मोडल प्रतियोगिता ‘मिस्टर एण्ड मिस ट्यालेन्ट नेपाल, चन्द्रागिरी २०७९’ को उपाधि सिद्धान्त पौडेल र कृपा गोपालीले जितेका छन् । काठमाडौँको सतुङ्गलस्थित डीजे लन्जमा असोज ८ गते भएको प्रतियोगितामा पुरुषतर्फ सिद्धान्त पौडेल र महिलातर्फ थाहा नगरपालिका कृपा गोपाली विजेता बनेका हुन् ।

यस्तै पुरुषतर्फ विकास परियार उपविजेता बनेका भने महिलातर्फ शायना शर्मा उपविजेता बनेकी छन् । विजेताहरुलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ । प्रतियोगिताको निर्णायकमा टिकटक कलाकार सौगात करन्जित, विभिन्न नेपाली फिल्ममा प्रोडक्सन म्यानेजरका रुपमा काम गरेका शंकर पाण्डे, कोरियोग्राफर प्रतिमा विष्ट, कलाकार तथा गायक अमेन्द्र आचार्य रहेका थिए । उपाधिका लागि १२ जना प्रतियोगीले फरक फरक ‘सिक्वेन्स’ प्रस्तुत गरेका थिए ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी प्रमख अतिथि थिए भने अमिर कलाकेन्द्रका अध्यक्ष अमिर बज्राचार्य कार्यक्रमका सभापति थिए । यस्तै कार्यक्रममा चन्द्रागिरी नगरपालिकाकी उपमेयर वसन्ती श्रेष्ठ, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधान, चन्द्रागिरी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा वडा सदस्यहरु लगायत उपस्थित थिए ।

बिजेता बनेसंगै सामाजिक संजाल र विभिन्न माध्यमबाट कृपालाई बधाईको ओहिरो लागेको छ ।