लगानी बोर्डले स्थापना गर्ने विभिन्न ठूला पूर्वाधार परियोजना बैंकको मार्गदर्शन तयार भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बोर्डको प्रतिवेदन बुझाउँदै ‘मार्गदर्शन’ तयार भएको जानकारी गराएका छन् ।

प्रधानमन्त्री देउवा र भट्टबीच गत ३२ साउन २०७८ मा आर्थिक वर्ष २०७८-७९ का लागि ४२ क्रियाकलापमा समयसारिणीसहितको मापनयोग्य सूचकका आधारमा कार्यसम्पादन करार भएको थियो ।सो समय लगानी बोर्डका विभिन्न चार प्रमुख रणनीतिक खम्बा ‘परियोजना विकास र व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास र समन्वय सहकार्य र साझेदारीमा केन्द्रित रही भएको करारबमोजिम सम्पादन गरिएका कार्यप्रगति विवरण समेटिएको’ प्रतिवेदन बुझाइएको हो ।

प्रतिवेदनमा तोकिएअनुसारका सम्पूर्ण सूचक पूरा भई शतप्रतिशत कार्यसम्पन्न भएको उल्लेख छ । ‘बोर्ड सूचना प्रविधिमैत्री बनाउन परियोजना बैंक र अनस्टप सर्भिस’जस्ता प्रविधि विकास गरिएको भट्टले बताएका छन् ।

गत आर्थिक वर्षमा १ खर्ब २२ अर्बभन्दा बढी लगानी स्वीकृत व्यावसायिक योजनासहितको पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी लागू गरिएको लगानी बोर्डले जनाएको छ । त्यसअनुसार परियोजना बैंकसम्बन्धी मार्गदर्शन तयार भएको र परियोजना अनुगमनसम्बन्धी ‘ड्यासबोर्ड’समेत तयार भएको भट्टले जानकारी दिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विभिन्न निकायसँगको समन्वयमा लगानी प्रबद्र्धनसम्बन्धी धेरै काम भएको भट्टले दाबी गरेका छन् ।

पश्चिम सेती तथा सेती नदी संयुक्त जलविद्युत् परियोजना विकास ढाँचासम्बन्धी अध्ययन कार्य सम्पन्न भएको विवरणसमेत प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थपसम्बन्धी अध्ययन कार्य सम्पन्न भएको र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न उपलब्ध प्रविधिको तुलनात्मक विश्लेषण अवस्था पनि प्रतिवेदनमा समेटिएको छ ।

पालिका प्रेस
थप जानकारी