नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रलाई विद्युत् महसुल वापत् यहाँका औद्योगिक प्रतिष्ठानले दुई अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बुझाउन बाँकी छ । लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत चालु आर्थिक वर्षको हालसम्म ती उद्योगबाट महसुल नबुझाइएको केन्द्रले जनाएको छ ।
केही उद्योगविरुद्ध महशुलसम्बन्धी मुद्दासमेत चलिरहको छ भने महसुल नतिर्ने पाँच सय ४२ उद्योगलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ । कालोसूचीमा परेका केही ग्राहकबाट कारबाहीस्वरुप ७९ हजार दुई सय ४१ रुपैयाँ संकलन भएको छ । चालु आवको हालसम्म पाँच हजारभन्दा बढी विद्युत् महसुल नतिर्ने नौ सय ७३ ग्राहकको लाइन काटेर कारबाही गरिएको केन्द्रका प्रमुख नरेन्द्रवीर श्रेष्ठले जानकारी दिए । कारबाहीमा परेपछि छ सय १७ जनाले जरिवाना तिरेर निवेदन दिएकाले पुन लाइन जोडिएको र त्यसबाट दुई करोड ५३ लाख ९५ हजार रुपैयाँ महसुल संकलन भएको छ ।
हेटौंडामा रहेका ७२ हजार ६ सय ९४ ग्राहकबाट वितरण केन्द्रले मासिक १९ करोड १७ लाख ८८ हजार रुपैयाँ बराबरको विद्युत् विक्री गर्दे आएको छ । तर, १८ करोड छ लाख १२ हजार रुपैयाँ मात्र महसुलबापत संकलन हुँदै आएको छ । विद्युत् प्राधिकरणको पोल प्रयोग गरेबापत विभिन्न छ वटा इन्टर नेट सेवा प्रदायक कम्पनीले ५३ लाख ५० हजार रुपैयाँ राजस्व बुझाएको केन्द्रले जानकारी दिएको छ ।
यसैबीच ग्रामीण विद्युतीकरणअन्तर्गत् हेटौँडा उपमहानगरपालिकालगायत बकैया, राक्सिराङ, मकवानपुरगढी, कैलाश, भीमफेदी, ईन्द्रसरोवर गाउँपालिकाको ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण थालिएको वितरण केन्द्रका इञ्जिनियर सन्तोष चौहानले बताए । यो कार्यका लागि १८ करोड रुपैयाँ भन्दा बढी बजेट छुट्याइएको थियो । चालु आवको निर्धारीत कार्यक्रम अनुसार कतिपय स्थानमा काम सम्पन्न भइसकेको छ भने कतिपय स्थानमा विद्युतीकरणको कार्य भइरहको छ । औद्योगिक प्रतिष्ठान स्थापना हुने क्रम बढेपछि मनहरीमा विद्युत् सवस्टेशन स्थापना गर्न माग भइरहेको थियो । आगामी आवदेखि काम सुरु गर्ने गरी मनहरी गाउँपालिकामा सवस्टेशन निर्माण प्रक्रियासमेत अगाडि बढेको जनाइएको छ ।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्