बागमती प्रदेशका स्थानीय तहहरुका झोलुङ्गे पुलका फोकल पर्सनहरुलाई (इन्जिनियर–सबइन्जिनियर) झोलुङ्गे पुल सम्वन्धि क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ । यातायात पुर्वाधार निर्देशनालयम बागमती प्रदेशको आयोजना तथा ट्रेल ब्रिज सपोर्ट युनिटको सहयोगमा भाद्र २६ गते देखि हेटौँडामा सन्चालन गरिएको तालिम ३ असोजमा समापन भएको छ ।

प्रदेशका धादिङ चितवन मकवानपुर काभ्रे सिन्धुली र रामेछाप जिल्लाका विभिन्न २० स्थानीय तहका फोकल पर्सनहरुलाई छोटो तरिकाको पुल निर्माण सम्वन्धि ९ दिन तालिम प्रदान गरिएको निर्देशनालयका प्रवक्ता एवम् तालिम संयोजक हरि प्रसाद ओझाले जानकारी दिए । निर्देशनालयले प्रदेशका ११९ तहमध्ये ९३ वटा झोलुङ्गे पुल कार्यक्रम सन्चालन भएका स्थानीय तहहरुलाई प्रादेशिक प्राविधिक सहयोग कार्यक्रम (पिटिएपी) मार्फत् प्रावधिक सहयोग गरिरहेको तालिम संयोजक ओझाले जानकारी दिए ।

गत आर्थिक वर्षमा बागमती प्रदेशभर ९३ वटा झोलुङ्गे पुल सम्पन्न भएका थिए । चालु आवमा १०८ स्थानीय तह र ७ वटा प्रादेशिक तहबाट गरि कुल ११५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको प्रवक्ता ओझाले जानकारी दिए । झोलुङ्गे पुलको निर्माण र सन्चालन गरि स्थानीय स्तरमा भरपर्दो यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारले ‘झोलुङ्गे पुल रणनीति २०७८’ स्विकृत गरिसकेको ओझाले जानकारी दिए । टिबिएसयुका इन्जिनियर दिपक दाहालले सहजिकरण गरेको तालिममा टिबिएसयु बागमती प्रदेशका प्रबन्धक दिनेश पाण्डे र तालिम संयोजक ओझाले प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र वितरण गरे ।

स्थानीय जनतालाई पैदल मार्गमा नदी खोला तथा खोल्सा तर्न आवश्यक र सम्भाब्य स्थानहरुमा झोलुङ्गे पुलको निर्माण गर्ने, निर्माण सम्पन्न भैसकेका झोलुङ्गे पुलहरुको मर्मत सम्भार गरि आधारभुत स्तरको यातायत सेवा उपलब्ध गराउने, झोलुङ्गे पुल कार्यक्रम कार्यान्वयनमा स्थानीय तहहरुलाई आवश्यक सहयोग र समन्वय गर्ने लगायतका विषयलाई जोड दिइएको थियो ।

पालिका प्रेस
थप जानकारी