स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उमेद्वार भएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका ८७ जना उमेद्वारलाई निर्वाचन आयोगले जरिवाना लगाएको छ । यन्द्रसरोवरका निर्वाचित पालिका अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा र निर्वाचित उपाध्यक्ष उमा कुमारी लामा समेत जरिवानामा परेका छन् । उनीहरुलाई निर्वाचन आयोगले जनही ३ लाख ५० हजार रुपियाँ जरिवाना तोकेको छ । निर्वाचन आयोगले ३ असोजमा सूचना जारी गरी निर्वाचन खर्च विवरण नबुझाएका उमेद्वारहरुको नामावली र जरिवाना रकम सार्वजनिक गरेको विवरणमा उनीहरुको नामावली समेत उल्लेख छ ।

त्यस्तै जनही ३ लाख ५० हजार जरिवानामा पर्नेहरुमा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्षको उमेद्वार जीवन लामा पनि छन् । उनी इन्द्रसरोवरको निवर्तमान पालिका अध्यक्ष समेत हुन् । त्यस्तै देव कुमार लामा र विश्वलाल लामा पनि जरिवानामा परेका छन् । आयोगले उपाध्क्षको उमेद्वारहरुलाई पनि ३ लाख ५० हजार रुपियाँ जरिवाना तोकेको छ । इन्द्रसरोवरमा जरिवानामा पर्ने उमेद्वारहरुमा कमल बहादुर घिसिङ, निर्मला रुम्बा र रस्मिला घिसिङ छन् ।

यसैबीच इन्द्रसरोवरको वडामा उमेद्वार भएका ७९ जना पनि जरिवानामा परेका छन् । उनीहरुलाई निर्वाचन आयोगले जनही १ लाख ५० हजार रुपियाँ जरिवाना तोकेको छ । यसरी जरिवानामा पर्नेमा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ को १७ जना, वडा नम्बर २ को १८ जना, वडा नम्बर ३ को १० जना, वडा नम्बर ४ को १२ जना र वडा नम्बर ५ को २२ जना रहेको आयोगले जनाएको छ ।

निर्वचित जनप्रतिनीधि र पारजित भएका उमेद्वारहरुले स्थानीय तह निर्वाचनमा लागेको खर्चको बिल भरपाइसहित आयोगमा विवरण नबुझाएकोले उनीहरुलाई निर्वाचन आयोगले जरिवाना गरेको हो । स्थानीय तह निर्वाचन, २०७९ मा उमेद्वार भई कानुन बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा बिलम्ब गरी बुझाउने उपर निर्वाचन आयोगको २०७९ साउन ३१ गतेको निर्णय अनुसार गोरखापत्रमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनी १ भाद्रमा सूचना गरेको थियो । प्रकाशित सूचनाको समयावधि भित्र प्राप्त हुन आएका स्पष्टीकरणहरु अध्ययन गरी हेर्दा चित्त बुझ्दो नदेखिएको र सो अवधिभित्र स्पष्टीकरण पेश नगरेको, ढिलो गरी स्पष्टीकरण पेश गरेको आधारमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम आयोगले निर्धारण गरेको खर्चको हद अनुसार हुने गरी सोही ऐनको दफा २६ को उपदफा (१) बमोजिम जनही २ लाख जरिवाना ठहर्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ५ बमोजिम राजनीतिकदल वा उमेद्वारले निर्वाचनको अन्तिम मतपरिणाम प्रकाशित भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको बिल भरपाइसहित आयोगले तोकेको कार्यालयमा विवरण पेश गर्नुपर्ने व्यवस्था छ । त्यस्तै स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण दल वा उमेद्वारले मतपरिणाम घोषणा भएको ३० दिनभित्र बुझाउनुपर्ने, स्थानीय तह निर्वाचन नियमावली, २०७३ नियम ४० बमोजिम उमेदवार वा निजको प्रतिनिधिले निर्वाचनको अवधिमा निर्वाचनमा भएको खर्चको विवरण तोकिएको ढाँचामा मतपरिणाम घोषणा भएको ३० दिनभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानुनी व्यवस्था छ ।

कानुन अनुसार खर्च विवरण नबुझाई जरिवनामा परेका उमेद्वारहरुको स्थानीय तह अनुसार निर्वाचन आयोगले ३ असोजमा नामावली वेभसाइटमा प्रकाशन गरेको छ ।

हेर्नुहोस् जरिवानमाा परेका इन्द्रसरोवरका उमेद्वारहरुको नामावलीः

 

पालिका प्रेस
थप जानकारी