नेकपा एमालेले ३९६ स्थानीय तहका आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण गरिसक्ने घोषणा गरेको छ । मंगलबार सार्वजनिक एमालेको घोषणापत्रमा स्थानीय तहका पाँच, १० र १५ शय्याका ३९६ अस्पताल दुई वर्षभित्र निर्माण सक्ने उल्लेख छ ।
घोषणापत्रमा भनिएको छ, ‘पाँच, १० र १५ शय्याका ३९६ स्थानीय तहका आधारभूत अस्पताल निर्माणको कार्य दुई वर्षभित्र सम्पन्न गर्ने, जिल्ला अस्पताललाई २५ देखि ५० शय्याको अस्पताल, तत्कालीन अञ्चल अस्पताललाई २०० शय्याको जनरल अस्पताल र केन्द्रीय अस्पताललाई ५०० शय्याको विशेषज्ञ अस्पतालमा स्तरोन्नति गरिनेछ ।’
एमालेले घरघरमा स्वास्थ्य सुविधा पुर्याउन महिला स्वास्थ्य स्वयंसेविकाको दक्षता अभिवृद्धि गर्ने र थप सेवा दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
एमालेले आगामी पाँच वर्षभित्र सम्पूर्ण नेपालीको स्वास्थ्य बीमा गरिसक्ने घोषणा पनि गरेको छ । उसले स्वास्थ्य बीमाले समेट्ने सबै उपचार स्थानीय तहका स्वाथ्य केन्द्रमा सुनिश्चित गर्ने, निःशुल्क वितरण गर्ने औषधिको संख्या थप गर्ने, ६० वर्ष भन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने एमालेको घोषणा छ ।
६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने, कडा असाध्य रोगहरूको उपचार निःशुल्क गर्ने, महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदको लागि बार्षिक रु १ हजार ५ सय उपलब्ध गराउने पनि वाचा गरेको छ ।
काठमाडौं उपत्यकामा ३०० शय्या र सातै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माण सम्पन्न गर्ने, जटिल र घातक प्रकृतिका रोगहरूको उपचारका लागि अन्तर्राष्ट्रियस्तरको उपचार सेवा स्वदेशमै सुनिश्चित गर्न विशिष्टीकृत अत्याधुनिक उपचार सेवा उपलब्ध गराउने, अधिकार सम्पन्न राष्ट्रिय प्रत्यायन प्राधिकरण (नेशनल एक्रिडेशन अथोरिटी) बनाई स्वास्थ्य सेवाको नियमन गर्ने एमालेको घोषणा छ ।
यस्तै, सबै नागरिकलाई मुलुकभित्रै प्राथमिकदेखि अति जटिल र विशिष्टीकृत सम्पूर्ण स्वास्थ्य उपचार सेवाको ग्यारेन्टी गरिने. सबै नेपालीलाई उच्च गुणस्तरको उपचार सेवा नजिकबाट तत्कालै उपलब्ध हुने व्यवस्था सुनिश्चित गर्ने एमालेले घोषणपत्रमा उल्लेख छ ।
कडा, असाध्य रोगहरूको उपचार निःशुल्क गरिने तथा यस्ता बिरामीहरू र ८० वर्ष नाघेका जेष्ठ नागरिकहरूलाई पोषणयुक्त आहारका लागि थप सहायताको योजना ल्याइने र खोप, पोषण र प्रसूति सेवाको अभाव हुन नदिने एमालेले प्रतिबद्धता जनाएको छ ।
‘गम्भीर रोगको पूर्व परीक्षण (स्क्रिनिङ), पाठेघरको क्यान्सरको निशुल्क परीक्षण र सबै गर्भवती महिलालाई स्वास्थ्य केन्द्रमा गई प्रसूति हुने व्यवस्था गरिने, गर्भावस्थामा नै पौष्टिक आहार वितरण, स्वास्थ्य परीक्षण, मातृत्व शिक्षा र शिशु स्याहारको जानकारीलाई अझ प्रभावकारी बनाइने छ ,’ घोषणापत्रमा उल्लेख छ ।
बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक, फरक क्षमता भएका नागरिक र बेसहारा नागरिकहरूको स्वास्थ उपचार तथा पोषणका लागि जनताको स्वास्थ्य, राज्यको जिम्मेवारी कार्यक्रम सुरु गरिने एमालेले जनाएको छ । सबै स्थानीय तहका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा बाल उपचार कक्ष, ज्येष्ठ नागरिक उपचार कक्ष र मातृशिशु उपचार कक्षको अनिवार्य व्यवस्था गरिने, सबै स्थानीय तहमा २४सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराइने, राजमार्गमाको निश्चित दूरीमा ट्रमा सेन्टर स्थापना गरिने वाचा एमालेको घोषणापत्रमा उल्लेख छ ।
आवश्यकता र संभावनाको आधारमा हेलिकप्टर वा हवाइजहाज वा एम्बुलेन्स व्यवस्था गरेर गर्भवती महिला र दर्घटनामा परेका व्यक्तिको तत्काल उद्धार गरी शीघ्र उपचारको व्यवस्था मिलाइने प्रतिबद्धता जनाएको छ ।
स्वास्थ्य सेवामा चिकित्सकहरूको मात्र सेवा शुल्क तोकिएको सन्दर्भमा सार्वजनिक, सामुदायिक तथा निजी क्षेत्रबाट प्रवाह हुने सेवाको शुल्क र गुणस्तर तोकिने र सबै नेपालीको स्वास्थ्यसम्बन्धी विद्युतीय अभिलेख राखी ४० वर्षमाथिका सबै व्यक्ति र औषधि उपचार गरिरहेका सबै नेपालीको निःशुल्क नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गरिने उसले जनाएको छ ।
एमालेले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको गुणस्तरयुक्त औषधि र चिकित्सा उपकरण उत्पादन गर्न प्रोत्साहित गरिने घोषणापत्रमा उल्लेख छ ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्