मकवानपुरको दामनका मृगौलापीडित सप्तरत्न मानन्धरलाई फरकसोचले संकलन गरेको रकम ३ चैत्रमा हस्तान्तरण गरिएको छ । थाहा नगरपालिका ४ का मानन्धरलाई सोही वडाका वडाध्यक्ष नारायण लामाको उपस्थितीमा रकम हस्तान्तरण गरिएको हो ।

मकवानपुरको थाहा नगरपालिका, कैलाश गाउँपालिका तथा अन्य क्षेत्रका मनकारीहरुबाट संकलित १ लाख ९४ हजार ५सय ६२ रुपैया मानन्धरलाई हस्तान्तरण गरिएको फरकसोचका संयोजक यादवजंग रायमाझीले जानकारी दिए । दामनमा स्थाई बसोबास गर्ने मानन्धरको दुबै मृगौलामा समस्या भई उपचार गर्न आर्थिक अभाव भएपछि परोपकारी समाज निर्माणको लक्ष्यमा निरन्तर क्रियाशील फरक सोच अभियानले सहयोग संकलन अभियान शुरु गरेको थियो । संकलित रकमहस्तान्तरण कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लामा, नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद लामा, नव जागृत पुस्तकालय शिखरकोटका अध्यक्ष सुमन बिष्ट, शिखर बचत तथा ऋृण सहकारी संस्थाकी जयन्ती रायमाझीको उपस्थिती रहेको थियो ।

सहयोग रकम बुझ्दै मृगौला रोगबाट पीडित मानन्धरले उपचारमा सहयोग गर्ने फरकसोच र सहयोगी सबैलाई धन्यवाद दिए ।

पालिका प्रेस
थप जानकारी