मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ ले वडामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । वडा कार्यालयले २८ जेठमा ऋषेश्वर आधारभूत विद्यालयका ४५ जना र बालकुमारी प्राथमिक विद्यालयका ३४ जना गरी कुल ७९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । वडाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार शैक्षिक सामग्री वितरण गरेको हो ।

वडा अध्यक्ष नारायण लामासहितको टोलीले ऋषेश्वर आधारभूत विद्यालय र बालकुमारी आधारभुत विद्यालयमै पुगेर विद्यार्थीहरुलाई सामग्री वितरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिकाका शिक्षा शाखा प्रमुख माधवविक्रम मल्ल रहेका थिए । ४ नम्बर वडाध्यक्ष नारायण लामाको सभाध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रमाया बल, वडा सदस्य अक्षय कुमार थिङ, किटेनी रुप्से टोल विकास संस्थाका अध्यक्ष गणेश लामा, प्रधानाध्यापक सुलोचना गोले, कोपिला भेटवाल, वडा सचिव पाल्साङ लामा, विद्यालयका शिक्षक–शिक्षिका लगायत अभिभावकहरूको पनि उपस्थिति रहेको थियो।

प्रमुख अतिथि मल्लले शैक्षिक सामग्री वितरणले विद्यार्थीहरूमा अध्ययनप्रतिको अभिरुचि बढाउने विश्वास व्यक्त गरे । वडाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष लामाले सामुदायिक विद्यालयको गुणस्तर सुधारतर्फ वडाले निरन्तर प्राथमिकता दिइरहेको बताए ।

पालिका प्रेस
थप जानकारी