खानेपानी व्यवस्थापन बोर्ड हेटौंडालेले उपमहानगरका वडा नम्बर ३, ११, १२ र १३ नम्बर वडा बाहेकका वडामा बसोबास गर्ने एक लाख ५५ हजार नगरवासीहरुलाई दैनिक एक करोड ८८ लाख लिटर पानी वितरण गर्दै आइरहेको छ ।

करिब २३ हजार ५०० धाराबाट दैनिक ६ देखि ७ घण्टा खानेपानी वितरण गर्दै आइरहेको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।

हेटौंडा उपमहानगरले नगरबासीहरुलाई राहत स्वरुप गत भदौ महिनादेखि न्यूनतम खानेपानी महसुलमा १० हजार लिटर बराबरको शुल्क छुटको व्यवस्था समेत गरेको छ । उक्त छुट योजना विस्तारका लागि बोर्डले स्थानीय खानेपानी उपभोक्ता समितिलाई बोर्डमा ल्याउने कार्य भइरहेको जनाइएको छ ।

हाल बोर्डले खानेपानी वितरण गरेबापत मासिक रुपमा  ९५ लाख रुपैयाँ शुल्क संकलन गर्दै आएको अध्यक्ष विष्टले बताए । बोर्डमार्फत् चालु आर्थिक वर्षमा हेटौंडा–१, २, ४, ७, ८, ९, १४ र १ट नम्बर वडामा खानेपानी पूर्वाधार निर्माण सम्पन्न गरेको जनाइएको छ । बोर्डले चालु आर्थिक वर्षको वैशाखसम्ममा आन्तरिक आयतर्फ १० करोड ६८ लाख ६५ हजार रुपैयाँ (८०.६४ प्रतिशत) र बाह्य आयतर्फ ९२ लाख ३८ हजार रुपैयाँ (३४.७७ प्रतिशत) गरी कुल १४ करोड ५१ लाख ४६ हजार रुपैयाँ (७७.१२ प्रतिशत) संकलन गरेको छ ।

यस्तै चालु खर्चतर्फ ४ करोड १८ लाख ४१ हजार रुपैयाँ (७७.५७ प्रतिशत) र पुँजीगत खर्चतर्फ ३ करोड ६३ लाख ६२ हजार रुपैयाँ (३७.८८ प्रतिशत) गरी कुल १० करोड ६४ लाख ७० हजार रुपैयाँ (५६.५७ प्रतिशत) खर्च गरेको छ ।

पालिका प्रेस
थप जानकारी