बागमती प्रदेश सरकारकाे ‘बिग स्कुल’ परियाेजना सञ्चालित मकवानपुर हेटौंडा २ स्थित सिद्धार्थ मावि विद्यालय कार्यसम्पादन परीक्षणमा जिल्ला प्रथम भएको छ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलय शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरद्वारा विद्यालय कार्यसम्पादन परीक्षण प्रतिवेदनहरु कार्यान्वयन अभियान प्रतिवेदन संलेषण, २०७९ मा उल्लेख भए अनुसार विद्यालय कार्यसम्पादन परीक्षणमा सिद्धार्थ मावि जिल्ला प्रथम हुन सफल भएको हो ।

देश ६४ जिल्लाका ४ हजार ८६७ सामुदायिक विद्यालयमध्ये यस सिद्धार्थ माध्यमिक विद्यालय मकवानपुर ८४ दशमलब ४२ प्राप्त गरी जिल्लामा पहिलो हुन सफल भएको हो । देश भरमा भने सिद्धार्थ मावि ३७ औं स्थानमा परेको छ ।

मकवानपुर जिल्लाबाट दोस्रो स्थानमा भानु मावि भएको छ । मकवानपुरगढी गाउँपालिका स्थित भानु माविले ८३ दशमलब २७ प्रतिशत अंक ल्याएको छ । भानु कुल नतिजामा भने ४९ औं स्थानमा छ ।

विद्यालयलाई यो उचाईमा पु-याउन प्रत्यक्ष र परोक्ष रुपमा विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक समिति, कार्यरत शिक्षक, विद्यार्थी, अभिभावकहरुको देन रहेको प्राध्यनाध्यापक मोहन शर्माले प्रतिक्रिया दिए ।

विद्यालयको समग्र स्तर निर्धारण गर्न भार अंक १०० तोकिएकोमा ८४ दशमलब ४२ प्राप्त गरी मध्यम स्तर हासिल गरेको हो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ४० प्रतिशत अंक ल्याउनेलाई कमजोर, ४० देखि ७० ल्याउनेलाई सामान्य, ७० देखि ९० ल्याउनेलाई मध्यम र ९० भन्दा माथि ल्याउनेलाई उत्कृष्ट विद्यालयको रुपमा सुचक निर्धारण गरेको सूचनामा सार्वजनिक गरिएको छ ।

आर्थिक वर्ष २०७३।०७४ बाट देशभर विद्यालयको कार्यसम्पादन परीक्षण कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गर्न थालिएपश्चात् हालसम्म ६४ जिल्लाको परीक्षण सम्पन्न भएको र परीक्षण भएका विद्यालयमध्ये ६० जिल्लाका ४ हजार ८६७ विद्यालयको नतिजा विश्लेषण सार्वजनिक गरिएको केन्द्रले जनाएको छ ।

हालको ६४ जिल्लाको नतिजामा कास्कीको विन्दवासीनी मावि ९४ दशमलब ९५ प्रतिशत अंकका साथ प्रथम भएको छ । यसैगरी एभरेष्ट इङ्लीस स्कुल भक्तपुर ९१ दशमलब १६ तथा भानु मावि कन्चनपुर ९० दशमलब ७४ प्रतिशत ल्याएर क्रमश दोस्रो र तेस्रो भएका छन् ।

पालिका प्रेस
थप जानकारी