मकवानपुरमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । जेसिआई बसामाडीले २० औं स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृतिको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको आज आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ६५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ट्रयाकसुट प्रदान गरिने जेसिआइ बसामाडीका अध्यक्ष जेसि चिराग अग्रवालले जानकारी दिनुभयो । प्रतियोगिता मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हेटौंडा–४ स्थित हुप्रचौरमा सञ्चालन हुने अग्रवालले बताउनुभयो ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि मंसिर २६ गते बेलुकासम्म टिम दर्ता गर्न सकिने प्रतियोगिता संयोजक सरोज पौडेलले बताउनुभयो । प्रतियोगिताको खेल तालिका मंसिर २७ गते मंगलबार सार्वजनिक गरिने पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा २ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

जेसिआई बसामाडीका अध्यक्ष चिराग अग्रवालको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जेसिआई बसामाडीका पुर्वअध्यक्ष सरोज अधिकारी, राष्ट्रिय भलिबल प्रशिक्षक बिनोद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी