नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले ११ के.भी.को विद्युत लाईन मर्मत गर्ने भन्दै विद्युत आपूर्तिमा नियमित अवरोध गर्न थालेको ३ महिना पूरा भएको छ । प्राधिकरणले मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर र कैलाश गाउँपालिका क्षेत्रमा विद्युत अवरुद्ध गर्ने गरेको हो । मकवानपुरको कुलेखानी धोर्सिङदेखि इन्द्रसरोवर गाउँपालिकाको ड्यामसाइड (स्वीचिङ स्टेशन) सम्म र ड्याम साइडदेखि कोगटेखोला सिस्नेरीसम्म ११ के.भी. लाइन निर्माण तथा मर्मत सुधार कार्य गर्न भनेर लाइन अवरुद्ध गर्ने सम्बन्धी प्राधिकरण पालुङले पहिलोपटक २ वैशाखमा आधिकारिक सूचना जारी गरेको थियो ।

आधारिकारिक सूचना जारी नगरी पटक–पटक विद्युत आपूर्तीमा अवरोध गरेपछि स्थानीय ग्राहकहरुले विरोध गरेका थिए । त्यसबेला प्राधिकरण पालुङले सरोकारवाला निकायहरुसंग छलफल तथा परामर्श गरेर विद्युत आपूर्तिमा हुने अवरोधको समय सार्वजनिक गरेको थियो । छलफलमा विभिन्न राजनीतिक दल, बैंक तथा वित्तीय संस्था, क्रसर व्यवसायी, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।

प्राधिकरण पालुङले औपचारिक वा अनौपचारिक रुपमा विद्युत आपूर्तिमा भने अवरोध गर्दै आएको छ । वि.सं. २०६६/०६७ तिरबाट सवस्टेशन नभएको कारण देखाउँदै प्रत्येक साँझ १ देखि २ घण्टासम्म विद्युत आपूर्तिमा अवरोध गरेको थियो भने २०७९ वैशाख अघि बुस कटिङ र लोड नपुगेको भन्दै प्राधिकरण पालुङले दिनदिनै लाइन काट्ने गरेको थियो । अहिले प्राधिकरणले हप्तै पिच्छे सूचना देखाउने र विजुली लुकाउने गर्दै आएको छ । ग्राहकले नियमित विद्युत महशुल तिरेर सास्ती किन्नु परेको प्रतिक्रिया दिएका छन् ।

वैशाखमा भएको छलफलको फाइल फोटोः

पछिल्लो समयमा ११ के.भी. लाईनमा रहेको कण्डक्टर अपग्रेडिङ कार्य गर्न भन्दै विद्युत लाइन अवरुद्ध गरिरहेको छ । उत्तरी मकवानपुरको इन्द्रसरोवर, थाहानगर र कैलाश गाउँपालिका क्षेत्रमा सार्वजनिक विदामा दिनभर लाईन जाने सूचना प्राधिकरणको क्यालेण्डर झै भएको छ ।

प्राधिकरण भन्छ –‘धोर्सिङदेखि मार्खुसम्मको लाईनमा रहेको नाङ््गो तार हटाएर कालो तार राख्न काम शुरु गरेका छौं, ठेकेदारले कामै सक्देन के गरुँ ?’ ठेकेदार कम्पनीले करिब २० किलोमीटर तार फेर्न ३ महिना वितिसक्दा पनि सकेको छैन ।

प्राधिकरणले पहिलो पटक सूचना जारी गरी २०७९ वैशाख महिनाभर दिन भरजस्तै थाहानगरमा विद्युत आपूर्तिमा अवरोध गरेको थियो । त्यसयता प्रत्येक सार्वजनिक विदाका दिन विद्युत कटौती गर्दै आएको छ । त्यसोतः सार्वजनिक निकायको आर्थिक वर्ष समाप्तीको दिनमा समेत प्राधिकरणले सूचना प्रकाशन गरेर विद्युत कटौती गरेको छ । एकोहोरो निर्णयका आधारमा विद्युत कटौती गरिरहँदा इन्द्रसरोवर तथा थाहा नगरपालिका क्षेत्रका विद्युतमा आधारित साना ठूला उद्यमी तथा सञ्चार माध्यमहरु प्रत्येक्ष रुपमा पीडित भएका छन् ।

शनिवार तथा सार्वजानिक विदाको दिन होटलमा दिनभर आन्तरिक र बाह्य पर्यटकले भरिने थाहा नगर र ईन्द्रसरोवर गाँउपालिकामा विद्युत लाईन अनियमित हुँदा ईन्टरनेट र कतिपय अवस्थामा फोन समेत संचालन नहुने भएपछि भित्रने पर्यटकहरु समेत मारमा परेका छन् । प्राधिकरणकै कारण थाहानगर भित्रने पर्यटकको संख्यामा समेत कमी आएको बताउँदै प्राधिकरणलाई सच्चिई ग्राहकमैत्री सुविधा दिन थाहा होटल एसोसियसनका अध्यक्ष शिवकुमार खत्रीले खबरदारी गरे ।

विद्युत लाईन अनियमित हुँदा शैक्षिक संस्थामा पनि असर परिरहेको पालुङ मोडर्न स्कुलका प्रिन्सीपल मनोज रायमाझीले बताए । प्राधिकरणले ग्राहकमाथि हेलचेक्र्याइ र ज्यादती गरेको आरोप लगाउँदै तत्काल विद्युत नियमित नगरे संघर्षमा उत्रने रायमाझीको चेतावनी छ । उनले भने–‘प्राधिकरणले आफ्नो सेवामा सुधार नल्याए, नागरिकको आक्रोसपछिको अवस्था सामना गर्न तयार हुनुपर्छ ।’

थाहानगर तथा इन्द्रसरोवर र कैलाश गाउँपालिका क्षेत्रमा सामान्य हावाहुरीमा वा पानी पर्दा समेत विद्युत अवरोध हुने गरेको छ । कतिपय अवस्थामा प्राधिकरणले फेसबुकमा स्टाटस लेखेर समेत विद्युत कटौती गर्दै आएको छ ।

‘ठेकेदारले कामै गरेन’–पालुङ प्रमुख रास्कोटी

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका प्रमुख विरमान रास्कोटीले ग्राहकको गुनासो सम्बोधन गर्न नसकिएको स्वीकार गरेका छन् । विद्युत लाईन मर्मतका लागि सम्झौता गरिएको ठेकेदार कम्प्नीसंग दक्ष जनशक्ती अभावमा समयमै काम नसकिएको बताए । त्यसोतः मर्मतका लागि सम्झौता गरिएको ठेकेदार कम्पनी विडारी कन्सट्रक्शनसंग दक्ष जनशक्ती समेत नभएको रास्कोटीको प्रतिक्रिया छ ।

लाइन मर्मत तथा विस्तारमा कतिपय ठाउँमा विवाद भएको र समाधानका लागि प्राधिकरणले समेत सहजीकरण गरिरहेको प्रमुख रास्कोटीले बताए । उनले भने–‘अझै मार्खुसम्म ५ पटक र विवादित ठाँउमा काम गर्न ४ पटक सटडाउन गर्नु पर्न सक्छ, यद्यपी छिटो काम सक्न निर्माण कम्पनीलाई कार्यालयको तर्फबाट दबाब दिइ रहेका छौं ।’

त्यसोतः लाईन तान्न विवाद भएको ठाँउमा विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विवाद नमिलाउदा काम नसकिएको निर्माणको जिम्मा लिएको विडारी कन्स्ट्रक्सनको जवाफ छ ।

हेर्नुहोस् विद्युत प्राधिकरणको फेसबुक स्टाटसदेखि देखाउने सुचनासम्म १७ थान।

पालिका प्रेस
थप जानकारी