धनुषाको एक स्थानीय तहमा मेयर उपमेयरको दलीय विवादका कारण काम ठप्प भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मेयर र उपमेयरको विवादमा नगरसभाबाट बजेट पास हुन नसकेपछि नगरपालिकाको काम ठप्प भएको हो। गत असार १० गते नै सम्पन्न भएको नगरसभाको बन्द सत्रबाट बजेट पास नभएपछि पालिकाबाट हुने सेवा प्रवाह अन्योलमा परेको छ।

उपप्रमुखले बन्दसत्रको माइनुटमा हस्ताक्षर नगरेपछि पालिकाले हालसम्म बजेट चलाउन नसकेको नगर प्रमुख सुखदेव यादवले बताए। उनले भने, ‘पालिकाले बजेट चलाउन नसक्दा कुनै पनि योजना सञ्चालन हुन सकेको छैन। निर्वाचित भएर आइसकेपछि जनताको उपप्रमुखको हैसियतमा गर्नुपर्ने काम कारवाही कांग्रेसको दूत हुँदा पालिकाको बजेट चलाउन सकिएको छैन।’

नगरप्रमुख यादवले अन्नपूर्णसँग कुरा गर्दै उपमेयरले कांग्रेसको भएकाले पालिका असफल बनाउन लागेको आरोप लगाए। उनले भने, ‘उपमेयर ज्यूले करारको सबै कर्मचारी राख्नुपर्ने, सिफारिसवापत लाग्ने रकम छुट गरेकोमा पुनः शुल्क लिनुपर्ने, ऐन कानूनभन्दा माथि गएर नियमविपरीत काम गर्न वडाध्यक्षसहित उपमेयरले दबाब दिने र नगर्दा कांग्रेसको इसारामा उपमेयर नगरलाई असफल बनाउन लागिपरेका छन्।’ खातामा ५९ करोड रुपैयाँ मौज्दात भएपनि सञ्चालन गर्न नपाएको उनले बताए। उपमेयर र वडाध्यक्षहरूले असहयोग गरिरहेका उनको भनाइ छ।

जाति र पार्टीलाई हटाएर काम गर्न खोजे पनि काम गर्न असहज भइरहेको र नगरको बफादार, कर्मठ कर्मचारी राखेर अरूलाई हटाउन खोजेपनि नसकिएको उनले बताए। नगरप्रमुख यादवले कर्मचारीको तलब मात्र नभई बालुवा गिट्टिको ठेक्का राजश्वमा समेत उपमेयरको सही गर्ने अधिकार रहेको तर उप-मेयर कार्यालय नै नआएको गुनासो गरे। गत वर्षको बाँकी भुक्तानीका लागि १८ न फर्म भर्न गरेको माइनुटसमेत वडाअध्यक्षले च्यातेको तथा स्थायी कर्मचारी वडाध्यक्षले लान नमानेको यादवको आरोप छ।

नगर उपप्रमुखले सिर्जना गरेको विवादका कारण कर्मचारीहरूले पहिलो त्रैमासिकको तलब पाउन नसकेको प्रमुख प्रशासकीय अधिकृत कन्हैया मिश्रले बताए। उनले भने, ‘योजनाका विषयमा पछि सहमति गर्दै गरौँला, अहिले कम्तिमा कर्मचारीहरूको तलबका लागि वातावरण बनाइ दिनुस् म आग्रह गर्दछु।’ मिश्रले चाडपर्वको बेलामा कर्मचारीको तलब नपाउनु दुःखद भएको बताए। तलव निकासाका लागि जनप्रतिनिधिलाई आग्रह गर्दै पालिकालाई अनिर्णयको बन्दी नबनाउन आग्रह गरे। क्षिरेश्वरनाथ नगरपालिकामा २० कार्यपालिका सदस्यमध्ये १७ कांग्रेसका र एमालेका तीन जना छन्। जसमध्ये नेपाली कांग्रेसका उपमेयर र सातजना वडाध्यक्ष तथा एमालेका मेयर र दुई वडाअध्यक्ष रहेका छन्।

पालिका प्रेस
थप जानकारी