म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गर्न सञ्चालित आयोजना अलपत्र परेको छ । तीन वर्षअघि नै बत्ती बलिसक्नुपर्ने गाउँमा लगिएका पोल गाड्ने र तार तान्ने काम अझै भएको छैन । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३/११ केभी क्षमताको रातोढुङ्गा सवस्टेशन र आसपासका तीन वटा वडामा विद्युतीकरण गर्न सन् २०१६ मा आयोजना सुरु गरेको थियो ।

मालिका गाउँपालिकाको वडा नम्बर १ निस्कोटको खहरे, रिठेचौर, साउँबोट, बाासबोट, छिस, भट्टखोला, घोर्सीका ३०० घरधुरीमा विद्युतीकरण गर्न तीन वर्षअघि लगिएका पोल अझैँ नगाडेको खहरेका रनबहादुर पुनले बताए । ‘सडकको वरपर राखिएका बिजुलीका पोल झाडीले पुरिएका छन्’, उनले भने, ‘पोल ल्याएको तीन वर्षपछि हालै तीन रोल एबिसी केबुल आएपनि पोल गाड्ने र तार तान्ने काम भएको छैन ।’ ५०० घरधुरी रहेको मालिका–२ रुममा पोल गाडेको तार तानेको र ट्रान्सफर्मर जडान भए पनि केन्द्रीय लाइन विस्तार नभएको वडाध्यक्ष नरबहादुर पुनले बताए । १५० घरधुरी भएको मालिका–६ को उपल्लो दुखुमा तीन वर्षअघि ढुवानी गरिएको पोल गाडेर हालै तार तान्न थालेका स्थानीय ओमकार रोकाले बताए ।

तीन वटै बस्तीका बासिन्दा लघु जलविद्युत् परियोजना नियमित सञ्चालन नहुने र केन्द्रीय लाइन विस्तारमा ढिलाइ हुँदा उज्यालोका लागि टुकी, दियालो र सोलारमा निर्भर हुनुपरेको खहरेका सम्मरसिंह पुनले बताए । ‘विद्यालयमा कम्प्युटर विषयको पठनपाठन सञ्चालन गर्नदेखि घरायसी काम प्रभावित भएको छ’, उनले भने, ‘मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारसँगै जोडिएको हाम्रो बस्तीमा अझै केन्द्रीय लाइनको बिजुली बलेको छैन ।’नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इन्जिनियरिङले करिब आठ करोड रुपैयाँमा सन २०१६ मा ठेक्का लिएको सवस्टेशन, मिलनचोकदेखि २२ किलोमिटर प्रसारण लाइन, दुखु, निस्कोटको तल्लो क्षेत्र र रुममा विद्युतीकरण गर्ने काम २०१८ को डिसेम्बरमै सक्ने लक्ष्य थियो ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत सम्बद्ध आयोजनाको बेवास्ता र निर्माण व्यवसायीको लापरबाहीका कारण सवस्टेशन, प्रसारण लाइन र तीन वटा बस्तीमा बिजुली बाल्ने योजना अधुरो बनेको मालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए । २० किलोमिटर दूरीसम्म एउटा सवस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि मिलनचोक सवस्टेशनदेखि तीन वटा फिडरबाट ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको छ । म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा विद्युत् आपूर्ति सहज बनाउन रातोढुङ्गा सबस्टेशनलाई जति सक्दो छिटो सम्पन्न गराउनुपर्ने नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए ।

रातोढुङ्गा सबस्टेशन आयोजनाका इन्जिनियर कपिल पाण्डेले धेरै प्रयासपछि ठेकेदारलाई काममा फर्काएको र अधुरा काम सक्न ताकेता गरिएको बताए । ‘ठेकेदारलाई धेरै पटक ताकेता गरेर काममा फर्काएका छौँ’, उनले भने, ‘बाँकी कामलाई पूर्णता दिन पहल, समन्वय र ताकेता गरेका छौँ ।’

पालिका प्रेस
थप जानकारी