बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले संघमा आवद्ध संस्थाहरुको वर्गिकरण गर्ने भएको छ । संघका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले संघको बार्षिक योजना अनुसार यस आर्थिक वर्षबाट संस्थाहरुको वर्गिकरण गरिने बताए ।
सक्षम, सामान्य, सुधार गर्नुपर्ने र निष्कृय गरी संस्थाहरुलाई ४ वटा समुहमा विभाजन गरिने उनको भनाई छ । त्यसका लागि संघले वर्गिकरणको आधार र सूचकहरु तयार गरेको भन्दै उनले सबै संस्थालाई एउटै उपचार विधि काम नलाग्ने जानकारी दिए । समस्यामा परेका सहकारीलाई पुनः सञ्चालन योग्य बनाउन कर्मचारीलाई तालिम शिक्षामार्फत दक्ष बनाउने र आवश्यक परे वित्तीय सहजीकरण समेत गर्ने उनको भनाई छ । संस्थाको अवस्था अनुसार आधारभूत, मध्यम र उच्च स्तरीय तालिम दिने र सक्षम संस्थाका व्यवस्थापकहरुलाई रिसोर्स पर्सनका रुपमा प्रयोग गर्ने उनले जनाए । संघमा बागमती प्रदेशभरका ४९४ संस्था आवद्ध छन् । त्यस मध्ये २२ संस्था कोशिस कार्यक्रममा सहभागी रहेका छन् । संघले संस्थाहरुलाई सुशासित, व्यावसायिक र सुरक्षित बनाउन कोशिस कार्यक्रम सञ्चालन गरेको हो ।
चौंथो वार्षिकोत्सवको अवसरका कार्यपत्र प्रस्तुत गर्दै प्रमुख दाहालले संघले सञ्जाल व्यवस्थापन गरेर अगाडि बढ्ने नीति लिएको र सोही अनुरुपम ४ वटा जिल्ला बचत संघसँग सम्झौता समेत गरिसकेको बताए । बचत संघमार्फत सदस्य संस्थाहरुलाई तालिम तथा शिक्षा प्रदान गर्ने र संघहरुलाई सबल बनाउन कोशिस कार्यक्रममा सहभागी गराउने उनले बताए ।
संघले चालु आर्थिक वर्षमा २० वटा संस्थाको अनुगमन गर्ने र सुधारका लागि सहजीकरण समेत गर्ने जनाएको छ । संघले बागमती सरकारबाट स्वीकृत लिएर ऋण व्यवस्थापन, संगठन विकास, लेखा प्रणाली र युवाका लागि वित्तीय साक्षरता कार्यक्रमको पाठ्यक्रम विकास गरिसकेको छ । यस आर्थिक बर्षमा थप २ वटा नयाँ पाठ्यक्रम विकास गरेको समेत उनले जानकारी दिए । संघले गत आ.व.मा १८ वटा संस्थाको अनुगमन गरेको र सुशासनमा कसैसँग सम्झौता नगर्ने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्