अघिल्लो निर्वाचनमा एकअर्काका प्रतिस्पर्धी विरोध खतिवडा र महालक्ष्मी उपाध्याय ‘डीना’ आगामी निर्वाचनमा जिल्लामा गठबन्धन हाँक्ने तयारीमा लागेका छन् । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ मा नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य तथा पूर्वस्वास्थ्य मन्त्री खतिवडा र कांग्रेस सहमहामन्त्री डीनाले दाबी गरेका छन् ।

आगामी ४ मंसिरमा घोषणा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी सुरु भएसँगै सम्भावित उम्मेदवारहरूको चर्चा हुन थालेको हो । गठबन्धनबाट १ नम्बर क्षेत्रको उम्मेदवार डीना र २ नम्बर क्षेत्रको उम्मेदवार खतिवडा हुने गरी लबिङ भइरहेको कांग्रेस निकट स्रोतले जानकारी दिएको छ ।

खतिवडाले माधव नेपालसँग २ नम्बर क्षेत्रमा आफ्नो उम्मेदवारी रहने बताइसकेका छन् । डीनाले पनि १ नम्बर क्षेत्रबाट उम्मेदवार बन्ने गरी जिल्लास्तरमा छलफल अगाडि बढाएकी छन् । केही दिनअघि हेटौंडा आएर डीनाले आफू निकट नेताहरूलाई निर्वाचनको तयारी थाल्न आग्रह गरेको जनाइएको छ । ‘डीना दिदीले १ नम्बर क्षेत्रबाट उम्मेदवार बन्ने हामीलाई बताउनु भएको छ । उहाँले टिकट दिनेमा नेतृत्व सकारात्मक भएको बताउनुभएको छ’, डीना निकट कांग्रेस नेताले शिलापत्रसँग भने ।

निर्वाचनको सम्बन्धमा खतिवडा र डीनाले पटक–पटक छलफल गरेको जनाइएको छ । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा २ नम्बर क्षेत्रबाट खतिवडासँग डीना १२ हजार ५९ को फराकिलो मतान्तरले पराजित भएकी थिइन् । एमालेबाट उम्मेदवार बनेका खतिवडाले ४४ हजार ७ सय ४४ मत ल्याउँदा डीनाले ३२ हजार ६ सय ८५ मत पाएकी थिइन् । त्यतिबेला खतिवडा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त उम्मेदवार थिए ।

कांग्रेस नेतृ डीना खतिवडासँग मात्रै तीन पटक पराजित भएकी थिइन् । यसअघि २०४८ र २०५१ मा भएको निर्वाचनमा डीनालाई खतिवडाले पराजित गरेका थिए । खतिवडाले हालसम्म मकवानपुरबाट निर्वाचन हारेका छैनन् । यसअघि उनी २०४८, ०५१ र ०५६ र ०७४ को निर्वाचनमा विजयी भइसकेका छन् ।

२ नम्बर क्षेत्रबाट खतिवडाको प्रतिद्वन्द्वीमा एमालेबाट रामेश्वर राना र युवा नेता महेश बर्तौलामध्ये एक हुन सक्ने चर्चा भएको छ । खतिवडासँग भिडेर चुनाव जित्ने आत्मविश्वासका साथ एमाले बागमती प्रदेश कमिटी उपमहासचिव बर्तौलाले नेताहरूलाई लबिङ गरिरहेको जनाइएको छ । एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रानाले पनि उम्मेदवारीको दाबी गरेको जनाइएको छ ।

१ नम्बर क्षेत्रमा डीनाको प्रतिद्वन्द्वी राप्रपा नेपालका अध्यक्ष कमल थाहा हुन सक्ने बताइएको छ । थापाले एमालेको साथमा १ नम्बर क्षेत्रबाट निर्वाचन लड्ने गरी छलफल गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु सापकोटा बताउँछन् । थापा पनि अघिल्लो निर्वाचनमा एमालेका कृष्ण प्रसाद दहालसँग पराजित भएका थिए ।

१ नम्बर क्षेत्रबाटै प्रतिनिधिसभा निर्वाचन लड्ने चर्चा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको पनि छ । तर, बागमती प्रदेशको मुख्यमन्त्री बन्न खोजेका बानियाँले पुनः प्रदेशसभामा निर्वाचन लडेर मुख्यमन्त्रीको मार्ग प्रशस्त गर्न सक्ने कांग्रेसभित्र चर्चा छ । बानियाँले १ नम्बर क्षेत्रमा प्रतिनिधिसभामा दाबी गरिरहे पनि डीनालाई मिलाउन बानियाँलाई प्रदेश निर्वाचन दिएर मुख्यमन्त्री बनाउन सक्ने कांग्रेस नेताहरू नै बताउँछन् । डीना र बानियाँ दुवै कांग्रेसको संस्थापन पक्षका हुन् ।

प्रदेशमा दोहोरिन सक्छन् उम्मेदवार

मकवानपुरमा गठबन्धनले प्रदेशसभा निर्वाचनमा भागबण्डाको ड्राफ्ट गरिसकेको जनाइएको छ । डीनाले दाबी गरेको १ नम्बर क्षेत्रअन्तर्गत् प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) माओवादी र निर्वाचन क्षेत्र नम्बर (ख) कांग्रेसले लिने छलफल भइरहेको जनाइएको छ ।

जसअनुसार प्रदेशसभा १ (क) मा माओवादीका प्रेमबहादुर पुलामी र प्रदेशसभा १(ख)मा कांग्रेसबाट आनन्दराम पराजुली गठबन्धनको उम्मेदवार हुने चर्चा छ । माओवादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष पुलामी गत निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए । खतिवडाको २ नम्बर क्षेत्रअन्तर्गत् प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) माओवादीलाई र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) कांग्रेसले पाउनेबारे छलफल भएको जनाइएको छ ।

जसअनुसार दुवै क्षेत्रमा पुरानै उम्मेदबार दोहोरिन सक्ने चर्चा छ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख)बाट ईन्द्रबहादुर बानियाँ नै उम्मेदवार हुन सक्ने चर्चा भइरहेको कांग्रेसनिकट स्रोतले जनाएको छ । गत निर्वाचनमा प्रतिनिधिसभा २ को प्रदेशसभा (क) बाट मोक्तानले प्रतिद्वन्द्वी भन्दा १३ हजार ७९ मत बढी ल्याएर विजयी भएकी थिइन् । प्रदेशको (ख)बाट बानियाँले गत निर्वाचन जितेका थिए ।

-शिलापत्रबाट ।

पालिका प्रेस
थप जानकारी