मकवानपुरको भीमफेदी गाउँपालिकाले पनि रैथाने कोदो र फापर बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ । गाउँपालिकाको आर्थिक विकास समितिले २८ मंसिरमा निर्णय गरी कोदोको प्रतिकिलो ५५ र फापरको १ सय रुपियाँ न्यूनतम समर्थन मूल्य तोकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत करुणा रिसालले जानकारी दिइन् ।

यसअघि मकवानपुरमा मकवानपुगढी गाउँपालिकाले मात्र रैथाने बालीको न्यूनतम समर्थन मूल्य तोक्ने गरेको थियो । भीमफेदी गाउँपालिकाले भने रैथाने बालीको पहिलो पटक समर्थन मूल्य तोकेको हो ।
यसैबीच मकवानपुरगढी गाउँपालिकाले पनि आर्थिक वर्ष २०८०/०८१ का लागि उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत न्यूनतम समर्थन मूल्य सार्वजनिक गरेको छ । मकवानपुरगढीले कोदो र धान कोदो प्रतिकिलो ५४ रुपियाँ, फापर १ सय र जुनेलो प्रतिकिलो ८४ रुपियाँ समर्थन मूल्य तोकेको कृषि विकास अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिए । चालु आर्थिक वर्षका लागि २८ मंसिरमा पालिका अन्तर्गतको आर्थिक विकास समितिले न्यूनतम समर्थन मूल्य तोकेको अधिकृत चौधरीले जानकारी दिए ।

मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको आर्थिक वर्ष २०७७/०७८ बाट नै न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ । मकवानपुरगढीले आर्थिक वर्ष २०७७/०७८ मा कोदोको समर्थन मूल्य प्रतिकिलो ४२ रुपियाँ तोकेकोमा आर्थिक वर्ष २०७८/०७९ मा बढाएर ४८ रुपियाँ पु¥याइएको थियो । त्यस्तै आर्थिक वर्ष २०७९/०८० का ४५ रुपियाँमा झारिएको मूल्य आर्थिक वर्ष २०८०/०८१ मा प्रतिकिलो ५४ रुपियाँ पु¥याइएको अधिकृत चौधरीले जानकारी दिए ।

भीमफेदीमा कोदो उत्पादन वृद्धि

भीमफेदी गाँउपालिकामा रैथाने बाली कोदो उत्पादनमा बृद्धी गरिएको छ । किसानको मेहनत र भीमफेदी गाउँपालिकाको सहयोगका कारण यस क्षेत्रमा कोदो उत्पादनमा किसानहरुले जोड दिएका छन् ।

भीमफेदी गाँउपालिका वडा नम्बर– ३ मा रैथाने बाली कोदो उत्पादन गर्ने कृषकहरुलाई नगद अनुदान वितरण गरिएको छ । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले नगद अनुदान रकम वितरण गर्दै यस्ता कार्यक्रमलाई पालिकाले थप प्राथमिकता दिएको बताए । नगद प्रोत्साहान अनुदान कार्यक्रम को प्रभावले भीमफेदी गाँउपालिकामा रैथाने बाली कोदो उत्पादनमा बृद्धी भएको उनले बताए । भीमफेदीको १ हजार ६० रोपनी जग्गामा २ सय ६६ कृषक परिवारद्वारा लगाएको कोदो खेतीवाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने आंकलन गरिएको अध्यक्ष लामाको भनाइ छ ।

चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ कोदो उत्पादनमा आधारित अनुदान कार्यक्रम पालिकाले संचालन गरेको छ । खडेरीका कारण मकै उत्पादनमा ह्रास आई पालिकाभित्र सम्भावित खाद्यन्न संकट कोदो उत्पादनले थेग्ने विश्वास लिएको छ । अनुदानवाट लाभान्वित हुने बाहेक पनि कोदो खेती गर्ने कृषकहरु भएकोले पालिकाभित्र २ हजार भन्दा बढि रोपनीमा कोदो खेती भैरहेको भीमफेदीको कृषि शाखाको प्रतिवेदनमा उल्लेख छ ।

दिनेश दर्पण
थप जानकारी