विकासको प्राथमिकताको मोडल परिवर्तन गरेर भएपनि नागरिकका लागि आधारभूत खानेपानी सेवा पु¥याउनुपर्ने थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताएका छन् । नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने दायित्व सरकारकै भएकोले यसका लागि पालिका प्रतिबद्ध रहेको उनले उल्लेख गरे । थाहा नगरपालिकामा आयोजित राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, खाद्य स्वच्छता, खाद्य सुरक्षा, खाना र पानीबाट सर्ने रोगहरुको रोकथाम विषयक २ दिने अभिमुखीकरणको समापन गर्दै प्रशासकीय अधिकृत गिरीले यस्तो बताएका हुन् ।

    प्रमुख प्रशासकीय अधिकृत गिरीले शुद्ध खानेपानीको लागि मुहानको सरसफाई, पानीको उपचार लगायतको कार्य गर्न आम उपभोक्ताहरुको पनि सक्रियता आवश्यक भएको औल्याए । नगरपालिकामा एकीकृत रुपमा खानेपानी सेवा व्यवस्थापनका लागि थाहानगर खानेपानी व्यवस्थापन बोर्ड रहेको हुँदा सबै उपभोक्ताहरुलाई यसैमा आवद्ध हुन आग्रह गरे । उनले भने–‘खानेपानीको वितरण, मर्मत सबै कार्य गर्नका लागि सहज हुने भएकोले छरिएर रहेका उपभोक्ता समितिहरुलाई बोर्डमा आवद्ध हुन आवश्यक छ ।’ खानेपानी बोर्डको वार्षिक योजना पेश भए अनुसार पालिकाको खानेपानी सेवालाई प्रभावकारी बनाउनका लागि नगरपालिका जहिल्यै सहयोग र सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो । उनले थाहानगरको खानेपानी व्यवस्थापन गर्ने ‘डेडिकेट’ संरचना बोर्ड नै भएकोले यसलाई थप बलियो बनाएर अघि बढाउनुपर्ने बताए ।

थाहा नगरपालिकाले खानेपानीका साथै खाद्य सुरक्षा, कृषिमा अन्धाधुन्ध प्रयोग हुँदै आएको विष नियन्त्रणका लागि कार्यक्रमहरु संचालन गर्दै आएको बताए । खानेपानी बोर्ड, स्वास्थ्य शाखा, कृषि शाखालगायत सम्बन्धित शाखाहरुको सक्रियतामा यस्ता सचेतामुलक कार्यक्रमलाई समुदायसम्म पु¥याउन निर्देशन दिए ।

थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले थाहानगरबासीका लागि खानेपानी तथा सरसफाई सम्बन्धी योजना तर्जुमाको लागि समेत अभिमुखीकरण कार्यक्रमले मार्ग निर्देश गरेको बताए । कार्यक्रमबाट समुदायस्तरको समस्या पहिचानमा समेत सहयोग पुगेको बताए । उनले थाहा नगरपालिकामा पोर्टेबल पानी परीक्षण गर्ने उपकरण आवश्यक भएको औल्याए । यसका लागि आगामि आर्थिक वर्षसम्म प्रक्रिया अघि बढाउन सकिने उल्लेख गरे । अधिकांश रोगको प्रवेश खाना र पानीबाट हुने बताउँदै यि दुवै कुरा सँधै स्वच्छ हुनु पर्ने उल्लेख गर्दै आम नगरबासीलाई ध्यान दिन बलामीले अनुरोध गरे ।

कार्यक्रममा सहभागी वृहत खानेपानी उपभोक्ता समिति थाहा–४ का अध्यक्ष ओमकर विष्टले खानेपानीको मुहान क्षेत्रमा चरण बन्देज लगाई तारबार गर्नुपर्ने बताए । दुईदिन सम्म सञ्चालन भएको कार्यक्रम निकै प्रभावकारी भएको उल्लेख गर्दै उनले एसओपी नै बनाएर मुहान सरसफाईका कार्यक्रमहरु कार्यान्वयन गरी समुदायस्तरसम्म सचेतनामुलक कार्यक्रम आयोजना गर्नुपर्ने बताए ।

नागरिकहरुले खाइरहेको पानीको शुद्धताको विषयमा नगरपालिका जानाकार हुनुपर्ने बताउँदै खानेपानी उपभोक्ता समिति थाहा–३ राजकुमार कार्कीले ल्याब परीक्षणका लागि अनुरोध गरे । मापदण्डले तोक अनुसारको समयमा खानेपानी परीक्षणमा नगरले सहयोग गर्नुपर्ने कार्कीको भनाइ थियो । उनले खानेपानीको भौतिक पूर्वाधार व्यवस्थापनमा समेत खानेपानी बोर्डले ध्यान दिनूपर्ने उल्लेख गरे ।

थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा थाहानगर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा थाहा नगरपालिकाका स्वासथ्यकर्मीहरु तथा खानेपानी व्यवस्थापन बोर्डका पदाअधिकारी र खानेपानी उपभोक्ता समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । सहभागीहरुलाई हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका माधव प्रसाद चौलागाई, संजयकुमार न्यौपाने र पालुङ प्राथमिक स्वासथय केन्द्रका डाक्टर गगन कार्कीले सहजीकरण गरेका थिए ।

पालिका प्रेस
थप जानकारी