
मकवानपुर इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ को प्रमुख व्यापारिक केन्द्र नै सिस्नेरी हो । त्यसोतः हेटौंडा काठमाण्डौ ओहोर दोहोर गर्ने यात्राुका खाना खाने र हरियो तरकारी फलफुल कोशिली किन्ने ठाउँ पनि सिस्नेरी नै हो । तर १२ असोजको बाढीले सिस्नेरीमा बजार छैन न घर नै छ । सिस्नेरी बगर भएको छ । सिस्नेरीको सुन्दरता छिनभरकै बाढीले चकनाचुर बनाएको छ । अब सिस्नेरीमा सडकमाथिका ५–६ वटा घरबाहेक बजारको कुनै नामोनिशान छैन ।
साविकमा ठिक्कै आकारमा बग्ने कुलेखानी खोला १२ असोजमा रौद्ररुपमा देखाप¥यो । त्यहाँ आएको बाढीले बजार क्षेत्रको सडकको आधाभन्दा बढी भाग कब्जा ग¥यो । अहिले पानीको सतह घटे पनि बस्तीको भाग बगर बनेको छ । सिस्नेरी क्षेत्रका पूर्ववडाध्यक्ष कृष्णबहादुर ठकुरी अझै पनि यो विध्वंश पत्याउन सकिरहेका छैनन् । ‘मैले थाहा पाएपछि ५ पटक ठूला बाढी आए, यसपटक त अतिचार भयो’, ठकुरी भन्छन्, ‘कुलेखानी जलाशयको बाँध लगाएपछि हामीलाई आनन्द नै थियो, बाढी आउँदा पनि खोला झुसी भएर पानी सहजै जान्थ्यो, यसपटक त नसोचेको महामारी नै आइप¥यो ।’
ठकुरीजस्तै स्थानीयका लागि सिस्नेरी यो क्षेत्रको साझा बजार मात्रै थिएन, धेरै स्थानीयबासीको जनजीविकाको माध्यम थियो । आवश्यक सरसामान निकटमै किन्न पाइने सुविधास्थल थियो । कृषि कर्म गर्नेहरुको बिक्रीस्थल पनि यही बजार थियो । चिया पिउँदै गफिने ठाउँ थियो । कामबाट थाकेर आएका स्थानीयहरु जमघट हुने र छलफल गर्ने थलो थियो । दुई दशकअघि मकवानपुरबाट काठमाडौं जोड्ने छोटो दूरीको हेटौंडा–कुलेखानी–सिस्नेरी–बल्खु सडकमा सार्वजनिक जिप चल्न थालेदेखि नै सिस्नेरी बजारमा चहलपहल बाक्लिंदै थियो ।
यो सडक भएर यात्रा गर्नेहरु एक छिन भए पनि सिस्नेरी बजार झर्न खोज्थे । त्यहाँको मनोरम वातावरणसँग घुलमिल हुन चाहने धेरै हुन्थे । यो क्षेत्रमा कुलेखानीको माछाको स्वाद चाख्नेदेखि स्थानीय परिकारहरु खान पर्यटक लालायित हुन्थे । अझ सिस्नेरीको कोगटे खोलामा रहेको प्राकृतिक पौडी पोखरी (नेचुरल स्विमिङ पुल) ले दिनमा करिब २५० भन्दा बढी पर्यटक नियमित भित्र्याइरहेको थियो । काठमाडौं, हेटौंडा र वीरगञ्जदेखिका पर्यटक यो पोखरीमा पौडी खेल्न आउँथे ।
त्यसैले बजारमा खाना खाजाका होटलहरुको बाहुल्य थियो । बास बस्ने होटल पनि थिए । सिस्नेरी किराना, कपडा, भाँडा, औषधि जस्ता उपभोग्य वस्तुहरु किनबेच हुने केन्द्रका रुपमा विकास हुँदै थियो । ४० वटा घर टहरामा थपिँदै गरेका पसल र होटलहरुले यो बजारलाई अरु गुल्जार बनाउँदै थिए । पानी त यसअघि पनि परेकै हो । झरी पनि सिस्नेरीका लागि नयाँ घटना होइन । अनि १२ असोजको बिहान ६ बजेसम्म कुलेखानी उर्लिरहँदा पनि उतिसाह्रो उग्र बनेको थिएन, बजारबासी डराएका थिएनन् ।
करिब साढे ६ बजे चट्याङ परेझैं खोला गडगडायो, ठूलो बेगमा खोला आयो । स्थानीयले गाइँगुइँ सुने, कुलेखानी जलाशयको बाँधबाट पानी छोडियो । उनीहरुलाई लागेको थियो, विगतमा जस्तो सुकै ओभरफ्लो भए पनि ठिक्क मात्रामा मिलाएर पानी छाडियो होला । तर, कुलेखानीको बाँधमुनिको पुल समेत धरापमा पार्नेगरी कुलेखानीको पानी छाडिएको सूचना पाउँदासम्म सिस्नेरी बजारमा रुवाबासी र भागाभाग चलिसकेको थियो । हेर्दाहेर्दै खोलाले छिनभरमै सिस्नेरीको बजार नै बढा¥यो ।
केहीबेरमै धेरै स्थानीयलाई घरबारविहीन बनायो । बाहिर घर भएपनि बजारमा पसल चलाइरहेकाहरुको रोजीरोटी खोसियो । कुलेखानीले उनीहरुको सम्पत्ति र सपना बगाएर बागमतीमा सेलायो । डरलाग्दो दुःख भोगेकाहरु अझै राम्रोसँग निदाउन सकेका छैनन् । स्थानीय क्षेत्रका बालबालिकाहरु अझै पानी पर्नासाथ भयभीत हुन्छन् । अरु बेला स्थानीयको साथी बनेको खोलाले एकै दिनमा सत्रुले जस्तो पीडा दिएकोमा स्थानीहरुसँग गुनासोबाहेक केही छैन । तर कसलाई भन्ने, कसलाई गुहार्ने !
प्रकृतिले बगाएको खोला, अनि मान्छेले बनाएको बस्ती वर्षौंदेखि कुलेखानी खोला र सिस्नेरी नाममा साथसाथै बगिरहे, बसिरहे । तर १२ असोजपछिको सिस्नेरी कुलेखानी क्षेत्र हेर्दा यस्तो लाग्छ, मानौं मितेरी साइनो लगाएर बसेका दुई मितहरु ठूलो द्वन्द्वपछि आपसमा इबी साँधिरहेका छन् । कुलेखानीका बगरभरि सिस्नेरी बजारबाट बगाएर लगेका घरका काठपात र सरसामान यत्रतत्र छरिएका छन् । स्थानीयको लुगाफाटादेखि भाडाँकुडा कुलेखानीका बालुवाको गर्तमा बिलाएका छन् ।
स्थानीय लक्ष्मी नगरकोटी कुलेखानी खोला आफूहरुको सपनाको चिहानजस्तै बनेको बताउँछिन् । ‘२०५० सालमा पनि यो ठाउँमा यति ठूलो बाढी थिएन’, बगरमा आफ्नो पसल रहेको ठाउँ देखाउँदै उनी भन्छिन्, ‘बाढीअघि पसलबाट केही पनि सामान निकाल्न पाइएन, जे जति थियो सबै लग्यो ।’
इन्द्रसरोबर गाउँपालिका–३ का पूर्ववडाध्यक्ष चिरञ्जीवी पौडेल स्थानीय वयोवृद्धले २०११ सालमा समेत यत्रो बाढी नदेखेको बताउँछन् । २०५० सालमा आएको बाढीले खोलाको किनारमा रहेको केही खेतहरु कटान गरेको थियो । तर अहिले बस्ती समेत बगाएको उनको भनाइ छ । ‘अब राज्यले यहाँको जोखिमयुक्त क्षेत्रका जनताका जग्गा प्राधिकरणले उचित मुआब्जा लिनुपर्छ’, उनी भन्छन्, ’कुलेखानीको बिजुलीको लाभ समग्र रुपमा देशले लिइरहेको छ, तर यसको सबै जोखिम बोक्दै क्षतिको मूल्य पनि हामीले चुकाउनु परिरहेको छ ।’
प्रतिक्रिया दिनुहोस्