• अशोक विष्ट

हिन्दु शास्त्रको कथन अनुसार आदीम कालका ७ ऋषिमुनीहरु कश्यप, अत्रि, भारद्वाज, गौतम, यमदग्नि, वशिष्ठ र विश्वामित्र ऋषिमुनीहरुको सन्तान नै अहिलेको हाम्रो पुस्ता हो भन्ने विश्ववास गरिन्छ । विशेष गरि हिन्दु समाजमा मान्छेको पहिलो पहिचान उसको नाम त्यसपछि थर र अन्त्यमा गोत्र खोज्ने गरिन्छ । गोत्रले उ कुन ऋषिमुनीको संन्तान हो भन्ने कुराको पहिचान गराउछ र सगोत्रीय सम्वन्ध राख्नबाट बर्जित गराउदछ । हिन्दु समाजमा गोत्र नै मानिसको पुर्खा पत्ता लगाउने पहिलो हतियार हो । आफु कुन वंशजको हो, आफ्नो पहिचान के हो भन्ने कुरा गोत्रको माध्यमबाट पहिलाउन सकिन्छ ।

७ वटा ऋषिमुनीको सन्तानबाट जन्मीएका उनका सन्ततीहरु जो पछि अन्य ऋषिमुनीहरु भए उनिहरुको सन्ततीहरुले पनि आफ्नै पूर्खाको नाम आफ्नो नामको पछाडी लेख्न थाले यही क्रममा धेरै सन्तानहरुको जन्म भईसकेपछि कालन्तरमा आफ्नो नामको पछाडी आफ्नो पुस्ताको नाम लेख्न छाडीयो र पछि गएर त्यो गोत्रको रुपमा विकास भई पछिल्लो पुस्ताले यसलाई अलि फराकिलो रुपमा चित्रण गर्न थालेको पाउन सकिन्छ । जस्तै कौशिक, कपिल, बालिसेट्ला, मिथुनाकुल, इनाकला, मरिची, अक्षितला, अङ्गिरस, धनञ्जय, नागेश्वर, पराशर, वशिष्ठ, हरिनामा, शिवाल, विष्णु, गौतमश्य, मिना, भार्गव, हरितष्य, कौडिण्य, कुत्सास, उप्रेती, गर्ग, गङ्गाहर, गङ्गाघर, उपमन्यु, विल्भांगा, मुडिनोला, रोहिल्लास, कामास, पद्माशाली, कुरिया, नइर, विश्वाम्बराहमिन, मुदालिहार, भिर्गु, मौद्गल्य, वत्स, साण्डिल्य आदि सबै हिन्दु जातीहरुका गोत्र हुन । जुन विश्व ब्यापीछ छ र बास्तवमा मान्छेको जात भन्दा पनि गोत्र नै उसको ठुलो पहिचान मानिन्छ ।

माथि उल्लेखित विभिन्न ऋषिमुनीहरु र उनिहरुको नामबाट उत्पति भएको गोत्रहरुको आ आफ्नै ईतिहास छ । जस मध्ये यहाँ उल्लेख गर्न खोजिएको कपिल ऋषि र कपिलबस्तु जिल्लाको बारेमा हो । कपिल सांख्य दर्शनका प्रणेता र भगवान विष्णुको २४ अवतार मध्ये पाचौ अवतार पनि मानिन्छन् । उनी कर्दम ऋषि तथा माता देवहुतीका नर्वौ कन्या पछि जन्मीएका १ मात्र पुत्र थिए । उनले आमा देवहुतीलाई सांख्य शास्त्रको उपदेश दिएका थिए जो श्रीमदभागवतको तेस्रो स्कंधमा विशद वर्णन गरेको पाईन्छ ।

 बुद्धको जन्म स्थान कपिलबस्तु प्राचिन शहर, ज्ञानका अग्रदुत भगवान गौतम बुद्ध जन्मनु भन्दा पहिलानै कपिल ऋषिको जन्म भईसकेको थियो र वहाँको नामबाट नै यस प्राचिन शहरको नाम रहन गएको हो भन्ने भनाईछ । कपिल ऋषिको तपोभूमि र कृडा स्थल कपिलबस्तु थियो । अयोध्यामा रामको पुर्खा राजा सागरले १९ पटक सम्म अश्वमेध यज्ञ गरेका थिए । यज्ञको क्रममा पृश्वीको वरीपरी सयौपटक घोडाहरुलाई परिक्रमा गर्न पठाईएको थियो । यो कुरा स्वर्गका राजा ईन्द्रले थहा पाए र क्रोधले राजा सागरको घोडा समातेर कपिल ऋषिको आश्रममा लगेर लुकाईदिए । पछि त्यो कुरा राजा सागरका ६०००० छोराहरुले थहापाए र गंगामा तपस्यारत कपिल ऋषिलाई अपहरणकारीको आक्षेप लगाए र उनीमाथि कुटपिट गर्न थालेपछि तपस्यामा लीन कपिल ऋषिको तपस्या भंग भयो र ऋषिले राजा सागरको ६०००० छोराहरुको क्रोधले अग्नी ज्वाला द्धारा हत्या गरिदिए । पछि राजका नाती अंशृमान कपिललाई भेट्न आए र आफ्ना बाबुको प्राण मागे । कपिल ऋषिले जवाफमा स्वर्गबाट स्वयम गंगा आएर ६०००० लाशको खरानीलाई छुन सकिन भने मात्र उनिहरुको प्राण फिर्ता हुन्छ नत्र हुन सक्दैन भनेपछि अन्ततः सागरका सन्तान, राजा भगीरथको तपस्याको माध्यमबाट स्वर्गबाट गंगा प्रकट हुनभयो र सागरका छोराहरूलाई मुक्त गर्दै, पृथ्वीमा ल्याईयो भन्ने कथन पुराणमा भेटिन्छ । कपिल ऋषिलाई आदिसिद्ध वा सिद्धेश भन्नुको अर्थ यो हो कि कपिल ऋषि ध्यान र तपस्याको मार्ग बताउने पहिलो व्यक्ति थिए । उनको अगाडि कार्य एक मात्र मार्ग थियो र ज्ञान छलफलमा सीमित थियो । उनी झुटा आरोप सहन सक्ने खालका थिएनन र आफ्नो स्वाभीमानलाई कसैले कुल्चन्छ भने पहिलो प्रहारनै उनको हत्या हुन्थ्यो । त्यसैले उनले राज सागरका छोराहरुले उनीमाथी निहथा गरेको आक्रमणको बदलामा हत्या गरिदिए । जस्तो सुकै अप्ठ्यारो परिस्थीतीमा पनि आफ्नो कर्तव्य पुरागर्ने र संसारको शुखको लागी प्रशस्त मार्ग निकाल्न सक्ने एक विशिष्ट तपश्वी थिए । आफुले दुःख गरेर अरुलाई सुखभोग गराउने र आफु फेरी अर्को तपस्यामा लिन हुन रुचाउने महान तपस्वी थिए कपिल ऋषि । यसरी हिन्दु संस्कृतिमा पहिलो पटक कपिल ऋषिले आध्यात्मिक अभ्यासमा ज्ञानको रूप दिएर त्याग, तपस्या र समाधि स्थापना गरे र यीनै ऋषि मुनीका सन्तानहरु आज कपिल गोत्रका नामबाट चिनिन्छन । मानिसको पहिचान नै उसको गोत्र भएको कारणले पनि यस सन्सारमा अनेक स्वभाव भएका मान्छेहरु भेटिन्छन । कोही दयालु स्वभावका हुन्छन । कोही क्रोदी, स्वार्थी त कोही जस्तोसुकै अवस्थामा पनि हाँसेर बस्ने, कोही मुडी आदी अनेक आचरण बिचार र स्वभावका मानिसहरु यस संन्सारमा रहि आएका छन् । यो उनीरुको गोत्रको प्रभाव हो जसलाई विज्ञानको भाषामा जीन भनिन्छ । कपिल गोत्रमा पर्ने नेपालका मुख्य थरहरुमा विष्ट, खड्का, दानी, थापा, बुढाथोकी आदि पर्दछन । जुन थरलाई पुवाँर भनेर पनि चिनिन्छ । आफ्नो बंशावली र पहिचान खोज्दै जानेक्रममा यदी कोही थरका व्यक्तिहरु कपिल गोत्रमा पर्दछन भने उनीहरु कपिल गोत्रीय कपिल ऋषिका सन्तान हुन भन्दा अतियूक्ति नहोला ।

कपिलवस्तु नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार प्राचीनकालमा कौशल देशका राजा ओकाकका सन्तानहरु उत्तरपट्टि छोडिदा घुम्दै कपिलमुनी ऋषिको आश्रममा आईपुगे । उनीहरुले आफ्नो बृत्तान्त उल्लेख गरेपछि ऋषिले नजिकको सालको जंगल फाँडी बसोबास गर्न सल्लाह दिए अनुसार कालान्तरमा घना बस्ती हुन गएकोले कपिवत्थु हुँदै कपिलवस्तु नामाकरण हुन गयो । राजा शुद्धोधनको दरवार तथा भगवान गौतम बुद्धको बाल्य कृडास्थल तिलौराकोट कपिलबस्तु जिल्लाको प्रमुख पर्यटकिय स्थलको रुपमा रहि आएको छ ।

यीनै कपिल ऋषिको नामबाट प्रख्यात कपिलवस्तु जिल्ला नेपालको लुम्बीनी प्रदेश अन्र्तगत लुम्बिनी अञ्चलको ६ वटा जिल्लाहरु मध्ये तराइ भुभागमा पर्ने एक जिल्ला हो । २७ डिग्री २५ मिनेट देखि २७ डिग्री ४९ मिनेट उत्तरी अक्षांश र ८२ डिग्री ४१ मिनेटदेखि ८३ डिगी १४ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको यस जिल्लाको कुल क्षेत्रफल १७३८ वर्ग कि.मि.रहेको छ । नेपालको मानचित्रमा यस जिल्लाको पूर्वमा रुपन्देही, उत्तरमा अर्घाखाँची, दक्षिणमा भारतको उत्तरप्रदेश तथा पश्चिममा दाङ जिल्ला रहेका छन । जिल्लाको पूर्वपश्चिम सरदर लम्बाइ ३३.५ माइल र उत्तर दक्षिण चौडाइ २० माइल रहेको पाइन्छ ।

जगदीशपुर ताल, तिलौराकोट, कुदान यस जिल्लाको प्रमुख धार्मीक तथा पर्यटकीय स्थानहरु हुन । यस बाहेक सगरहवा ताल, विजुवा, कोपवा, बुड्ढी, हरिहरपुर ताल, कर्मा ताल, घोघहवा ताल, पुरैनी तालहरु पनि यस जिल्लाको मुख्य तालहरुको रुपमा लिईन्छ । यी तालहरु मध्ये जगदीशपुर ताल यस जिल्लाकै सबैभन्दा ठुलो ताल हो । २०३५ सालमा यस क्षेत्रको सिंचाई प्रयोजनको लागी बनाईएको जगदीशपुर ताल हाल कपिलबस्तु नगरपालीका वडा नं. ९ मा पर्दछ । १५७ हेक्टर क्षेत्रफल ओगटेको र ४७ लाख घन मिटर पानी भण्डारण गर्ने क्षमता भएको यो ताल सिंचाइ प्रयोजनको लागि जखीरा ताल र यस आसपासका कृषि भुमीमाथी बनाइएको थियो । वि.स. २०६० साल असोज महिनामा रामसार सुचीमा सुचीकृत मानव निर्मित जगदिशपुर जलाशयको रामसार क्षेत्रको कोड नं.१३१५ रहेको छ । जगदिशपुर ताल हजारौ घुमन्ते चरा, माछा, उभयचर, स्तनधारी, कीराहरु र बोट विरुवाको लागि महत्वपूर्ण वासस्थान हो भने स्थानिय जनसमुदायको लागि जीवनयापनको आधार पनि भएको छ । नेपाल सरकार सिंचाई विभागको स्वामित्वमा रहेको जगदीशपुर जलाशय खेतीयोग्य जमिन, सामुदायिक वन र केहि ससाना पोखरीहरु लगायत नहर संरचनाले वरीपरीबाट घेरीएको छ । कपीलवस्तु जिल्लाका तत्कालिन १० गा.वि.स. (हाल कपिलबस्तु नगरपालिका) र दुई नगरपालिकाका केहि वडाको कुल ६०७० हेक्टर खेती योग्य जमिन सिंचीत गर्न पानी आपूर्ति यस ताल बाट हुने गर्दछ । यस जलासय मार्फत करिब १७,३९० घरधुरीका मानिसहरु सिंचाई मार्फत लाभान्वित भएका छन । जैवीक विविधताको संरक्षण, पर्यटनप्रवद्र्धन, मनोरञ्जन, आर्थिक, सास्कृतिक, धार्मिक तथा पर्यावरणीय दृष्ट्रिकोणले समेत यस ताललाई महत्वपुर्ण मानीन्छ । आयाताकार यस तालको पूर्वी भाग छिपछिपे पानीयुक्त छ र पश्चिम पट्टीको भाग गहिरो एवम पुरै पानीले भरिएको छ । तालको गहिराई बर्षा र हिउँद यामको खेती गर्ने समयमा फरक फरक २ देखी ७ मीटरसम्म हुने गर्दछ । चुरे क्षेत्रको जलाधारबाट आउने बाणगंगा नदीको लक्ष्मणघाट बाँधबाट ४.७५ कि.मी. लामो नहर हुँदै तालमा पानी आपूर्ति हुन्छ । जलाशयको उत्तरी भागमा दलदले घाँसे मैदान फैलिएको छ भने बाँध क्षेत्र सिसौका रुखहरुले ढाकेको छ । यहाँ १२ समुहका २५ प्रजातीका माछाहरु, ८ प्रजातीका उभयचर र ३८ प्रजातीका सर्पहरुको अभिलेख गरीएको छ । यस तालले १५० प्रजातीका चराहरुको आवतजावतलाई मध्यवर्ती क्षेत्रको काम गरेको छ भने यो ताल नेपालमा रहेका २७ वटा चराका लागी महत्वपूर्ण क्षेत्रहरु मध्ये एउटा हो । विश्वमा नै दुर्लभ मानिएका आठ प्रजातीका चराहरु पनी यहाँ देख्न पाईन्छ । यस क्षेत्रले १० प्रजातीका स्तनधारी जनावरहरुको वासस्थानलाई सघाउ पुर्याएको छ । यसका अलावा कछुवा र थुप्रै शंखेकिराका प्रजातीहरु पनि याँहा पाईन्छन ।

अशोक विष्ट

त्यस्तैगरी तिलौराकोट प्राचिन कपिलवस्तु नगरी भगवान गौतम बुद्धको २९ बर्षे जीवनको क्रिडास्थल, राजा शुद्धोधन को राजधानी शाक्य नगर कपिलवस्तु नगरपालिका – १२ स्थित तौलिहवा देखि ३ कि.मि. उत्तर क्षेत्रफल करिवन ३५ विगाहा सरकारी स्वामित्वमा रहेको छ । विश्वप्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रूपमा चिनिन्छ । जिल्लाको कपिलवस्तु नगरपालिकास्थित शिवगढ गाउँ सगै रहेको तिलौराकोटमा भगवान् गौतमबुद्धले २९ वर्षविताएको ठाउँ तथा उहाँका बुबा राजा शुद्धोधनको राजप्रसाद हो । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध रहि आएको छ ।

कुदान तौलिहवा खुनुवा सडक खण्डमा पर्ने कुदान तौलिहवा देखि करिव २.३ कि. मि. दक्षिण तर्फ पर्दछ । भगवान गौतम बुद्धले बुद्धत्तो (निर्वाण) प्राप्त गरिसकेपछि पहिलोपटक आफ्नो पिता राजा शुद्धोधन संग भेट भएको स्थान पनि यही हो । कुदानमा बुद्ध बस्ने गरेको गन्धकुटी रहेको छ । त्यसको नजिकै भिक्षुहरूको लागि बनाइएको भिक्षु भवनको भग्नावशेष पनि देख्न सकिन्छ । भिक्षुहरू बस्ने त्यस भवनमा शिवलिगं पनि छ । त्यो शिवलिंग टुटेको अवस्थामा छ । त्यसैगरी छेवैमा इनार पनि रहेको देख्न सकिन्छ । विश्व शान्तीका अग्रणी दुत भगवान गौतम बुद्ध जन्मनु भएको यस पवित्र स्थलले आज संरक्षण र स्तोर उन्नती खोजी रहेको यस क्षेत्रमा पुग्ने जो कोहीको मनमा आभाष हुन्छ । कपिलबस्तु जिल्लमा अवश्थीत यो क्षेत्र जति विश्वप्रसिद्ध मानिएको छ त्यतीनै नेपाल सरकारको तर्फबाट यस क्षेत्रको प्रवद्र्धन र विकासमा ध्यान नपुगेको हो की भन्ने भान यस ठाउँमा पुग्ने जो कोई पर्यटकको मनमा पर्नसक्छ । पुरातातात्विक बस्तुहरुको संग्राहालय बनानने, गुमन्ते पर्यटकहरुको लागि अडियो भिजुअल मार्फत यस क्षेत्रको बारेमा जानकारी गराउने जस्ता कार्यहरु गरी यस क्षेत्रलाई विशेष महत्वका साथ हेरिनुपर्ने आजको प्रमुख आवश्यकता देखिन्छ । यसबाट राज्यलाई राम्रो आम्दानीको श्रोत बन्नसक्छ ।

यस जिल्लाको मुख्य नदी नालाहरुमा वाणगंगा, अर्रा, अगिया, कोईली, सुराई, चिराई, गुडरुङ, जमुवार आदि नदीहरु रहेका छन भने यस जिल्लाका अन्य पुरातात्विक तथा ऐतिहासिक स्थलहरुमा गोटिहवा अशोक स्तम्भ, सगरहवा, निग्लिहवा, डेरवा, सारकुप, अरौराकोट, सिसहनिया, अठ्कुनीयाँ, तौलेश्वर मन्दिर, समयमाई, ताम्रेश्वरनाथ महादेव, शिवगढी, रामघाट, लक्ष्मणघाट जस्ता ठाउँहरु एक एतिहाँसिक तथा पूरातात्वीक तिर्थ स्थलहरु हुन । यस जिल्लाको विशेष चाडपर्वको रुपमा दशैं, तिहार, फागु पुर्णिमा, रामनवमी, शिवरात्री, चैते दशैं, तिज, मकर सक्रान्ति, मोहर्म, ईद, बकर ईद आदि हुन । मेला र उत्सवहरुमा यहाँका बासिन्दाहरुले रामघाट मेला, लक्ष्मणघाट मेला, रामलिला मेला, थारु पर्व, शिवगढी मेला, हथौसा मेला आदि भव्यताका साथ मनाउने गर्दछन । यस जिल्ल्लाको मुख्य व्यापारिक केन्द्रहरुमा तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे, जितपुर, पकडी, लवनी आदि ठाउँहरुलाई लिन सकिन्छ ।

अन्तराष्ट्रि सिमाना तथा क्षेत्रहरु

कपिलबस्तु जिल्लाको दक्षिण क्षेत्रको सिमानामा छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश राज्यको भुभागले सिमाना निर्धारण गरेको छ । यस जिल्लाको जिल्ला सदरमुकाम तौलिहवाबाट भारतको नजिकको ठुलो शहर गोरखपुर शहर सम्म ११६ किलोमिटर दुरी रहेको छ भने यस जिल्लामा नेपाल भारत सिमान अन्तरगर्त दुईवटा भन्सार कार्यालयहरु रहेका छन् । एउटा सुठौली भन्सार कार्यालय सुठौली र अर्को कृष्णनगर भन्सार कार्यालय, कृष्णनगर मा अवस्थीत छ । छोटी भन्सार कार्यालयबाट मुल भन्सार कार्यालयमा स्तरोन्ती गरिएको सुठौली भन्सार कार्यालयले यस वर्ष आ.व. २०७७।०७८ मा लक्ष्य भन्दा बढी १७८ प्रतिशत राजश्व उठाउन सफल भएको छ ।\

स्थानिय तहहरुको विवरण

राज्यको पुर्नसंरचना पछि कपिलबस्तु जिल्लालाई १० वटा स्थानिय तहमा विभाजन गरिएको छ जसमा ६ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेका छन । जसमा कपिलबस्तु, बुद्धभूमि, शिवराज, महराजगंज, कृष्णनगर नगरपालिका हुन भने बाणगंगा, मायादेवी, यशोधरा, शुद्धोधन, बिजयनगर गाउँपालिका रहेकाछन् राज्य पुर्नसंरचना पछि यस जिल्लामा भएको आर्थिक, भौतिक तथा सामाजिक विकासको उल्लेखनिय रुपमा प्रशंसा गर्न सकिन्छ ।

अन्तमा

यसरी नेपालको ७७ वटा जिल्लाहरु मध्ये कपिलबस्तु जिल्ला नेपालकै एक महत्वपूर्ण खास जिल्ला हो जहाँ परापूर्व कालमा भगवान गौतम बुद्ध तथा कपिल ऋषिको तपोभूमी रहेको थियो । यस जिल्लामा मुसलिम, हिन्दु, मधेशी र पहाडी जातीहरुको बसोबास रहि आएको छ । यस जिल्लाका पिछडिएका आदीवासी जनजातीहरु अझैपनि गरिबीको रेखामुनी रहेको र प्राय जसो कामको खोजीमा भारत पलायन हुनुपर्ने वाध्यता रहि आएको पाउन सकिन्छ । यस जिल्लाको जिल्ला सदरमुकाम तौलिहवा एउटा सानो बजारको रुपमा अवस्थीत छ । तौलिहवामा प्राय जसो महत्वपूर्ण सरकारकारी कार्यालयहरु रहेका छन । विशेष प्यागोडा शैलिमा यस ठाउँमा तौलेश्वर महादेवको नामबाट परिचित भगवान शिव तौलेश्वर महादेवको मन्दिर पनि रहको छ । मुशलिम समुदाय र मुशलिम धर्मालम्वीहरुको मसजिद पनि उतिकै महत्वका साथ यस क्षेत्रको विभिन्न ठाउँमा पाउन सकिन्छ । यसरी विविध जनजाती, धर्मालम्बी तथा विशेषगरी भगवान गौतम बुद्धकै पवित्र तपोभुमी कपिलबस्तु आफैमा एउटा नेपालको गौरब र सानको जिल्ला हो । यस जिल्लामा पर्यटन पर्वद्धन र विकाशका साथै गौतम बुद्धको एतिहांसिक संग्रालयको लागी एउटा विशेष खालको गुरु योजना बनाएर अघि बढ्न सकेको खण्डमा कपिलबस्तु र भगवान गौतमबुद्धको विश्वप्रख्याती महिमा माथि नजिकैको छिमेकी राष्ट्रले आँखा लगाई नक्कली कपिलबस्तु समेत खडा गरी विश्व सामु भ्रम फैलाउने दमनकारी भुमीका गरिरहेको अवस्थामा केही हदसम्म सयोग पुग्न सक्ने देखिन्छ ।

सार: कपिलबस्तु नगरपालिकाको चिनारी, जि.स.स. तथा जिल्ला प्रशासन कार्यालय कपिलबस्तु ।

(- लेखक कैलाश गाउँपालिका मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत हुन् ।)

अशोक विष्ट
थप जानकारी