नेकपा एमालेकी सांसद विद्या भट्टराईले सरकारले संविधान र कानूनविपरीत मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाएकी छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संविधान र कानूनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई नै अस्वीकार गर्ने गरी सबै वडाहरूमा सरकारले गरेको सो परिपत्र फिर्ता लिई संविधानसम्मत ढंगले अर्को परिपत्र गर्न पनि सरकारलाई सचेत गराइन्। उनले संविधान र कानूनको ख्याल गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराइन्।

“परिपत्रले संविधान र कानुनले साबित गरेको आमाका पहिचान र अस्तित्वलाई अस्वीकार गरेको छ। संविधान र देवानी संहिताअनुसार पुनः परिपत्र गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भनिन्।

सांसद भट्टराईले संविधानले पितृत्वको ठेगान नभएका बच्चाहरूको जन्मदर्ता उनीहरूको आमाको नामबाटै गर्ने व्यवस्था गरेकाले त्यसै अनुसारको आवश्यक व्यवस्था सरकारले मिलाउनुपर्ने पनि बताइन्। सरकारले एकल महिलाबाट जन्मिएका बालबालिकाको नाममा मावली थर राखेर जन्मदर्ता गराउन परिपत्र गरेपछि त्यसको विरोध भइरहेको छ।

त्यस्तै, प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले संसद्मा उठाएका विषय सरकारले नसुनेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मौन धारण गरेका छन्। प्रतिनिधिसभा नियमावलीअनुसार शून्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ। सोही समयमा बोल्न उभिएका सांसद ढकाल ‘सम्माननीय सभामुख महोदय,…’ भनेर मौन बसे। र, पछि ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौन धारण गरेँ’ भनेर आफ्नो भनाइ अन्त्य  गरे।

पालिका प्रेस
थप जानकारी