भुक्तानी समेत गर्नेछ ।

फागुन २९ गतेबाट सुरु हुने शिविरमा विशेषज्ञ डाक्टरबाट घरमै पुगी स्वास्थ्य सेवा प्रबाह गर्ने, अपांगत परिचयत्र बनाइदिने तथा सहायक सामग्रीहरु बितरण गर्ने, बीउबिजन बितरण गर्ने, पशु स्वास्थ्य जाँच र औषधी बितरण गर्ने, व्यवसाय दर्ता र नवीकरणको काम गर्ने लगायतका क्रियाकलापहरु हुने अध्यक्ष मल्ल बताउनुहुन्छ ।

त्यसैगरी गरिव परिचय पत्र बितरण, ज्येष्ठ नागरिक सम्मान तथा परिचय पत्र बितरण विपदका बेला आवश्यक उद्धार राहतका सामग्रीहरु बितरणसहित शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटन लगायतका बिषयहरुमा समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

फागुन २९ गते वडा नं ४ को कार्यालय, चैत ६ गते वडा नं ९ को कार्यालय, चैत १४ गते वडा नं ६, ७ र ८ लाई लक्षित गरी जुरेथुमस्थित आधारभूत विद्यालय र चैत २२ गते वडा नं १ र २ लाई लक्षित गरी कालिका माध्यमिक विद्यालय दुंगुमा एकीकृत शिविर सञ्चालनको मिति तोकिएको छ ।

‘हामीले प्रत्यक्ष समस्याहरुलाई सम्भव भएसम्म ठाउँका ठाउँ, नभए तत्कालै नियमित प्रक्रियामा गएर समाधान गर्ने प्रयत्न गर्छाै’, अध्यक्ष मल्लले भन्नुभयो ।

उहाँले यसअघि पार्टी र पहुँचवालाहरुको दबाब, सिफारिस तथा अन्य ढंगले प्रभावित पारेर चाहिएको ठाउँमा विकासको अनुभूति हुन नसकेको र नचाहिने ठाउँमा त्यस्ता गलत कामहरु भएका छन् भने पनि सच्याउने गरी टोली अघि बढ्ने बताउनुभयो ।
राक्सिराङ गाउँपालिकामा मल्ल दोस्रोपटक निर्वाचित अध्यक्ष हुनुहुन्छ ।

चेपाङ समुदायको उद्गम मानिएको यो पालिकामा चेपाङ, तामाङ, दलित, क्षत्री, बाहुन समेत गरी २५ हजारको हाराहारीमा जनसंख्या रहेको छे । भौगोलिक रुपमा साबिक सरिखेत, राक्सिराङ, काँकडा र खैराङ गाविसलाई मिलाएर यो गाउँपालिका निर्माण भएको हो ।

-मनहरीलाइभबाट

पालिका प्रेस
थप जानकारी