अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको सुर्मा गाउँपालिका कार्यालमा कार्यरत नायब सुब्बा शिवराज उपाध्यायविरुद्ध १ करोड १० लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मंगलबार अख्तियारले उपाध्यायविरुद्ध १ करोड १० लाख ६७ हजार ७ सय ३८ रुपैयाँ बिगो, बिगो बमोजिम जरिवाना, कैद र अकुत सम्पत्तिबाट बढे/बढाइएको जायजेथा जफतको मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले सम्पत्ति जफतको प्रयोजनका लागि उपाध्यायकी पत्नी जयादेवी उपाध्यायलाई पनि प्रतिवादी बनाएको छ ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार २०५५ भदौ २५ मा सरकारी सेवा प्रवेश गरेका उपाध्यायको सेवा प्रवेशदेखि २०७८ चैत ३० सम्मको चल/अचल सम्पत्तिमाथि अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा उपाध्यायले जग्गा/जमिन, बैंक मौज्दात, शेयरलगायतबापत १ करोड ५७ लाख ५ हजार १ सय ३४ रुपैयाँ बराबरको चलअचल सम्पत्तिको विवरण पेस गरेका थिए । तर, ४८ लाख ९ सय ११ रुपैयाँको मात्रै स्रोत खुलेपछि बाँकी सम्पत्तिबापत हुन आउने रकम नै बिगो कायम गरेर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
‘सरकारी सेवा प्रवेशदेखि २०७८ चैत ३० सम्मको जाँच अवधिको समग्र आय-व्ययको विश्लेषण गर्दा निजले सार्वजनिक सेवामा रही आर्जित पारिश्रमिक बचत, निजको छोराको पारिश्रमिक बचत, जग्गा बिक्रीबाट प्राप्त कर्जा, बीमाबाट प्राप्त रकम, कृषि आयसमेत गरी ४८ लाख ९ सय ११ रुपैयाँ आय गरेको देखियो,’ अख्तियारको आरोपपत्रमा भनिएको छ, ‘सोही जाँच अवधिमा निजको व्ययतर्फ जग्गा खरिद, घर निर्माण, अध्ययन खर्च, कर्जाको साँवा-ब्याज भुक्तानी, बीमाको प्रिमियम भुक्तानी, विद्युतीय उपकरण खरिद, सुन र सबारी साधन खरिद, बैंक मोज्दातसमेत गरी १ करोड ५७ लाख ५ हजार १ सय ३४ रुपैयाँ २५ पैसा खर्च गरेको पाइयो ।’
उपाध्याय लामो समय जिल्ला हुलाक कार्यालय बझाङमा कार्यरत थिए । त्यही रहँदा उनले पदको दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको अख्तियनरको अनुसन्धानबाट खुलेको छ ।













































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्