आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले तयारी तीव्र बनाएको छ । जसअनुसार निर्वाचन आयोगले शुक्रबार अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ । मकवानपुरमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नयाँ मतदाता ९ हजार १ सय ७५ जना थपिएको प्रदेश निर्वाचन कार्यालय, हेटौंडाले जानकारी दिएको छ ।गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनपछि हेटौंडा–५, सानोपोखरास्थित निर्वाचन कार्यालयमा १ असारदेखि १९ साउनसम्म नयाँ मतदाता नामावलीको दर्ता खुलाइएको थियो । करिब ढेड महिनाभित्र ९ हजार १ सय ७५ जना मतदाता थपिएको कार्यालयका शाखा अधिकृत गोविन्दप्रसाद पौडेले जानकारी दिए ।

डेढ महिनाको बीचमा निर्वाचन कार्यालय परिसर मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको अत्यधिक भिड लागेको थियो । मकवानपुरबाट ३ लाख ४ हजार ९४ जनाको अन्तिम मतदाता नामावली स्वीकृत भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । मकवानपुरमा महिलाभन्दा बढी पुरुष मतदाता छन् । गत स्थानीय तहसम्म १ लाख ४९ हजार ९ सय ५४ जना पुरुष मतदाता र १ लाख ४४ हजार ९ सय ५९ जना महिला मतदाता रहेका थिए । हाल मतदाता थपिएपछिको तथ्याड्ढ भने उपलब्ध हुन सकेन । अन्यमा ६ जना मतदाता छन् । निर्वाचन कार्यालयबाट नयाँ मतदाता बनाउनेदेखि जिल्लाबाट अन्यत्र मतदाता नामावली सार्नेहरु पनि थिए ।

गत ३० वैशाखमा भएको स्थानीय तह सदस्य निर्वाचनमा जिल्लास्थित १० वटा स्थानीय तह गरेर ३९ हजार ९ सय ४६ जना मतदाता थपिएका थिए । त्यतिबेला २ लाख ९४ हजार ९ सय १९ जना मतदाता थिए । स्थानीय तहको तुलनामा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कम मतदाता थपिएको तथ्याड्ढले देखाएको छ । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा २ लाख २७ हजार ७ सय ५९ मतदाता रहेका थिए । जिल्लाको १० वटा स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकामा १ लाख ४ हजार ४ सय ७३ जना मतदाता छन् ।

थाहा नगरपालिकामा ३२ हजार ३ सय ७, बकैयामा २९ हजार ९ सय ४३, बागमतीमा २२ हजार ४०, भीमफेदीमा १७ हजार ४ सय २८, मनहरीमा २६ हजार ७ सय २१, मकवानपुरगढीमा १९ हजार १ सय १८, राक्सिराङमा १५ हजार ८ सय ३२, कैलाशमा १४ हजार ५ सय ८६ र सबैभन्दा कम इन्द्रसरोबरमा १२ हजार ४ सय ७१ जना मतदाता रहेका थिए ।स्थानीय तहको निर्वाचनमा १ सय ६५ वटा मतदान स्थल निर्धारण गरिएको थियो । यी स्थलमा ३ सय ५६ मतदान केन्द्र निर्धारण गरिएको थियो । २०७४ को स्थानीय तहको निर्वाचनमा १ सय ६४ वटा मतदान स्थलमा २ सय ९५ मतदान केन्द्र निर्धारण गरिएको थियो । आगामी ४ मंसिरमा हुने निर्वाचनमा सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा रहेका छन् । निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको अन्तिम मतदाता नामवली अनुसार बागमती प्रदेशमा ३४ लाख ७१ हजार ४ सय ९२ मतदाता रहेका हुन् । बागमतीपछि प्रदेश १ मा ३३ लाख ९६ हजार ८ सय ६५ र मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६ सय २८ मतदाता रहेका छन् ।

आयोगका अनुसार सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा छन् । कर्णाली प्रदेशमा १० लाख ८ हजार ४ सय ३ मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ मतदाता र गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५ सय ४१ मतदाता रहेका छन् । आयोगका अनुसार देशभर १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम भएका छन् ।आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा देशभर कूल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम भएका छन् । १९ साउन भित्र मतदाता नामावलीमा नाम दर्ता गरी २०७९ मंसिर ३ सम्ममा १८ वर्ष पूरा गरेकाको अन्तिम नामावली स्वीकृत गरेको हो ।

जसमा ८८ लाख ४७ हजार ५ सय ७९ महिला, ९१ लाख ४० हजार ८ सय ६ पुरुष र १ सय ८५ जना अन्य गरी १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम गरेको हो ।मतदाता संख्याका आधारमा आयोगले देशभर १० हजार ८ सय ९१ मतदानस्थल र २२ हजार २ सय २६ मतदान केन्द्र निर्धारण गरेको छ । मृत्यु भएका र दोहोरिएका मतदातालाई हटाइएको छ । मृतक र दोहोरिएका गरी २ लाख ३० हजारको नाम मतदाता नामावलीबाट हटाइएको आयोगले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी