स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सामूहिक आबद्धता तथा नवीकरण अब प्रदेश र स्थानीय तहबाटै डिजिटल माध्यमबाट गर्न सकिने भएको छ। स्वास्थ्य बीमा बोर्डले एचआईबी ई–पोर्टलमार्फत प्रदेश तथा स्थानीय तहका लागि डिजिटल सामूहिक आबद्धता र नवीकरण सेवा सुरु गरेको हो।
बोर्डले कात्तिक १७ गतेदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो। पहिलो चरणमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ताका रूपमा पहुँच प्रदान गरी सेवा सुरु गरिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार यस प्रणालीमार्फत प्रदेश सरकार तथा स्थानीय तहले आफ्नै ड्यासबोर्डबाट स्वयं वा दर्ता सहयोगीमार्फत नागरिक तथा लक्षित लाभग्राहीलाई स्वास्थ्य बीमा कार्यक्रममा सामूहिक रूपमा आबद्ध गराउन र नवीकरण गर्न सक्नेछन्। यसका साथै योगदान रकम भुक्तानी तथा अभिलेख व्यवस्थापनसमेत डिजिटल प्रणालीबाटै गर्न सकिनेछ।
स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहलाई स्वास्थ्य बीमा बोर्डका सम्बन्धित प्रदेश तथा जिल्ला कार्यालयसँग समन्वय गरी डिजिटल आबद्धता तथा नवीकरण सेवा सञ्चालन गर्न आग्रह गरेको छ।
यो प्रणालीले सामूहिक आबद्धताको प्रक्रियालाई सहज, व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने तथा दर्ता प्रक्रियामा लाग्ने समय घटाउन सहयोग पुग्ने बोर्डको अपेक्षा छ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट तथा प्रवक्ता डा. पवनकुमार शाहले डिजिटल प्रणालीमार्फत स्वास्थ्य बीमा कार्यक्रममा सामूहिक आबद्धता र नवीकरण सेवा सुरु गरिएको जानकारी दिएका हुन्।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्