त्रिभुवन राजपथको नयाँगाउँ क्षेत्र । फाइल फोटो: गणेश विष्ट/पालिका प्रेस

जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्रिभुवन राजपथबाट काठमाडौंतर्फ रात्रिबस चल्न रोक लगाएको छ ।

त्रिभुवन राजपथको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म हेटौंडामा नै प्रतीक्षा लाममा राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनले पूर्व र पश्चिमबाट दिवा सेवामा आएका बसलाई आवश्यकता हेरी करिब ३५ बस त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जान अनुमति दिएको बताए ।

प्रवक्ता कार्कीले धादिङको नौबिसेको प्रहरीले काठमाडौंबाट १७ साउनमा पूर्व र पश्चिमतर्फ जान छुटेका बसलाई त्रिभुवन राजपथबाट यातायात सञ्चालनमा आउन निषेध गरिएको र काठमाडौंबाट आएको मिनी ट्रक, ट्रक, पालुङबाट हेटौंडा आउने सवारी साधनलाई मात्रै सञ्चालन ल्याउन अनुमति दिएको बताए ।

लगातार परेको वर्षासँगै आएको पहिराका कारण चितवन–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि पूर्वबाट काठमाडौंतर्फ जाने रात्रि सेवाले त्रिभुवन राजपथ प्रयोग गर्ने गरेका छन् ।

पालिका प्रेस
थप जानकारी