मकवानपुर थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील पालुङ जेसीजको अध्यक्षमा संगम कार्की निर्विरोध निर्वाचित भएका छन् । थाहानगरमा सम्पन्न २३ औँ वार्षिक साधारण सभाबाट पालुङ जेसीज वर्ष २०२३ का अध्यक्ष कार्कीलगायत पदाअधिकारीहरु सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पदमा निरज रायमाझी र विक्रम गोपालीले पनि मनोनयनदर्ता गरेका थिए । उनीहरुले उमेद्वारी फिर्ता लिएपछि कार्की सर्वसम्मत भएका हुन् ।

पालुङ जेसीजको कार्यकारिणी उपाध्यक्षहरुमा अञ्जय प्रधान र दिपा बल सर्वसम्मत भएका छन् । त्यसैगरी उपाध्यक्षपदमा अजित कार्की, अजय कार्की, प्रकाश बहादुर चन्द र मनिष अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । दुई कार्यकारिणी उपाध्यक्ष पदका लागि माधव कार्की, मान सिं दोङ, अञ्जय प्रधान र दिपा बलको उम्मेद्वारी परेको थियो भने चार उपाध्यक्ष पदका लागि नारायण तामाङ, अजय कार्की, प्रकाश बहादुर चन्द, अजित कार्की र मनिष अधिकारीको उम्मेद्वारी परेको थियो ।

पालुङ जेसीज जेसीजको वर्ष २०२२ का कानुनी सल्लाहकार रहेका कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । कार्कीले तीन ‘स’ अर्थात् समानता, सहकार्य र सफलताको मूल सिद्धान्तसहित अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । अंग्रेजी र समाजशास्त्र विषयमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका कार्कीले बर्ष २०२३ मा उपलब्धिमुलक कार्यक्रम गर्दै सदस्यहरुको ब्याक्तित्व बिकास सहित गाउँ, समाज र राष्ट्रको विकासमा युवाको क्षमतालाई प्रदर्शन गर्न सक्ने बनाउन विविध कार्यक्रम संचालन गर्ने बताए । कार्कीले बर्ष २०२३मा विशेष २३ कार्यक्रम सहित उत्कृष्ट बर्ष बनाउने समेत बताए । उनले युवाहरुलाई सूचनाप्रविधिमा जोडेर थाहानगरको शिक्षा, स्वास्थ्य, सहकारी, पर्यटन, कृषि, राजनीतिक, व्याक्तित्व विकासको क्षेत्रमा कार्यक्रमहरु तयार गरिएको प्रतिक्रिया दिए ।

वर्ष २०१६ मा पालुङ जेसीजको सदस्यता लिएका कार्कीले २०१७ मा साधारण सदस्य, २०१८ मा ओमकर क्वीज कन्टेष्ट संयोजक, २०१९ मा उपाध्यक्ष, २०२० मा कोषाध्यक्ष, २०२१ मा महासचिव र २०२२मा कानुनी सल्लाहकारको भूमिकामा कार्यसम्पादन गरेका छन् । पालुङ जेसीज बर्ष २००५ का अध्यक्ष सानोभाई कार्कीको जेठो छोरा संगम कार्की आफ्नो बुबाको प्रेरणाले गर्दा यहाँसम्म आइपुगेको बताउँदै युवाहरुलाई समाज बिकासमा प्रेरित गर्ने बताए ।

जमर्को नेपालको अध्यक्ष, एन्टिक नेपाल प्रा.लि. (हस्तकला सम्बन्धि तालिम र सिप प्रदान गर्ने संस्था) ब्यवस्थापकको जिम्मेवारी सम्हालीसकेका कार्की हाल जनकल्याण माविको शिक्षक, उच्च माध्यमिक शिक्षक संगठनको थाहानगर संयोजक, नेपाल शिक्षक महासंघ थाहानगर सदस्य, प्याब्सन थाहानगर सचिव, हिमालयन ईङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलको संयोजक, न्यु भिजन एकेडेमी थाहा ३को संस्थापक, जनकल्याण मावि मानविकी संकाय संयोजक, नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य, अखिल नेपाल शिक्षक संघ मकवानपुर जिल्ला सदस्य, जनशक्ति कृषक सहकारी संस्था लि. थाहा ३ को लेखा सुपरीवेक्षण समिति सदस्य लगायतको जिम्मेवारीमा छन् ।

सामाजिक क्षेत्रमा सक्रिय कार्कीले पालुङ जेसीजको ईतिहासमा वर्ष २०२३ लाई लोकप्रिय र उत्कृष्ट बनाउने प्रतिवद्धता जनाएका छन् । निर्वाचितहरुको कार्यकाल एकवर्षको मात्र हुनेछ ।

पालिका प्रेस
थप जानकारी