आज विश्व शौचालय दिवस, परिवर्तनको गति बढाउदै (Accelerating Change) भन्ने नाराका साथ संसारभर मनाईदैछ । सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएपछि हरेक वर्ष नोभेम्बर १९ तारिखलाई विश्व शौचालय दिवसको रुपमा मनाउन थालिएको हो ।
शौचालय र यसको महत्व सबै सामु फैलाउने उद्देश्यले शौचालय दिवस मनाउने गरिन्छ । नेपाललाई १३ असोज २०७६ मा खुला दिसामुक्त देश घोषणा गरिए पनि अझै ४.५ प्रतिशत जनसंख्यासँग शौचालयको अभाव छ । सबै जनसंख्यामा शौचालयको पहुँच पुर्याई फोहोरपानी र दिसाजन्य लेदो प्रशोधन गरी व्यवस्थापन गर्न सके मात्र खुला दिसामुक्त अवस्थाको दिगोपना हुने सरसफाइ अभियन्ताहरु बताउँछन् ।
संयुक्त राष्ट्र संघका अनुसार विश्वका साढे ३ अर्ब मानिसहरु अझै पनि शौचालयको सुविधाबाट बञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस अझै पनि खुलास्थानमा दिसा.पिसाब गर्दछन् । खुला दिसा र पिसाबका कारण फैलने रोगले विश्वमा दैनिक १ हजार बालबालिकाको ज्यान जाने गरेको छ । यसले प्रकृति, महिला, केटी र अन्य संकटापन्न समूहको स्वास्थ्यमा जोखिम बढाएको छ ।
सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब ७ बर्षमात्र बाँकी छ । यो लक्ष्य हासिल गर्न अहिले गरेको कामको गति ५ गुणा बढाउनुपर्ने स्मार्ट वास सोलुसन्सका अध्यक्ष राम दीप साहले बताउनुभयो ।
डब्लु.एच.ओ. र युनिसेफको संयुक्त अनुगमन कार्यक्रम (JMP) को प्रतिवेदन अनुसार सन् २०१५ देखि २०२२ को बीचमा आधारभूत सरसफाइमा उल्लेख्य प्रगति हासिल गर्ने विश्वका देशहरुमा नेपाल दोस्रो र दक्षिण एसियामा पहिलो राष्ट्र बनेको छ । विश्वका २५ वटा देशहरुमा सरसफाइको प्रगति बढ्नुको साटो घटिरहेका बेला नेपालले भने ७ बर्षको अवधिमा २२ प्रतिशत बढाएर विश्वको दोस्रो देश बन्न सफल भएको हो । नेपाल भन्दा अगाडि अर्थात पहिलो स्थानमा कम्बोडिया रहेको छ ।
प्रतिवेदन अनुसार भारत नेपाल भन्दा एक अंक तल छ । भारतले यो अवधिमा सरसफाइ तर्फ २१ प्रतिशत कभरेज बढाएको छ । सन् २०१५ देखि २०२२ को बीचमा ४९ देशहरूले कम्तीमा ५ प्रतिशतले आधारभूत सरसफाइको प्रगति बढाएको जेएमपी रिपोर्टमा उल्लेख छ ।
यत्ति हुँदाहुँदै नेपालले सरसफाइको क्षेत्रमा अझ धेरै कार्य गर्न बाँकी रहेको सरसफाइ विज्ञहरु बताउँछन् । नेपालले आधारभूत सरसफाइमा तीब्र गतिमा प्रगति हासिल गरेपनि सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइमा भने नेपालको प्रगति एकदम कमजोर रहेको विज्ञहरु बताउँछन् । आगामी दिनमा विभिन्न कारणले शौचालयको सुविधा नपुगेको जनसंख्यामा शौचालय निर्माण गर्ने र शौचालयको सेप्टिक ट्याङ्की भरिएपछि सुरक्षित तरिकाले खाली गरी ढुवानी एवं प्रशोधन गरी पुनः प्रयोग वा सुरक्षित व्यवस्थापन गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।
नेपालमा करिब ११ प्रतिशत जनसंख्याको शौचालय ढल प्रणालीमा जडान गरिएको सरकारी तथ्याङ्क छ । ती मध्ये करिब ३ प्रतिशत जनसंख्यामा मात्र प्रशोधन सहितको ढल प्रणालीमा समेटिएको छ । बाँकी ८९ प्रतिशत जनसंख्याको शौचालय स्थलगत रुपमा व्यवस्थापन गरिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्