- अजय सुवेदी
विषय प्रवेश
नेपाल कृषि प्रधान देशबाट विप्रेषण प्रधान देश भइसकेको छ । बालक देखी वृद्ध सवैले चर्चा गर्ने विषय वैदेशिक रोजगारी बनेको छ । देशमा शासनको बागडोर सम्हालेका शासक र प्रशासकहरु वैदेशिक रोजगारीवाट प्राप्त विप्रेषण आप्रवाहको तथ्याङ्क हेरेर अर्थतन्त्रको दिशा पत्ता लगाउने बानी परिसकेको छ । विप्रेषण आप्रवाह राम्रो तथ्याङ्क देखिएमा सिंहदरवारका शासकहरु प्रफुल्लित हुने गर्छन। नागरिकहरुमा वैदेशिक रोजगार वाहेक जिवनयापनको अरु विकल्प नभएको भाष्य निर्माण हुदैँ छ। देशमा कक्षा १२ पास गरेपछि जसरी पनि मुलुक छाड्नुपर्छ भन्ने आम चिन्तन युवायुस्तामा विकास भएको देखिन्छ ।तसर्थ वैदेशिक रोजगार नेपालीहरुको संस्कार बन्न पुगेको छ ।किङ्नी वेचेर भएपनि सिड्नी जानुपर्ने वाध्यता नेपालीहरुका लागि बनेको छ ।
नेपालमा वैदेशिक रोजगारको इतिहास
नेपालमा वैदेशिक रोजगारीमा जाने प्रचलनको सुरुवाद सुगौली सन्धी पश्चात सुरुवाद भएको मानिन्छ। त्यस सन्धी पश्चात नेपाली युवालाई विदेशी सेनामा भर्ती हुने अवसर मिल्यो यही घटनालाई वैदेशिक रोजगारीको औपचारिक सुरुवाद मान्न सकिन्छ । त्यस कालखण्डमा तत्कालिन भारतको लाहोरमा नेपालीहरु धेरै जाने हुदाँ लाहरे भन्ने गरिन्थ्यो ।अहिले पनि हाम्रो गाउँ घरमा विदेश गएर आउनेलाई लाहुरे भन्ने गरिन्छ ।
राणाशासनको समयमा पनि नेपाली कामको खोजीमा विदेश जाने गर्थे ।उक्त समयमा नेपालीहरु भारतका विभिन्न राज्यहरुमा मजदुरी गर्ने मूख्य गन्तव्य रहेका थिए तर अहिले जस्तो श्रमिकका लागि व्यापक खालको विश्व व्यापी श्रम बजार भने थिएन । सन् १९८० को आर्थिक उदारिकरण र नेपालमा सन् १९९० को राजनीतिक परिवर्तन पश्चात सरकारले ल्याएको श्रम उदारीकरणको नीतिले गर्दा नेपालीहरुलाई वैदेशिक रोजगारमा जान निकै सजिलो बनाइदिएको देखिन्छ ।परराष्ट्र मन्त्रालयवाट मात्र वितरण गरिने राहदानी वि.स. २०५३ पश्चात जिल्ला प्रशासन कार्यालयहरुवाट समेत राहदानी वितरण गर्ने व्यवस्थाले नेपालीको ग्रामिण क्षेत्रका मानिस पनि वैदेशिक रोजगारमा जाने क्रम बढ्न थाल्यो ।
नेपालमा वैदेशिक रोजगारीको लामो इतिहास भएतापनि सरकारले वैदेशिक रोजगार ऐन, २०४२ जारी गरे पश्चात मात्र कानूनी व्यवस्था गरेको देखिन्छ ।वि.स. २०७२ सालमा जारी भएको वर्तमान नेपालको संविधानले श्रम तथा रोजगार नीतिमा वैदेशिक रोजगारवाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा लगाउने नीति नै अख्तियार गर्न पुग्यो ।
औद्योगिक क्षेत्रको विस्तार नहुनु ,कृषि क्षेत्रको व्यवसायिकरण नहुनु, आन्तरिक रोजगारी सृजना हुन नसक्दा वैदेशिक रोजगार युवाहरुको लागि विकल्प विहिन विषय बन्न सकेको छ ।
वैदेशिक रोजगारको वर्तमान अवस्था
आर्थिक सर्वेक्षण २०७९।०८० अनुसार संस्थागत रुपमा वैदेशिक रोजगारमा जान १११ वटा देशहरु व्यक्तिगत रुपमा जान १६९ वटा देशहरु खुला गरिएका छन् ।हाल सम्म करिव ५६ लाख नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका छन् ।वैदेशिक रोजगारका प्रमुख गन्तव्य मुलुकमा कतार, मेलेसिया, संयुक्त अरव इमिरेट्स साउदी अरव लगायतका देश छन् । वैदेशिक रोजगारीमा गएका नेपालीहरु मध्ये तीन चौथाई भन्दा बढी नेपाली उल्लेखित देशहरुमा निर्भर रहेको देखिन्छ । ९०० वटा मेनपावर कम्पनीहरुले वैदेशिक रोजगारका लागि श्रमिक लैजान वैदेशिक रोजगार विभागवाट इजाजतपत्र प्राप्त गरेका छन् । वैदेशिक रोजगारमा गएका मध्ये हाल सम्म ८८९० जना पुरुष २२७ जना महिला गरी जम्मा ९११७ जना व्यक्तिले ज्यान गुमाएका छन् । भने ७८९ जना नेपालीहरु अंगभंग भएका छन् ।
वैदेशिक रोजगार जाने कुल श्रमिक कामदार मध्ये ७४ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र १ प्रतिशत मात्र दक्ष रहेको देखिन्छ ।अधिकंश अदक्ष कामदारको बाहुल्यता रहेकोले नेपाली श्रमिक विदेशमा फोहोरी, कठिन र खतरापूर्ण ( 3 D- danger, difficult, and dirty) काम गर्ने गर्छन ।
स्थानीय सरकारको सन्चालन तथा व्यवस्थापनमा वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन ३८ जिल्ला १५६ वटा स्थानीय तहमा सुरक्षित आप्रवासन सामी कार्यक्रम कार्यान्वयनमा रहको छ । कार्यक्रम कार्यान्वयनको लागि नेपाल सरकारले स्थानीय तहलाई शसर्त अनुदान उपलब्ध गराउदै आएको छ । सामी कार्यक्रमवाट विभिन्न विषयहरु जस्तै सूचना तथा परामर्श, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतावाट दुई लाख अट्चालिस हजार दुई सय तीस जनाले सेवा प्राप्त गरेका छन् ।
वैदेशिक रोजगारमा गएका व्यक्तिहरुहरुलाई वैदेशिक रोजगार बोर्डले विभिन्न कल्याणकारी सेवाहरु उपलब्ध गराउदै आएको छ । त्यस्ता सेवाहरुमा आर्थिक सहायता, शव ढुवानी, कामदारको उद्धार, शव झिकाउने, उपचार सहयोग र छात्रवृत्ति लगायतका सेवाहरु रहेका छन् । सेवालाई सेवाग्राहीको पहुँचयोग्य बनाउन स्थानीय तह मार्फत कल्याणकारी सेवा पाउने प्रबन्ध वैदेशिक रोजगार वोर्डले गर्दै आएको छ ।
नीतिगत व्यवस्था तर्फ, वैदेशिक रोजगार नीति, २०६८ वैदेशिक रोजगार ऐन, २०६४ ऐ. को नियमावली, २०६४ तथा विभिन्न कार्यविधि तथा निर्देशिका जारी भएका छन् । संस्थागत व्यवस्था तर्फ श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग बैदेशिक रोजगार वोर्ड तथा विभिन्न श्रम कार्यालयहरुको व्यवस्था गरिएको छ ।
हामीले वैदेशिक रोजगारीवाट के प्राप्त गर्यौ ?
नेपालको सातौ योजना सम्म निरपेक्ष गरिवी ४२ प्रतिशत रहेकोमा हाल यो १७ प्रतिशतमा झर्न पुगेको छ । यस अवधिमा वैदेशिक रोजगारमा जाने नागरिकको सङ्ख्या पनि अत्याधिक वृद्धि भएको देखिन्छ भने आन्तरिक रोजगारीको अवसर झन साघुरिएका छन् ।तसर्थ वैदेशिक रोजगारवाट प्राप्त विप्रेषणको आयले नागरिकको क्रय शक्तिमा वृद्धि हुदाँ निरपेक्ष गरिविको मात्र घटेको पाउन सकिन्छ । शहरीकरण, व्यवसायिक क्रियाकलापमा वृद्धि, शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच अभिवृद्धि, वैङ्किङ क्षेत्रको विस्तारमा पनि वैदेशिक रोजगारवाट प्राप्त विप्रेशणको योगदानलाई भुल्न सकिदैँन ।
नेपालमा वैदेशिक विनिमयको सन्चितिमा समेत यसले सकारात्मक प्रभाव पारेको छ । राष्ट्र वैङ्कको तथ्याङ्क अनुसार हाल १० महिनालाई आयत धान्न सकिने विदेशी विनिमय सन्चिती रहेको छ । व्यापार घाटा अत्याधिक रहेको र पर्यटनवाट समेत खासै आम्दानी नहुने देशमा वैदेशिक रोगजारीवाट विप्रेषण विदेशी विनियमय सन्चितिमा सन्जिवनी बुटी सावित हुन पुगेको छ ।
विप्रेशषको अर्को पक्ष हो यसले नेपालमा उपभोगको माग अत्याधिक वृद्धि र उक्त माग आन्तरिक उत्पादन धान्न नसक्दा आयतमा आधारित राजश्वको वृद्धि अत्याधिक वढाईदिएको छ । सन् १९९० ताका नेपालमा कुल ग्राहस्व उत्पादनको १० प्रतिशतको हाराहारीमा मात्र सरकारले राजश्व संकलन गर्ने गरेकोमा हाल २५ प्रतिशतको हाराहारीमा राजश्व संकलन हुन पुगेको छ । केही अपवाद बाहेक नेपालको राजश्व वृद्धि वार्षिक २० प्रतिशत देखिन्छ ।हाल ७६१ वटा सरकारको खर्च व्यवस्थापनमा यसको योगदान रहेको पाउँन सकिन्छ ।
अर्को तर्फ वैदेशिक रोजगारवाट पैसा मात्र नभएर सामाजिक पुँजीमा समेत भित्रेको देखिन्छ । विदेशमा सिकेको ज्ञान सिप तथा अनुभवको कारणले वैदेशिक रोजगारवाट फर्केका केही व्यक्तिहरु सफल व्यवसायीको रुपमा स्थापित भएका छन् ।
हामीले वैदेशिक रोजगारवाट के गुमायौ ?
वैदेशिक रोजगारले गर्दा नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक एंव सास्कृतिक क्षेत्रमा नकारात्मक तथा दुरगामी असर परेको देखिन्छ । वैदेशिक रोजगारवाट प्राप्त पैसाले मुलक चलाउन सकिदो रहेछ भन्ने भाष्यले नेपालका शासक वर्गहरुमा अल्छिपन बढाइदिएको छ । आन्तरिक उत्पादन वृद्धि , रोजगारी सिर्जना गरी दिगो अर्थतन्त्र निर्माण तर्फ लाग्ने भन्दा पनि शासकहरु युवा निर्यात गर्न तर्फ उद्यत देखिन्छन् । मुलुकमा युवा वर्ग विदेशमा जादा शासक वर्गहरुलाई सहीमार्गमा ल्याउने ल्याकत समाजले गुमाउँदै जाँदा उनीहरुको स्वच्छाचारिता बढ्ने, जवाफदेहीता र उत्तरदायित्व घट्न गई शुसानको मार्ग नै अवरुद्ध पार्ने जोखिम देखिन्छ ।
नेपालमा उत्पादन भन्दा पनि उपभोग गर्ने संस्कृति हावी हुन पुगेको छ । गैर व्यसायिक क्रियाकलापमा जस्तै शिक्षा, स्वास्थ्य ,घर जग्गा कारोवारको बृद्धिले व्यवासयिक क्षेत्रहरु कृषि उद्योग घरासयी हुन पुगेका छन् । यसले राष्ट्रिय उत्पादन क्षमता कमजोर बनाएको मात्र छैन पूजीँ निर्माणमा बाधा पुर्याएको देखिन्छ । कामै नगरी कमाउने विचौलिया अर्थतन्त्र फस्टाएको देखिन्छ ।उपभोगमा वृद्धि हुदा व्यापार घाटा बजेटको आकार भन्दा ठुलो हुन पुगेको छ।कृषि तथा उद्योग क्षेत्रमा जनशक्तीको अभाव भएकाले आर्थिक विकासको क्षेत्र धरासयी हुन पुगेको छ।सामान्य अर्थशास्त्रको सिद्धान्त कृषि अर्थतन्त्र औद्योगिक अर्थतन्त्रमा रुपान्तरण हुदैँ सेवा क्षेत्रमा प्रवेश गर्नुको सट्टा कृषि अर्थतन्त्र सिधै सेवा क्षेत्रमा प्रवेश गर्न पुगेको छ । नेपालमा बैदेशिक रोजगारवाट प्राप्त रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसक्दा विप्रेशणको योगदान कुल ग्राहत्स्व उत्पादनमा बढ्दै गएको देखिन्छ ।दक्षिण एसियाका पाकिस्थान र बङ्गलादेशले विप्रेषण नेपालको भन्दा बढी भित्राएका छन् तर कुल ग्राहस्व उत्पादनमा विप्रेषणको अनुपात नेपालको भन्दा कमी हुनुमा ति देशहरुले प्राप्त विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगानी नीतिका कारण विप्रेषणको मात्र जिडिपिमा घट्दै गएको देखिन्छ ।
वैदेशिक रोजगारले सामाजिक तथा सांस्कृतिक बिसङ्गती बढाउदै लगेको देखिन्छ । श्रीमान् श्रीमतीहरु विच सम्बन्ध विच्छेद बढीरहेको जिल्ला अदालतका मुद्दा सम्बन्धी तथ्याङ्कले देखाउँदै आएको छ । बाबु आमाको सम्बन्ध विच्छेदवाट वालबच्चाको पालनपोषणमा समस्या आएको छ । महिलाहरु श्रीमानले विदेशवाट कमाएर ल्याएको रकम मासी भागेको समेत पाइन्छ । गाउँघर उजाड हुन पुगेका छन् । बाग्लुङको गल्कोट नगरपालिकाले लास सुरक्षित राख्न डिप फ्रिजको व्यवस्था गर्न बजेट नै राखेको समाचार प्रकाशन भएको थियो । तहा अधिकांश युवाहरु वैदेशिक रोजगारको लागि विदेशमा रहेका र निजहरुका आफन्तको मृत्यु हुदा निजहरु स्वदेश नफर्कने वेलासम्म लाशलाई सुरक्षित गर्न त्यसो गरिएको पालिकाले जनाएको छ ।जसले गर्दा सामाजिक लागत बढाएको देखिन्छ । वैदेशिक रोजगारले सक्षम,उर्वर सिर्जनशील युवा शक्ति विदेश पलायन हुदाँ नेपालमा वालबालिका र वृद्धवृद्धा वस्ने थलो बन्दै गएको देखिन्छ ।
समग्रमा राष्ट्रिय उत्पादकत्त्व वृद्धि, रोजगारी सिर्जना र पूजीँ निर्माणमा वैदेशिक रोजगारले कुनै योगदान दिन सकेको छैन ।सरकारले विप्रेषण परिचालन नीति तर्जुमा गरी अर्थतन्त्र सवल बनाउन त परै जाओस त्यसको आडमा कामै नगरी विचौलिया दलाल अर्थतन्त्रलाई प्रोत्साहन गरेको भनि आलोचना हुदैँ आएको छ ।
अर्थशास्त्रीहरुका अनुसार एउटै क्षेत्रमा आश्रित अर्थतन्त्रलाई नै ‘डच डिजिज भनिन्छ। जस्तो कि हाम्रोमा रेमिटेन्समा मात्र अर्थतन्त्र आश्रित छ। हामी कहाँ अन्य क्षेत्रको विकाशका लागि पहल भएन। खाली रेमिटेन्सको मुख ताक्ने काम भयो। रेमिटेन्स घटेका अवस्थामा हाम्रो अर्थतन्त्रमा सूचक नकारात्मक हुन पुग्छन् । तसर्थ वैदेशिक रोजगारवाट प्राप्त विप्रेषण नेपालका लागि डच डिजिज हुदैँ गएको छ ।
तसर्थ: विप्रेषणले तत्कालका लागि विकासमा क्षणिक योगदान दिएको भएतापनि यसले दीर्घकालीन रुपमा नकारात्मक असर गरेको देखिन्छ । वैदेशिक रोजगारवाट प्राप्त रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गरी यसको निर्भरता कम गर्दैँ जाने व्यवहारिक नीति अख्तियार गर्न जरुरी देखिन्छ ।
- सुवेदी , भिमाद नगरपालिका तनहुँमा अधिकृतस्तर सातौं पदमा कार्यरत् छन्र ।
प्रतिक्रिया दिनुहोस्