कार्यविधि मिचेर रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानले छोरा र ज्वाइँलाई कर्मचारी नियुक्त गरेपछि विवाद चुलिएको छ । मेयर तथा प्रमुख कार्यकारी अधिकृतले धमाधम आफन्तलाई कर्मचारीमा भर्ती गरेपछि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा विवाद बढेको हो । उनीहरूले सो नगरपालिकामा रहेका करारका कर्मचारी हटाएर आफन्तलाई राखेका हुन् ।

कार्यपालिकामा कुनै निर्णय नगराई यसरी आन्तरिक रूपमा आफन्तलाई कर्मचारी बनाएपछि उपमेयरसहितका वडाध्यक्षहरूले विरोध गर्दै आएका छन् । यो विवाद बढ्दै गएपछि मेयर, तथा प्रमुख कार्यकारी अधिकृतसँग उपमेयरसहितका अधिकांश कार्यपालिका सदस्यबीच सामान्य छलफल समेत हुन छोडेको छ ।

नगर प्रमुख सजरुद्धिन मुसलमानले नगरपालिकाको वडा नम्बर–३ को अहेवमा आफ्ना छोरा जमिल अहमद खान र वडा नम्बर– ६ को सब–इन्जिनियरमा ज्वाइँ जाबेद आलम खानलाई सेवा करारको कर्मचारीमा नियुक्त गरेका हुन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले आफ्ना साला विभास त्रिपाठीलाई कम्प्युटर अपरेटर (प्राविधिक सहायक पाँचौँ तह) मा नियुक्ति दिलाएका छन् । नगरपालिकाले पुराना सेवा करारका ११ जना कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएर आफ्ना परिवार र आफन्तलाई नियुक्ति दिएको हो । मेयर खान कांग्रेसबाट निर्वाचित हुन् ।

गाउँपालिकाकी उपप्रमुख कल्पना हरिजनले पुराना करारका कर्मचारीलाई दक्ष र क्षमतावान् कर्मचारीलाई हटाएर आफ्ना छोरा र ज्वाइँ सहित १३ जना नयाँ कर्मचारी भर्ना गरेको बताइन् । त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयका सालो विभास त्रिपाटीलाई कम्प्युटर अपरेटमा नियुक्ति गरिएको उपप्रमुख हरिजनले बताइन् ।

उपप्रमुखले भनिन, ‘नगरमा प्रमुख प्रशासकीय अधिकृत र मेयरले अनियमितता र मनपरी गरेका छन् । आफ्ना आसेपासे र परिवारका मान्छेलाई जागिर खुवाएका छन् । छोरा, ज्वाइँ र सालालाई नियुक्ति दिलाएका छन् ।’ कार्यपालिकाका बैठक बिना कुनै जानकारी करारका कर्मचारीलाई हटाइएको जानकारी समेत नदिइएको बताइन् । प्रशासकीय अधिकृत पाण्डेयले आफ्नो सालाको कम्प्युटरमा नियुक्तिको विषय भएको स्वीकार गरे ।

‘साउन असार ३० गते नगर सभाको बैठक बसेको थियो, त्यो बैठकमा पुराना कर्मचारीलाई बिदा दिएर नयाँ कर्मचारीलाई राख्ने विषय आएको थिएन’ उनले भनिन, ‘३१ गते १३ जना कर्मचारीलाई नियुक्त गरेको र १ गते करारका कर्मचारीलाई मौखिक रूपमा हटाएको जानकारीमा आयो । पछि माइन्यूट हेर्दा हामीलाई थाहा भयो ।’ उनले थपिन, ‘हटाउन पाइन्छ । तर, कानून र नियम संगत हुनुपर्‍यो भन्ने माग हो । आफ्नोलाई होइन दक्ष कर्मचारी आउनुपर्‍यो भन्ने हाम्रो माग हो । अहिले अयोग्य र फर्जी काम गर्नेलाई थपिदा नगरको काम कारबाही ठप्प जस्तै भएको छ ।’

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले आफू अनुकूल नभएका कर्मचारीलाई धमाधम सरुवा गरेपछि कर्मचारीले कामकाज ठप्प पारेका छन् । प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीलाई अनावश्यक हस्तक्षेप गरी स्वास्थ्य क्षेत्रका कर्मचारीलाई वडा सचिवमा समेत खटाएका छन् ।

प्रशासकीय अधिकृत पाण्डेयले उपप्रमुख हरिजनले आफ्नो बदनाम गराउने गरी लागेको आरोप लगाए । पाण्डेय अहिले बिदामा छन् ।

छोरा र ज्वाइँको कर्मचारीको नियुक्तिको विषयमा प्रतिक्रिया लिँदा मेयर खानले बोल्न चाहेनन् । छोरा र ज्वाइँलाई नियुक्ति दिनुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘अहिले म यो विषयमा बोल्दिन ।’

प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १५ गते पाल्पाको रामपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा थियो । तर, उनले साउन २० गते उनले आफूलाई मन नपरेका कर्मचारीको नगरपालिकाको कार्यालयबाट वार्ड सचिवको रूपमा सरुवा गरेका कर्मचारीहरूको आरोप छ । जनप्रतिनिधि र कर्मचारीको कारण अहिले नगरमा विवाद सृजना भएको छ ।

नगरपालिकाका सूचना अधिकारी अशोक पाण्डेयले कर्मचारीलाई काम गर्न नगरपालिकामा अफ्ठयारो महसुस गरेको बताए ।

-नेपाल प्रेसबाट

पालिका प्रेस
थप जानकारी