• रामशरण नेपाल

नेपालमा आर्थिक मन्दी तथा विदेशी मुद्राको सञ्चिती ज्यादै सङ्कुचनको अवस्थामा छ । प्रशस्त विदेशी मुद्राको आम्दानी हुने क्षेत्र भनेको पर्यटन व्यवसाय हो । तर यो क्षेत्र सरकारको मूल नीतिभित्र पर्न नसकेकाले सोचे जस्तो प्रगति गर्न भएको छैन । विश्वका कैयौँ सम्पन्न राष्ट्रहरूले प्राथमिकतामा राखी पर्यटनलाई विदेशी मुद्रा र राजस्वको प्रमुख स्रोत समेत मानेका छन् । तर हाम्रो देशमा अहिलेसम्म पर्यटनलाई उद्योगको समेत मान्यता दिइएको छैन ।

बाह्य मुलुकबाट कच्चा पदार्थ आयत गरी विभिन्न जोखिमहरूको सामना गरी वस्तु उत्पादन बिक्री गर्ने उद्योगधन्दा जस्तो होइन पर्यटन व्यवसाय । राम्रो नीति निर्माण भएमा ठूलो लगानीबिना नै प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सकिने क्षेत्र हो यो । पर्यटन उद्योगबाटै लाखौँ मानिसलाई रोजगारी पनि सिर्जना हुन सक्छ ।

पर्यटकका लागि प्रकृतिबाट प्राप्त वातावरणले नै घुम्नका लागि बढी प्रेरित गर्ने गर्छ । यसको साथै धार्मिक, सांस्कृतिक मनोरञ्जनका लागि पनि पर्यटक घुम्ने गर्छन् । तर प्राकृतिक वातावरणमा घुम्न निस्कने पर्यटक तुलनात्मक रूपमा लामो समय बस्छन् र बढी खर्च गर्छन् । नेपालमा हामीसँग भएका अथाह प्राकृतिक सौन्दर्य, प्राकृतिक भू–बनोट र संसारमै उत्कृष्ट उच्च हिम शृङ्खलाहरूको हिसाबले नेपालको पर्यटनको प्रतिस्पर्धा विश्वको कुनै पनि देशले गर्न सक्दैनन् । अझ हाम्रो एकै क्षेत्र एउटै समुदायभित्र विभिन्न मिश्रित जातजाति, धर्म, कला, संस्कृतिहरू पनि संसारमै भिन्न खालका छन् । हाम्रो ऐतिहासिक, पुरातात्त्विक सम्पदा, कलात्मक मठमन्दिर पनि संसारमै उत्कृष्ट छन् । त्यसैले संसारका लाखौँ मानिस नेपाल घुम्न लालायित छन् । बेफुर्सदी, व्यस्त जीवनशैली मानसिक रूपमा पनि केही समय निकालेर रिफ्रेसमेन्टका लागि नेपाल संसारकै उत्कृष्टमध्ये एक गन्तव्य बन्न सक्छ । अहिले देशमा रहेका मूर्त अमूर्त कला, संस्कृति, पुरातात्त्विक ऐतिहासिक सम्पदाहरूको अध्ययन अनुसन्धान, खोज तथा बुझ्ने परिपाटी (ट्रेन्ड) बढ्न थालेको छ । त्यसकारण पनि हामीसँग देशभर छरिएर रहेका यस्ता धरोहरको खोज, संरक्षण, जीर्णोद्वार, उत्खनन्, सम्बद्र्धन गर्न जरुरी छ । यस्ता कयौँ महत्वपूर्ण धरोहरहरूको संरक्षण हुन नसकी बेवारीसे अवस्थामा रहेका छन् । अझै कैयौँ ऐतिहासिक ठाउँ जो विश्व सम्पदा सूचीमा सूचीकृत हुन हामीसँग प्रशस्तै प्रमाण समेतको सम्भावना हुँदाहुँदै पनि सरकारी स्तरबाट पहल हुन सकेको छैन । अब तीन तहको सरकार तथा अन्य सरोकारवालाहरूका समन्वयमा विश्व सम्पदा सूचीमा सूचीकृत गर्न छिटो जुट्न जरुरी छ ।

देश सङ्घीय संरचनामा गइसकेको अवस्थामा अब पर्यटन नीति सोही अनुरूप बन्नुपर्छ । त्यही २०३५ मा बनेको बुढो ऐनलाई तत्काल परिमार्जन गरी अहिलेको पर्यटन विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा बन्नु पर्दछ । अबको पर्यटन नीतिमा विशेष गरी ग्रामीण पर्यटनलाई पहिलो प्राथमिकतामा राखी स्थानीय उत्पादन र उपभोग स्थानीय स्तरमा गर्ने नीति बन्नु जरुरी छ । तीनै तहको सरकारको तालमेल हुनुपर्दछ । आपसी समन्वयमा नयाँ गन्तव्यहरूको पहिचान गरी ती स्थानमा पर्याप्त पर्यटनमैत्री पूर्वाधारको निर्माणमा तिनै तहको सरकार जुट्नु पर्दछ । प्राथमिकीकरणका आधारमा केन्द्र, प्रदेश, स्थानीय कुन निकायको हो वर्गीकरण गरी पर्याप्त पूर्वाधार निर्माण गरिदिन सक्ने हो भने मात्र निजी क्षेत्रले त्यस क्षेत्रमा लगानी गर्ने वातावरण बन्न सक्छ । त्यस्ता स्थानमा पूर्वाधार निर्माण गर्दा सकेसम्म प्राकृतिक क्षति कम गरी निर्माण हुनु पर्दछ । अहिलेको गलत ट्रेन्डले बिना योजना अनावश्यक ठाउँहरूमा घरघरमा मोटर बाटो पु¥याउने नाममा डाँडाकाँडा बन जङ्गल छियाछिया गरी नष्ट गर्ने काम तत्काल रोकिनुपर्छ । पर्यटन विकासका नाममा हरियाली जङ्गल विनाश गरी डाँडाको टुप्पामा भ्युटावर निर्माण गर्ने कार्य तत्काल बन्द हुनु पर्दछ । हिल स्टेसन तथा अन्य पूर्वाधार निर्माण गर्दा पर्याप्त अध्ययन गरी प्राविधिक हिसाबमा उपयोगिता (प्लानिङ) सहित निर्माण गर्नुपर्दछ । जसले गर्दा करोडौँ सरकारी सम्पति सदुपयोग हुनेछ ।
वल्र्ड टुरिजम अर्गनाइजेसन (डब्लूटीओ) विश्व पर्यटन सङ्गठनको डेटा अनुसार लगभाग ४० प्रतिशत पर्यटक एक्सट्रिम स्पोर्ट (साहसिक) पर्यटनमा रमाउन चाहन्छन् । भौगोलिक तथा प्राकृतिक हिसाबले नेपाल तुलनात्मक रूपमा उत्तम गन्तव्य हो । अन्य उद्देश्यले भ्रमणमा निस्कने पर्यटकभन्दा साहसिक खेल खेल्ने, उच्च भू–भागको पदयात्रा गर्ने, हिमाल चढ्न रमाउने पर्यटकले बढी खर्च गर्दछन् । उनीहरूको बसाइ पनि लामो हुन्छ । बन्जिजम्प, प्याराग्लाइडिङ, जिपलाइन, रक क्लाइम्बिङ, डाउन हिल माउन्टेन बाइकिङ, रिभर प्याफ्टिङ, क्यानोनिङ, लगायत अन्य थुप्रै साहसिक गतिविधिको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा आयोजना गरी विश्व बजारीकरणमा जानुपर्छ । अबको पर्यटन नीतिमा परिमार्जन गरी प्रतिबन्धित ट्रेकिङ रुटहरू खुलाउनुपर्छ । खास गरी अहिले एभरेस्ट, अन्नपूर्ण, लाङ्टाङ जस्ता गन्तव्य मात्र प्रमुख रूपमा रहेका छन् । अब नयाँ गन्तव्य पनि पहिचान गर्नु जरुरी भइसक्यो । कतिपय रुट भूकम्पपछि बिग्रिएका, भत्किएका कारण सञ्चालनमा आएका छैनन् । कतिपय हिमालहरूको पनि आरोहण प्रतिबन्धित छ । अब अध्ययन गरी ती हिमालको पनि आरोहण खुलाउनु पर्दछ ।

भित्री मधेश वा तराईका खेतीपाती नहुने र वनजङ्गल नभएका स्थानहरूलाई प्रशस्त साहसिक गतिविधिहरू गर्न सकिन्छ । ठूला ठूला खेल मैदान निर्माण गरी अन्तर्राष्ट्रिय स्तरका खेल प्रतियोगिता आयोजना गरी पर्यटक बढाउन सकिन्छ । एटीभी राइड जसका लागि विभिन्न खाले ट्रेलहरू निर्माण गर्न सकिन्छ । डेजार्ट, मड, मोटर कार्स रेसिङ, हर्स राइडिङ (अटो रेसिङ) लागि रेसिङ स्पोर्ट निर्माण गर्न सकिन्छ र विभिन्न प्रतिस्पर्धा पनि गराउन सकिन्छ । हामीसँग विशाल छिमेकी देश भारत र चीन सिमाना भएका कारण भारतीय र चिनियाँहरू क्यासिनो बजारका प्रमुख ग्राहक हुन् । करोडौँ पर्यटक क्यासिनो बजारमा जाने गर्छन् । त्यसैले उनीहरूलाई आकर्षण गरी क्यासिनो हबका रूपमा सुविधा सम्पन्न होटलसहित क्यासिनो निर्माण गर्न जरुरी छ । ठूला नदीहरूमा ह्वाइट वाटर ¥याफ्टिङ सञ्चालन गरी विश्वका पर्यटक आकर्षित गर्न सकिन्छ ।

नेपालको लगभग ८० प्रतिशत भू–भाग (भूगोल) पहाडी भिरालो डाँडाकाँडा पर्वतीय क्षेत्र हुन् । यस्ता भूगोलमा अबको नीति हिल एग्रिकल्चर तथा इको टुरिजममा जान सके नेपालको पर्यटन दिगो रूपमा अगाडि बढ्न सक्छ । भूगोल र मौसमी हावापानी अनुकूल उच्च पहाडी तथा हिमाली क्षेत्रमा आलु, चिया, कफी, स्याउ जस्ता अन्य प्रकारका खेती तथा भेडीगोठहरू तथा खर्कहरूमा प्रशस्त भेडा, च्याङ्ग्रा, चौँरीहरू पालन गरी दुग्ध पदार्थबाट थुप्रै चिज उद्योग खोल्ने यस्ता ठाउँमा राम्रा गेस्टहाउस, रिसोर्ट, लज, प्राइभेट स्कुल, हस्पिटल निर्माण गर्ने, केवलकार जस्ता पूर्वाधार निर्माण गर्ने, हिलस्टेसन निर्माण गर्ने, बौद्ध गुम्बा तथा बौद्ध अध्ययन केन्द्रहरू निर्माण गरी लामो समयसम्म बस्ने पर्यटक भित्र्याउन सकिन्छ । नेपाल जैविक विविधताको क्षेत्रमा विश्वको २७औँ स्थान र एसिया महादेशमा ११ औँ धनी राष्ट्र मानिन्छ । त्यसैले पर्यापर्यटन पनि प्रबल सम्भावना रहेकाले यस्ता भू–भागमा विविध जडीबुटी खेती गरी मेडिसिनल प्लान्ट खोल्ने र उक्त विषयमा अध्ययन तथा अनुसन्धानका लागि लामो समयसम्म बस्ने पर्यटक भित्र्याउन सकिन्छ । महाभारत रेन्ज तथा अन्य पहाडी वनक्षेत्रमा बागवानी उद्यान निर्माण गरी अनुसन्धान, अध्ययन केन्द्र निर्माण गरेर पनि पर्यटक भित्र्याउन सकिन्छ ।

विभिन्न जातका हावापानी अनुकूलको फलफूलखेती गरी ब्रान्डेड वाइन, रक्सीहरू तथा पेयपदार्थको उत्पादनका साथै बिक्री वितरण गरी स्थानीय स्तरमा उपभोग गर्न सके विदेशी मदिराको आयातलाई न्यूनीकरण गरी विदेशीने पैसालाई नेपालमा रोक्न सकिन्छ । पर्यटकलाई पनि स्थानीय स्वाद दिन सकिन्छ । अझ अन्य कृषि उपजलाई पनि विषादी तथा कीटनाशक औषधीको प्रयोग नगरी पूर्ण अर्गानिक उत्पादनमा जान जरुरी छ । आन्तरिक पर्यटकहरूका लागि पनि लक्षित प्याकेजहरू ल्याउन पहल गर्ने ।

पर्यटन विकासमा फड्को मार्न निम्न कार्य अपरिहार्य छः 

हाल पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्रिने क्रम बढेको छ । नेपालका व्यापारिक घरानाका व्यवसायीसमेत (हस्पिटालिटी) पर्यटन क्षेत्रमा आकर्षित भई ठूला लगानी गरिहेका छन् । त्यस अनुपातमा हामीले पर्यटकको सङ्ख्या बढाउन सकिरहेका छैनौँ । सिजनमा समेत सोचेजस्तो अकुपेन्सी भएको छैन । अझ मझौला तथा साना व्यवसाय त स्वदेशी आन्तरिक पर्यटकले मात्र धानेको अवस्था छ । अब निजी क्षेत्र मात्र होइन सरकारी स्तरबाटै अन्तर्राष्ट्रिय फोरममा नेपालको पर्यटनको विषयमा प्रचार प्रसार गर्नुपर्छ । यही उद्देश्यले करोडौँ सरकारी बजेट खर्च गरी गठन भएका सरकारी निकायहरूलाई पनि एड्भान्स र एक्टिभ बनाउन जरुरी छ । विदेशमा रहेका हाम्रा राजदूतहरूले पनि नेपालमा पर्यटक पठाउन भूमिका खेल्न सक्छन् । तर त्यसो भएको पाइँदैन ।

विदेशी पर्यटक नेपालसम्म आउन हवाई यात्रा ज्यादै झन्झटिलो भएको गुनासो धेरै आउने गरेको छ । नेपालसम्म आउन सहज माध्यम नै छैन । हाम्रो राष्ट्रिय ध्वजा वाहक नेपाल एयरलाइन्सलाई तत्काल चुस्त दुरुस्त बलियो बनाउन जरुरी छ । नेपाल सरकारले नेपालको आकाशको उडानप्रति नकारात्मक धारणालाई तत्काल सुधार्नु जरुरी छ । यसका लागि अन्तर्राष्ट्रिय रूपमै पहल गर्नु पर्दछ । अहिले नेपाल एयरलाइन्स तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केवल राजनीतिक भर्तीकेन्द्र तथा भ्रष्टाचारको अखडाका रूपमा मात्र सीमित नराखी अब अन्तर्राष्ट्रिय विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्ने एड्भान्स र प्रविधियुक्त हुन जरुरी छ । पर्यटकहरू विमानस्थल झर्ने वित्तिकै त्यहाँको वातावरणले उनीहरूलाई दिक्क बनाउँछ । विमान स्थलका कर्मचारी आफ्नो कर्तव्य के हो भन्नेसम्म ख्याल राख्दैनन् । कतिपय कर्मचारी त राम्रोसँग अङ्ग्रेजी भाषासमेत बोल्न सक्दैनन् । अन्तर्राष्ट्रिय विमान स्थलको वातावरणले नै समग्र हाम्रो देशको मुहार झल्कने हुँदा तत्काल विमानस्थललाई सुधार्नु जरुरी छ । कर्मचारीहरू स्मार्ट, दक्ष, अङ्ग्रेजी भाषामा समेत पोख्त हुन जरुरी छ । अन्यथा नेपाल सरकारले नेपाल एयरलाइन्स तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको व्यवस्थापन विदेशी कम्पनीलाई जिम्मा दिनु पर्दछ । नेपाल एयरलाइन्सले विमानको सङ्ख्या थप गरी छोटो तथा सरल मार्ग थोरै मात्र नाफा लिई धेरै पर्यटक बोक्न सके पर्यटकको सङ्ख्यामा वृद्धि अवश्य हुनेछ ।

नेपालभन्दा झुर गन्तव्यमा अहिले पर्यटक खचाखच ओइरिरहेका छन् । त्यहाँ शान्ति सुरक्षाका साथै राम्रो वातावरण छ । कुनै पनि पर्यटकले नेपालका कुनै पनि क्षेत्रमा जाँदा म सुरक्षित छु भनेर ढुक्क हुने सुरक्षाको प्रत्याभूति हुन जरुरी छ । ठाउँ ठाउँमा पर्याप्त सुरक्षा पोस्ट, पर्यटकको सुरक्षा निगरानी बढाउनु जरुरी छ । नेपालमा रात्रिकालीन पर्यटकीय गतिविधि खुकुलो छैन । राति १० बज्दा नबज्दै प्रशासनले दबाब दिन्छ र बन्द गर्नुपर्छ । एकाध व्यवसाय क्षेत्रमा खुला रहे पनि अन्य बन्द गर्नुपर्ने हुन्छ । यसलाई सुरक्षा मापदण्ड निर्माण गरी व्यवसायी तथा समुदायको समन्वयमा रात्रिकालीन गतिविधि पनि हुनु जरुरी छ । सबै निकायबाट पेलिने क्षेत्र नै पर्यटन भएकाले पनि यहाँ पर्यटक चाहेर पनि आउन मान्दैनन् । विभिन्न विश्व सम्पदासूचीमा रहेको तथा अन्य पर्यटकीय क्षेत्रहरूमा माग्ने तथा विभिन्न सामान बेच्ने दलालहरूको जबरजस्ती तथा बिगबिगी, बिनालाइसेन्सका पथप्रदर्शकहरूको विगविगी तत्काल रोक्नु पर्दछ । लामो ट्रेकिङ रुटहरूमा पर्याप्त सुरक्षा पोस्टहरू तथा इमर्जेन्सी रेस्क्यु भरपर्दा प्रणालीहरूको व्यवस्था गर्नुपर्छ । बन्द हड्ताल जस्ता गतिविधि सदाका लागि बन्द गर्नु पर्दछ ।

खस्किँदो गुणस्तर तथा फितलो सरकारी अनुगमन नेपाल सरकारले पछिल्लो समय परिमार्जनसहित आतिथ्य उद्योगको मापदण्ड २०७० ल्याए पनि सरकारको नियमित अनुगमन कार्यान्वयनमा सरकार सक्रिय देखिएन । वर्गीकरण नभएका कैयौँ व्यवसायबिना पर्यटन विभागको अनुमति मनोमानी आफूखुसी सञ्चालन भइरहेका छन् ।

सरकारको वर्गीकरणभित्र रहेका तथा तारे स्तरको कैयौँ होटलमा समेत अनुगमन गर्दा समय समयमा अखाद्य वस्तु, म्याद गुज्रेका खाद्यवस्तु भेटिएको, सरसफाइको मापदण्ड नपुगेको समाचार बारम्बार आइरहेका हामीले देखिएकै छौँ भने स्तर वर्गीकरण नै नभएका व्यवसायको स्थिति के होला ? यसको मतलव व्यवसायीहरू सबै ठीक छन् भन्ने होइन । सबै प्रकारका पर्यटन व्यवसायलाई सरकारले स्तरअनुसारको वर्गीकरण गराई नीतिबमोजिम मापदण्डभित्र अनिवार्य समावेश गराउनु पर्दछ । अनुगमनलाई नियमित गराउनु पर्दछ । व्यवसायी हामीले पनि आफ्नो कर्तव्य कति निर्वाह ग¥यौँ भन्ने पनि हो । हस्पिटालिटी क्षेत्र एउटा संवेदनशील पेसा भएका कारण हामीले दिने सेवा सुविधाको गुणस्तर उत्कृष्ट छ वा छैन, यसले मानव स्वास्थमा प्रत्यक्ष प्रभाव पर्ने कारणले आफूले सरसफाई तथा अन्य खाद्यवस्तु पेय पदार्थको गुणस्तरको मापदण्ड पुरा गरेका छौ की छैनौ भन्ने विषयले समग्र पर्यटनको गुणस्तर झल्काउने गर्छ । पर्यटकले आफ्नो भ्रमण योजना बनाउँदा गुणस्तरको पनि ख्याल गर्ने र सेवा सुविधा गुणस्तरीय भएमा पटक पटक भ्रमण गर्ने गर्दछन् ।

दक्ष कामदारको अभाव तथा पर्याप्त तालिम तथा प्रशिक्षणको अभावले दिन प्रतिदिन पर्यटन क्षेत्रमा कार्यरत कामदार श्रमिक विदेश पलायन हुने र युवाशक्ति विदेश पलायन हुने क्रमले पर्यटन क्षेत्रमा श्रमिकको चरम अभाव हुन थालेको छ । कतिपय व्यवसायी त कामदार अभावकै कारण आफै पलायन हुँदैछन् । आफ्नो व्यवसाय नै बन्द गर्ने अवस्थामा पुगेका छन् । अब दक्ष कामदार तथा युवालाई विदेश पलायन हुनबाट कसरी रोक्ने भन्ने विषय राष्ट्रिय समस्या नै बनिसकेको छ । अझै पनि राज्य गम्भीर भएर ठोस नीति बनाई विदेश पलायनलाई रोक नलगाउने हो भने यसले अझ विकराल रूप लिँदै छ । नेपालमै राम्रो तलब सुविधासहितको रोजगारी सिर्जना गर्नुपर्ने देखिन्छ ।

व्यवसायीलाई सरकारले कर छुट दिने तथा बैङ्किङ व्याजदर पनि संसारमै सबैभन्दा चर्कोदर नेपालमै भएका कारण पनि व्यवसाय राम्रो हुन नसकेकाले व्याजदर कम गर्न सके श्रमिकहरूलाई व्यवसायीले अझ तलव सुविधा थप गर्न सक्नेछन् जसले गर्दा केही हदसम्म विदेश पलायनलाई न्यूनीकरण तथा दक्ष कामदारलाई रोक्न सकिन्छ ।

पर्यटन क्षेत्रका लागि लक्षित पर्यटन व्यवसयी तथा श्रमिक कर्मचारीहरू नियमित तालिम तथा प्रशिक्षण पनि अभाव देखिन्छ । जसका कारण पनि स्तरिय सेवा दिन सकिरहेका छैनौँ । अझ भौगोलिक विकटता तथा ग्रामीण क्षेत्रमा नेपाल सरकारका पर्यटन विभाग, पर्यटन बोर्ड जस्ता संस्थाले व्यवसायीको व्यावसायिक सङ्घ सङ्गठनको समन्वय र सहकार्यमा नियमित तालिम तथा प्रशिक्षण दिनुपर्छ । जसले गर्दा पर्यटकले गुणस्तरीय सेवा पाउनुको साथै हामी विश्व पर्यटन बजारमा प्रतिस्पर्धा गर्न सक्दछौँ । अहिले पनि यस्ता लक्षित कार्यक्रमका करोडौँ बजेट सरकारी निकायमै फ्रिज हुने गरेको र उपयोगविहीन अवस्थाको अन्त्य गर्नुपर्छ । गुणस्तर खस्कनुमा थोरै रकममा धेरै सुविधा प्रदान गर्न ट्राभल एजेन्ट, ब्रोकर तथा एजेन्सीहरूसँग जस्ता पनि पर्यटक बुक गर्ने, न्यूनतम दररेटको प्याकेजमा पनि बुकिङ लिने व्यवसायीको होडबाजीले गर्दा पनि अस्वस्थ प्रतिस्पर्धाले गर्दा होटलको गुणस्तरमा कमी आएकाले तत्काल यो प्रवृत्ति बन्द गर्नुपर्छ । पर्यटकको सङ्ख्या भन्दा गुणस्तरीय पर्यटकलाई लक्षित गर्नुपर्दछ ।

हामीले सिकाएको पर्यटन व्यवसाय आज भुटानले हामीलाई उछिनेर धेरै माथि पुगिसक्यो । भुटानले पर्यटन क्षेत्रमा धेरै विकास गरिसकेकोले अब नेपालले भुटानको पर्यटन मोडलमा जानुपर्छ । इन्डोनेसिया (बाली) मोडलमा जाने प्रयास गर्नुपर्दछ ।

त्यही २०३५ सालको पर्यटन ऐनले अब पर्यटन अघि बढ्न सक्दैन । पर्यटन मन्त्रालय हाल नयाँ ऐनका लागि मस्यौदा तयारीमा जुटिरहेको भन्ने सुन्दैछु । पर्यटन ऐन होस् वा मौद्रिक नीति ल्याउँदा होस् राष्ट्र बैङ्कले गर्ने निर्णयमा, बजेट निर्माण गर्दा होस् पर्यटन क्षेत्रबाट पनि अनिवार्य प्रतिनिधित्व गराउन आवश्यक छ । यस क्षेत्रको विकासमा के कस्तो नीति आवश्यक हुन्छ भन्ने जानकारी त तीनै व्यवसायीलाई मात्र थाहा हुन्छ । २५ हजार भारतीय रूपैया भन्दा बढी रकम साथमा लिएर आउन नपाउने भारतिय पर्यटकहरूमा लगाइएको बन्देज अव्यावहारिक भएकाले तत्काल सच्याउनु जरुरी छ । बोर्डर तथा विशेष गरी दक्षिण नाकाबाट नेपाल आउने भारतीय पर्यटकलाई अनावश्यक चेकजाँचका नाममा ठाउँठाउँमा दुःख दिने गुनासो पनि व्यापक आउने गरेको हुनाले यसलाई पनि तत्काल सहजीकरण गर्नु जरुरी छ ।

-मकवानपुरको चित्लाङ निवासी लेखक , पर्यटन व्यवसायी एवं होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल, बागमती प्रदेशका सदस्य हुन् ।

पालिका प्रेस
थप जानकारी