लमजुङका आठ स्थानीय तहमध्ये आगो नियन्त्रणका लागि बेंसीसहर नगरपालिकासँग मात्र दमकल छ। अन्य पालिकाले सोही नगरपालिकाकै दमकल कुर्नुपर्ने बाध्यता छ।

टाढा-टाढा आगलागी हुँदा जान समय लाग्ने गरेकाले पनि समस्या हुने गरेको छ भने दमकल रहेको नगरभित्रका पसल तथा कुनै घरमा आगलागी भएका बेलामा कहिले दमकल ढिलो पुग्ने त, कहिले बेलैमा पुगे पनि दमकलबाट पानी निकाल्न समय लाग्ने गरेको पाइन्छ।

बेंसीसहर नगरप्रमुख गुमानसिंह अर्यालले भने, ‘ठूलो आगोलागी भएको बेला अन्य स्थानीय तहले हाम्रै नगरकै दमकल प्रयोग गर्ने गरेको छ। प्राय: स्थानीय तहको अधिकांश बस्ती तथा भागमा सडक पुगे पनि भौगौलिक संरचनाका कारण जिल्लाका सबै ठाउँमा आगलागी हुँदा दमकल पुग्न सम्भव छैन।’

आगलाागी भएमा आगो निभाउनका लागि दमकल आवश्यक छ भन्ने महसुस गरी सबै स्थानीय तहले दमकल खरिद गरी तयारी अवस्थामा राख्नुपर्ने मर्स्याङ्दी गाउँपालिकाका स्थानीय अजय तामाङले बताए। अत्यावश्यक साधनप्रति चासो नभएका स्थानीय तहका प्रमुख तथा उपप्रमुखको लागि सुविधायुक्त सवारी साधन भने अधिकांशको छ।

राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले भने, ‘यहाँ आगलागी भइहाले बेंसीसहरकै दमकल मगाउने गरेका छौं।’ दमकलको आवश्यकता महसुस गरे पनि खरिद भने गरिनसकेको उनको भनाइ छ। यस क्षेत्रमा आगलागीको जोखिम कम भएको र आगोलागी भइहाले बेंसीसहर नगरपालिकाकै दमकल प्रयोग गर्ने गरेको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताए।

बेंसीसहर नगरपालिकाबाहेक अन्य सात वटा स्थानीय तहले दमकल खरिद गर्ने कुनै तयारी नगरेको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले बताए। उनले भने, ‘सबै स्थानीय तहमा दमकलको जरूरी रहे पनि विशेष गरी सहरीकण भएको नगरपालिकामा बढी दमकलको आवश्यकता रहेको छ।’

जिल्लामा सानो आगोलागी हुँदा दमकलबिनै प्रहरीले आगो नियन्त्रण गर्ने गरेको र ठूलो आगलागी हुँदा प्रहरी बेलैमा पुगे पनि दमकल पुग्न समय लाग्ने भएकाले क्षति बढी हुने गरेको प्रहरीले जनाएको छ।

पालिका प्रेस
थप जानकारी