रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चित्लाङ–थानकोट सडक खण्डको निर्माणमा भएको ढिलाईबारे चासो राखेका छन् । थाहा नगरपालिकामा १६ असारमा भएको पार्टीको नगर भेलालाई सम्बोधन गर्दै उनले चित्लाङ–थानकोट सडक (गणेशमान मार्ग) खण्डको विषय प्रतिनिधिसभामा उठाउने प्रतिबद्धता जनाए ।

वर्षौदेखि निर्माण अलपत्र पारिएको सडक समयमै निर्माण गर्न नसकेकोप्रति उनले सरकारको ध्यानाकर्षण गराउने बताएका छन् । उक्त सडक निर्माणको लागि रास्वपाको सबै सांसदहरुले संसद भवनमा आवाज बुलन्द पार्ने लामिछानेले बताएका हुन् । चित्लाङको बाटोमा राजनीतिको बाटो बनाउन खोज्दा सडकको निर्माणले पूर्णता पाउन नसकेको उनको आरोप छ । सभापति लामिछानेले अबको पुस्ताले गर्ने राजनीतिको बाटो आफैं पहिल्याउनुपर्नेमा जोड दिँदै भने, ‘हजुरबाले जुन पार्टीमा भोट हाले नातिले पनि तेही पार्टी रोज्दा देशले दुख पाएको छ ।,’ ‘अघिल्लो पुस्ताले गरेको राजनीतिले अहिलेको पुस्ता पछुताइरहेको भन्दै जुनसुकै दलमा आस्था राख्ने भएपनि आगामी निर्वाचनमा सहयोग गर्न आग्रह गरे । रास्वपालाई मत दिँदा दल परिवर्तन होइन भन्ने सोचेर देश बदल्न आएको बुझ्न उनको आग्रह थियो ।

रास्वपाले भाइभार दार भर्ना गरेर टीका लगाएर टिकट नदिने भन्दै सभापति लामिछानेले टिकट पाउन तल्लो कमिटीबाट चुनेरै आउनुपर्ने भएकोले कार्यकर्तालाई ढुक्क हुन आश्वासन दिए । ‘जतिसुकै घेराबन्दी, गालीगलौच आएपनि देशको बागडोर सम्हाल्ने हुटहुटी आफूमा रहेको र व्यक्तिगत स्वार्थ भएकाहरुले यात्रालाई बिटुलो नपार्न आग्रह गर्दछु, ।’, लामिछानेले भने । राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर सभापति भरत पराजुलीको सभाध्यक्षतामा भएको भेलामा रास्वपाका बागमती प्रदेश समिति सभापति डा. अच्युत्तम लामिछाने लगायत केन्द्रीय सदस्यहरु तथा मकवानपुरका नेताहरुको उपस्थिति रहेको थियो । भेलामा थाहाभित्रका विभिन्न पार्टी परित्याग गरी २ सय ५० जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको पार्टी थाहा नगर कमिटीका नवनियुक्त सल्लाहकार किरण गोपालीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी