मोरङको सुनवर्षी नगरपालिकाले पालिकाभित्रका युवालाई कोरियन भाषा प्रशिक्षण कक्षा निःशुल्क संचालन गर्ने भएको छ । पालिकाले फागुन १५ गते यसबारे सूचना जारी गरेको हो । निःशुल्क कोरियन भाषा प्रशिक्षण कक्षा सञ्चालन हुने जानकारी दिँदै सूचनामा नगरपालिका कार्यालयमा वा सम्बन्धित वडा कार्यालय मार्फत फागुन २५ गते कार्यालय समयभित्र सम्पर्क गर्न आह्वान गरिएको छ ।
‘हामीले युवालाई विदेश पठाउन प्रोत्साह गरेको होइन । नागरिकले पैसा धेरै खर्च गर्न थालेपछि हामीले लगानी गरेरै सिकाउन खोजेका हौँ,’ राजवंशीले भने, ‘हामीले विदेश जाऊ भनेको होइन । विदेश जान रोक्ने हो भने मेनपावर खारेज गरौँ, विदेश जानै बन्द गरौँ । होइन भने त हामीले नागरिकको हितमा गरेको हो नि ।’
सिप विकास प्रशिक्षण तथा बिक्री केन्द्रका व्यवस्थापक प्रभुनाथ झाले प्रशिक्षणका लागि तीन लाख रुपैयाँ बजेट छुट्याएको बताए । ‘पालिकाले बजेटमा यो विषय उल्लेख गरेको थिएन । तर, युवाको माग बढेपछि हामीले बजेट संशोधन गरेर तीन लाख रुपैयाँ भाषा प्रशिक्षणका लागि राखेका हौँ,’ उनले भने, ‘यो ट्रायल प्रोजेक्टको रुपमा छ । अहिले कति युवाले आवेदन दिन्छन्, हेर्छौँ । प्रभावकारी हुने अवस्था भयो भने बजेट थप गर्छौँ ।’
आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिने व्यवस्थापक झाको भनाइ छ । उनले स्वरोजगारमूलक कार्यक्रम पनि तालिम केन्द्रले गरिरहेको दाबी गरे ।
‘हामीले स्वरोजगारमूलक धेरै खालका तालिम गरेका छौँ । कतिपयले विदेश जान पनि खोजिरहेका छन् । व्यवसाय पनि राम्रो हुन सकेको छैन । त्यसकारण विदेशतिर आकर्षित हुनेका लागि हामीले राम्रो मुलुकमै जाने गरी भाषा प्रशिक्षण कार्यक्रम राखेका हौँ,’ उनले भने ।
व्यवस्थापक झाले प्रशिक्षकको व्यवस्था सार्वजनिक सूचना जारी गरेर गर्ने बताए । ‘कम मूल्यमा राम्रो अनुभव भएको प्रशिक्षक हायर गर्नेछौँ,’ उनले भने ।
उनले भाषा प्रशिक्षणका लागि धेरै युवा आकर्षित भए भने पालैपालो प्रशिक्षणको व्यवस्था गर्ने पनि बताए । ‘प्रशिक्षकले कति जनालाई प्रशिक्षण दिन सक्नुहुन्छ । त्यही हिसाबले हामी अर्को वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिँदै जान्छौँ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्