बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण आगामी २०८३ कार्तिक १२, १३ र १४ गते देशका अधिकांश प्रदेश प्रभावित हुनसक्ने पूर्वानुमान रहेपछि थाहा नगरपालिकाले नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

थाहा नगरपालिकाले जनहितमा सूचना जारी गर्दै चक्रवातका कारण चट्याङ, हावाहुरीसहित वर्षा तथा बाढी–पहिरोको जोखिमसमेत उच्च रहेको जनाएको हो। नगरपालिकाले सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन तथा मौसमसम्बन्धी पूर्वानुमान र स्थानीय प्रशासनबाट जारी हुने सूचनाको नियमित पालना गर्न नगरवासीलाई आग्रह गरेको छ।

नगरपालिकाले विशेषगरी खोला तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ। रातिको समयमा पहिरोको उच्च जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउन तथा अत्यावश्यक कामबाहेक जोखिमपूर्ण सडकमा यात्रा नगर्न पनि अनुरोध गरिएको छ।

त्यसैगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अपाङ्गता भएका व्यक्तिको विशेष सुरक्षा सुनिश्चित गर्न नगरपालिकाले आग्रह गरेको छ। सम्भावित विपद्का समयमा जोखिममा रहेका व्यक्ति तथा परिवारलाई सुरक्षित स्थानमा राख्न र आवश्यक पूर्वतयारी गर्नसमेत नगरवासीलाई अनुरोध गरिएको छ।

नगरपालिकाले विपद् वा आपत्कालीन अवस्था देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ। सूचनामा थाहा नगरपालिका, नगर प्रहरी, स्थानीय प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय तहको आपत्कालीन सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको छ।

नगरपालिकाका अनुसार विपद्को समयमा स्थानीय सरकार, सुरक्षा निकाय तथा सम्बन्धित सबै पक्षबीच समन्वय र सूचना आदानप्रदानलाई प्रभावकारी बनाइनेछ। नगरवासीलाई मौसमको अवस्था हेरेर यात्रा तथा दैनिक गतिविधि सञ्चालन गर्न र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ।

नगरपालिकाले ‘सचेत रहौँ, सुरक्षित रहौँ’ भन्ने सन्देशसहित विपद् जोखिम न्यूनीकरण सबैको साझा जिम्मेवारी भएको जनाएको छ।

पालिका प्रेस
थप जानकारी