मकवानपुरको हेटौंडा ५ स्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्रको नाममा रहेको जग्गा अतिक्रमण भएको खुलेको छ । मत्स्य केन्द्रको नाममा रहेको ४९ हेक्टर जग्गा मध्ये १३ बिघा १३ कठ्ठा १० धुर जग्गा अतिक्रमण भएको खुलेको हो । मत्स्य प्रवर्द्धन केन्द्र हेटौंडाले आफ्नो अतिक्रमित भएको जग्गाको विवरण जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई गत जेठ ८ गते जानकारी गराएको पत्र सार्वजनिक भएपछि अतिक्रमण भएको खुलेको हो ।

पत्र अनुसार कित्ता नम्बर ९६ को ८ बिघा १३ कठ्ठा १८ धुर जग्गामा पिप्ले युवा क्लबले रंगशाला निर्माण, हेल्थ पोष्ट र कार्यालयको भवन समेत अतिक्रमण गरी रेष्टुरेन्ट सञ्चालन गरिएको जनाइएको छ । कित्ता नम्बर ९६ को २ कठ्ठा १/५ धुर अतिक्रमित जग्गामा उद्धव चौलागाईंले जस्ताको टहरा बनाई पसल सञ्चालन गरेका छन् भने सनम श्रेष्ठले १ कठ्ठा १.५ धुर जगमा जस्ताकै टहरा बनाई रेष्टुरेन्ट सञ्चालन गर्न भाडामा दिएको उल्लेख छ ।

यसैगरी, कृष्णप्रसाद पुरी, रामकृष्ण कुँवर, विष्णु दंगालले क्रमशः १ कठ्ठा १२ धुर, १ कठ्ठा ३ धुर, २ कठ्ठा ५ धुर सरकारी जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरी रेष्टुरेन्ट सञ्चालन गर्न भाडामा दिएका छन् । जीतलाल महर्जनले १ कठ्ठा ३ धुर जग्गा अतिक्रमण गरी जस्ताको टहरा बनाई पसल सञ्चालन गरेका छन् । कालु स्याङ्तानले १ कठ्ठा ५ धुर, विष्णु दंगालले २ कठ्ठा ५ धुर र पदम बहादुर खड्काले २ कठ्ठा चार धुर जग्गा अतिक्रमण गरी रेष्टुरेन्ट सञ्चालन गरिरहेको बताएको छ ।

यसैगरी, प्रेमबहादुर परियारले १ कठ्ठा क्षेत्रफलमा रहेको केन्द्रको भवन नै अतिक्रमण गरि कुखुरा पालन गरिरहेको पत्रमा उल्लेख छ । मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रको नाममा रहेको ४९ हेक्टर जग्गा मध्य नापी कार्यलय र मालपोत कार्यालय हेटौंडाको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा पास गरिएको पाइएको हो । सरकारी जग्गालाई ८÷९ धुरमा विभाजन गरी १० जनाको नाममा पास भएको पाइएको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडा प्रमुख सरोज कुमार यादवले बताए । सरकारी जग्गा व्यक्तिको नाममा पास भएको विषयमा मालपोत कार्यलयलाई जानकारी गराएको यादवले बताए ।

पालिका प्रेस
थप जानकारी