मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका पालिका अध्यक्ष, उपाध्यक्ष लगायत वडामा निर्वाचित जनप्रतिनीधिले निर्वाचन आयोगमा खर्च विवरण नबुझाएको आयोगले जनाएको छ । आयोगले ३ असोजमा प्रकाशन गरेको सुचनामा उनीहरुले समेत खर्च विवरण नबुझाएको उल्लेख छ ।

इन्द्रसरोवरको पालिकाको नेतृत्व गरिरहेका पालिका अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा र उपाध्यक्ष उमा कुमारी लामाले पनि निर्वाचन आयोगमा खर्च नबुझाएको सुचनामा उल्लेख छ । पुडासैनी र लामा दुवै नेकपा एमालेको तर्फबाट निर्वाचित उमेद्वार हुन् । आयोगको सूचना अनुसार यि दुवैले जनही ३ लाख ५० हजार जरिवाना तिर्नुपर्ने भएको छ ।

त्यस्तै वडा नम्बर १ का वडाध्यक्ष सुवास थापा मगर, २ का वडाध्यक्ष सुमन श्रेष्ठ पनि जरिवानामा परेका छन् । खर्च विवरण नबुझाएका मगर र श्रेष्ठ नेपाली काँग्रेसको तर्फबाट निर्वाचित उमेद्वार हुन् । त्यस्तै वडा नम्बर ३ का वडाध्यक्ष प्रताप भोम्जन र ४ नम्बर वडाका वडाध्यक्ष चन्द्र कुमार बलले पनि जरिवाना तिर्नुपर्ने भएको छ । भोम्जन र बल नेकपा एमालेको तर्फबाट निर्वाचित उमेद्वार हुन् । इन्द्रसरोवरको ५ नम्बर वडाध्यक्ष दुतराज तितुङले पनि खर्च विवरण नबुझाएपछि उनी पनि जरिवानामा परेका छन् । तितुङ नेपाली काँग्रेसको तर्फबाट निर्वाचित उमेद्वार हुन् । खर्च विवरण नबुझाएका वडा अध्यक्षहरुले जनही १ लाख ५० हजार रुपियाँ जरिवाना तिर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वचित जनप्रतिनीधि र पारजित भएका उमेद्वारहरुले स्थानीय तह निर्वाचनमा लागेको खर्चको बिल भरपाइसहित आयोगमा विवरण नबुझाएकोले उनीहरुलाई निर्वाचन आयोगले जरिवाना गरेको हो । स्थानीय तह निर्वाचन, २०७९ मा उमेद्वार भई कानुन बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा बिलम्ब गरी बुझाउने उपर निर्वाचन आयोगको २०७९ साउन ३१ गतेको निर्णय अनुसार गोरखापत्रमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनी १ भाद्रमा सूचना गरेको थियो । प्रकाशित सूचनाको समयावधि भित्र प्राप्त हुन आएका स्पष्टीकरणहरु अध्ययन गरी हेर्दा चित्त बुझ्दो नदेखिएको र सो अवधिभित्र स्पष्टीकरण पेश नगरेको, ढिलो गरी स्पष्टीकरण पेश गरेको आधारमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम आयोगले निर्धारण गरेको खर्चको हद अनुसार हुने गरी सोही ऐनको दफा २६ को उपदफा (१) बमोजिम जरिवाना ठहर्ने आयोगले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी