थाहानगरलाई ‘पर्यटकीय नगर’को रुपमा परिचय स्थापित गर्नका लागि पालिकाले नीतिगत रुपमै योजना निर्माण गरी कार्यान्वयन गर्ने थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले बताएका छन् । यसका लागि जिल्लाकै उच्च क्षेत्रमा रहेको दामन सिम्भन्ज्याङ क्षेत्रको खाली जग्गालाई नगरपालिकाको मातहतमा ल्याई ठुला होटल निर्माण गर्न लिजमा दिने योजना रहेको नगर प्रमुख विष्टले बताए । यसका लागि संघ र प्रदेश सरकारसंग आग्रह गरिने विष्टको भनाइ थियो । थाहा नगरपालिकामा क्रियाशील पालुङ जेसिजको जेसीज सप्ताह समापन कार्यक्रममा विष्टले यस्तो बताएका हुन् ।

थाहानगरको चित्लाङ बज्रवाराहीमा पर्यटकहरुको ओइरो लाग्ने गरेको सन्दर्भ सुनाउँदै प्रमुख विष्टले भने–‘सिम्भन्ज्याङ दामनदेखि नयाँगाउँसम्मको खाली जग्गालाई नगरपालिकाको मातहतमा ल्याउनसके ठुला होटल तथा रेस्टुरेन्ट व्यावसायीलाई जग्गा भाडामा दिएर थाहामा आउने पाहुनालाई आतिथ्यता दिन सकिन्छ यसका लागि नगरले जिम्मेवार भएर पहल गर्छ, ढुक्क हुनुस् ।’ प्रमुख विष्टले विकासमा बजेटसंगै नीतिगत रुपमा थुप्रै काम गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै पालिकाले नीति र बजेट दुवैमा सहजीकरण गर्दै काम गर्ने बताए । विकास सबैको सरोकार भएको हुँदा पालुङ जेसिज जस्तो सामाजिक संस्थाले पनि सुझाव दिन र सहकार्य गर्न विष्टले अनुरोध गरे । उनले भने–‘म कन्फरटेवल मेयर हुँ, जेसिजबाट देशका राजनैतिक दलहरुले नेतृत्वमा एकपटक मात्र भन्ने कुरा र युवा नेतृत्वको सवाल सिक्नु पर्छ ।’ जेसिज सप्ताह कार्यक्रममा अतिथि नेपाल जेसिजका महासचिव तथा विशिष्ट अतिथी कृष्ण सापकोटाले पालुङ जेसिजको सहयोगको सदासर्वदा जीवन्त रहिरहने बताउदै जेसिजमा लाग्नेहरुको महान चाड जेसिज सप्ताह कार्यक्रम भएको उल्लेख गरे ।

पालुङ जेसिज वर्ष २०२२ का अध्यक्ष जयराम खत्रीको अध्यक्षतामा सम्पन्न जेसिज सप्ताह समापन समारोहमा बसामाडी जेसिजका २०२२ का अध्यक्ष चिराग अग्रवाल, मकवानपुरगढी जेसिजका सस्थापक अध्यक्ष पुष्पराज पुडासैनी, नेपाल जेसिजका २०२२ का नोम एडिटर सरोज अधिकारी, थाहानगर उधोग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, पालुङ जेसिजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, थाहा ३ का वडा अध्यक्ष हिरेन्द्र रायमाझी, फरक सोचका अध्यक्ष यादव रायमाझी, कृषि बिकास बैक पालुङ शाखाक प्रमुख नन्दराम अधिकारी, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक शुदर्शन गुरुङलगायतकाको आतिथ्यता रहेको थियो । समापन कार्यक्रमको अवसरमा जेसिज सप्ताहलाई सफल बनाउन सहयोग गर्ने कार्यक्रम संयोजकहरुलाई मायाको चिनो तथा प्रसंसापत्र दिइएको थियो । निरज रायमाझीले संचालन गरेको समापन कार्यक्रममा पालुङ जेसिस वर्ष २०२२ का अध्यक्ष जयराम खत्रीले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।

पालिका प्रेस
थप जानकारी