आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त छन् ।

मकवानपुरमा वर्षौंदेखि चुनाव जित्दै आएका ठूला राजनीतिक दलविरुद्ध नयाँ दल र नयाँ अनुहार पनि मैदानमा छन् । केही समयअघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका दुई उम्मेदवार मकवानपुरको निर्वाचनमा होमिएका छन् ।

प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी नभएको राष्ट्रिय स्वतन्त्र पार्टीले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट सुरेश थापा र प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट भरत पराजुलीलाई उठाएको छ । थापा निर्माण व्यवसायी हुन् भने पराजुली नेपाली कांग्रेस मकवानपुरका पुराना नेता ।

थापाले १ नम्बर क्षेत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, गठबन्धनबाट नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) र राप्रपाका दिपकबहादुर सिंघसँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पुराजलीको प्रतिद्वन्द्वीका रूपमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री विरोध खतिवडा र एमालेका युवा उम्मेदवार महेश बर्तौला छन् । थापा र पराजुलीले आफ्नो निर्वाचन प्रचारमा धेरै मिहिनेत गरेका छन् ।

१ नम्बर निर्वाचन क्षेत्रमा तीन जना प्रभावशाली उम्मेदवारविरुद्ध थापाको भिडन्त कमजोर बन्ने देखिन्छ । यसअघि राजनीतिक सक्रियता र सामाजिक कार्यमा कमै देखिएका थापा १ नम्बर क्षेत्रका मतदाताका लागि अपरिचित अनुहार हुन् । थापासँग राम्रो जनमत नभएकै कारण ठूला दलका उम्मेदवारका लागि उनी चुनौतीका रूपमा नदेखिएको चर्चा छ ।

थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको आकर्षणको मत मात्रै ल्याउने कतिपयको आँकलन छ । गठन्धनको मत र एमालेभित्र कमल थापालाई टिकट दिँदा उत्पन्न विवादको क्रस मत बटुल्न थापा समक्ष नभएको नेताहरूको हिसाब छ । एमालेको असन्तुष्ट मतहरू राप्रपाका उम्मेदवार दीपक सिंहले तान्न सक्ने आँकलन भएकाले स्वतन्त्र पार्टीका थापा ठूलो चुनौतीका रूपमा देखिँदैनन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार पराजुली भने गठबन्धनका उम्मेदवार खतिवडाका लागि चुनौतीका रूपमा देखिएका छन् । मनहरी घर भएका पराजुली २ नम्बर क्षेत्रमा कांग्रेसभित्र प्रभावशाली नेता थिए । पार्टीभित्र गुटबन्दीले अबसरबाट बञ्चित हुँदै आएका पराजुलीले करिब ३३ वर्षसम्म राजनीति गरेको कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएका हुन् ।

पराजुली गठबन्धनका उम्मेदवार विरोध खतिवडाका लागि भारी पर्न सक्ने कतिपयको आँकलन छ । खतिवडाको पार्टी एकीकृत समाजवादीको मत (स्थानीय तहमा प्राप्त) करिब ४ हजार मात्रै छ । उनलाई जितको लागि गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको मत आवश्यक छ ।

कांग्रेसको मत पराजुलीले तानेमा खतिवडालाई खतरा हुने देखिन्छ । पराजुलीले कांग्रेसको धेरै मत अफ्नो पक्षमा ल्याउने आँकलन गरिएको छ । कांग्रेसको ठूलो मत रहेको मनहरीबाटै पराजुली उठ्नाले खतिवडालाई संकट बढी देखिएको हो । एमालेका युवा उम्मेदवार महेश बर्तौलाले एकीकृत समाजवादीको राम्रो मत भएको क्षेत्र मनहरी गाउँपालिकामा स्थानीयको समस्यालाई मुद्दा बनाएका छन् ।

पराजुली खतिवडाको लागि चुनौतीका रूपमा देखिए पनि उनले निर्वाचन जित्ने सम्भावना भने कम छ । राष्ट्रिय स्वतन्त्र पार्टीको राम्रो जनमत नभएकाले उनलाई निर्वाचन जित्न सहन छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर अध्यक्ष राजकुमार न्यौपाने भने दुवै जना उम्मेदवारले निर्वाचन जित्ने दाबी गर्छन् । ‘दुवैतिर चुनाव जित्छौँ । अरु दिन ठूला दलका नेताले जित्छन् ४ गतेको चुनावमा जनताले भोट हालेर हामीलाई जिताउँछन्,’ न्यौपानेले भने । उनका अनुसार जिल्लाभर राष्ट्रिय स्वतन्त्र पार्टीका १० हजार साधारण सदस्य  छन् ।

-शिलापत्रबाट ।

पालिका प्रेस
थप जानकारी