मकवानपुर थाहा नगरपालिकामा रहेको प्रसिद्ध ऋषेश्वर महादेव स्थान पुगेका भक्तजनलाई निःशुल्क खानेपानी तथा प्राथमिक उपचारका स्वास्थ्य सामाग्री वितरण गरिएको छ । श्रावण महिनाको अन्तिम सोमबार ऋषेश्वरमा दर्शन तथा पुजाका लागि पुगेका भक्तजनहरुलाई थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील पालुङ जेसीजले निःशुल्क पानी र औषधि वितरण गरेको हो ।

ऋषेश्वरमा मकवानपुर, धादिङ, काभ्रे, चितवन, विरगञ्ज, काठमाण्डौंलगायत भारतबाट समेत ३० साउनमा परेको महिनाको अन्तिम सोमबार भक्तजनहरु पुगेका थिए । उनीहरुलाई सवारी साधनबाट ओर्लिएपछि हिँडेर मन्दिरसम्म जानेक्रममा वा फर्कदा खानेपानीको सहज पहुँच होस भन्ने उद्देश्यले खानेपानी तथा प्राथमिक उपचारका औषधिहरु वितरण गरिएको पालुङ जेसीज वर्ष २०२२ का महासचिव निरज रायमाझीले जानकारी दिए । सो क्रममा पालुङ जेसीजले १ हजार लिटर खानेपानी निःशुल्क वितरण गरेको रायमाझीले बताए ।

त्यसैगरी थाहानगरलाई पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउन नगरपालिकाले प्रकाशन गरेको प्रचारात्मक ब्रोसर, क्यालेण्डर पनि पालुङ जेसीजले तिर्थयात्रीहरुलाई वितरण गरेको छ । कार्यक्रम थाहा नगरपालिकासंगको समेत समन्वयमा भएको हो । कार्यक्रम सम्पन्न पश्चात् संक्षिप्त प्रतिक्रिया दिदै महासचिव रायमाझीले भने–‘थाहा नगरपालिकाले वितरणका लागि प्राथमिक उपचारका औषधि तथा प्रचार सामाग्रीहरु उपलब्ध गरायो, हामी आभारी छौं सँधै सहकार्य र समन्वयको अपेक्षा गर्दछौं ।’ “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसीज आस्थालाई आत्मासाथ गर्दै पालुङ जेसीजले कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

पालुङ जेसीज वर्ष २०२२ का अध्यक्ष जयराम खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पालुङ जेसीजका निवर्तमान अध्यक्ष नवराज लामा, वर्ष २०२२ का बोर्डका सम्पूर्ण पदाधिकारीहरुलगायतको उपस्थिती रहेको थियो । पालुङ जेसीजको सामाजिक कामप्रति मन्दिर पुगेका भक्तजनहरुले समेत खुशी व्यक्त गरेका थिए ।
हिन्दु तथा बुद्ध धर्ममा आस्था राख्नेहरु मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको ऋषेश्वरमा पुजा, आरधना तथा दर्शनका लागि पुग्ने गर्दछन् ।

पालिका प्रेस
थप जानकारी