बागमती प्रदेशमा असोज १ गतेदेखि लागू हुने भनिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड स्थगित भएको छ।

बागमती प्रदेश सरकारले असोज १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा नयाँ मापदण्ड लागू गर्न लागेको थियो। अन्तिम समयमा आवश्यक तयारी नपुगेको भन्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड कार्यान्वयन सरकारले स्थगित गरेको हो। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले आवश्यक तयारी नपुगेकाले तत्कालका लागि उक्त मापदण्ड स्थगित गरिएको जानकारी दिए।

पोख्रेलले भने, ‘अहिले आवश्यक सबै तयारी गर्न सकिएन। त्यसैले आज बसेको मन्त्रिस्तरीय बैठकले तत्कालका लागि उक्त मापदण्ड लागू नगर्ने निर्णय गरेको छ’, उनले भने। पोख्रलले अहिले लाइसेन्सको परीक्षा दिनेको संख्या धेरै भएकाले मापदण्ड लागू गर्न नसकिएको बताए।

संघीय सरकारको यातायात व्यवस्था विभागले तयार गरेको निर्देशिकाअनुसार ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्थानुसारको मापदण्ड लागू गर्ने लागेको प्रदेश सरकारको तयारी थियो। सरकारले प्रदेशमा शनिबार असोज १ गतेदेखि लाइसेन्सको परीक्षा हुने पाँचै यातायात कार्यालयबाट नयाँ निर्देशिकाअनुसार परीक्षा सञ्चालन गरिने बताए पनि अन्तिम समयमा स्थगित गरेको हो।

मन्त्रालयका प्रवक्ता पोख्रेलका अनुसार नयाँ मापदण्ड लागू भएमा लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षामा १०० अंकमध्ये ७० अंक प्राप्त गरेको खण्डमा सहजै लाइसेन्स प्राप्त गर्न सकिनेछ। प्रदेशको हेटौंडामा एउटा र काठमाडौंमा चारवटा स्थानबाट लाइसेन्सको परीक्षा सञ्चालन हुन्छ। चालू आर्थिक वर्षभित्रै चितवन र सिन्धुलीको खुर्कोटबाट पनि लाइसेन्स परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको पोख्रेलले बताए।

नयाँ निर्देशिकाअनुसार परीक्षामा मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको ट्रायललाई सहज बनाइएको छ। मोटरसाइकलको परीक्षामा कहीँकतै छोए वा भुईं टेकेमा अनुत्तीर्ण नहुने व्यवस्था छ।

दुईपांग्रे सवारीसाधनको ट्रायल मापदण्ड
मापदण्ड लागू भएमा मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १ सय तोकिएको छ। त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिनेछन्। प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ (एट आकार) को अंकभार २० तोकिएको छ।

ईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन। दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुईं टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएको छ। साँघुरो फलेकको अंकभार १० तोकिएको छ। साँघुरो फलेकमा खुट्टाले भुईंमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन्।

निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ। टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ। त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन्। ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ। ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ। निर्देशिकामा उबडखाबडको अंकभर १५ तोकिएको छ। एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ।

एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन्। त्यसैगरी उकालो (र्‍याप) को अंकभार २० तोकिएको छ। त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ।

चारपांग्रे सवारीसाधनको निर्देशिका

कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार १ सय तोकिएको छ। जसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ। निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ (एट) को अंकभार २० तोकिएको छ। दुईपटकसम्म अंकित रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन।

दुईपटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ। निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ। पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ। त्यसैगरी युटर्नको अंकभार १० तोकिएको छ।

टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ। अंकित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन्। चारपांग्रे सवारीचालकलाई र्‍याम (उकालो) का लागि अंकभार १५ तोकिएको छ। तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एकपटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ।

ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ। त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ।
सृजना नेपाल, थाहाखबरबाट

पालिका प्रेस
थप जानकारी