मनोरोगीलाई लक्षित गर्दै सञ्चालनमा आएको हटलाइन सेवा ‘११६६’ काे प्रभावकारिता बढेको पाइएको छ । करिब १९ महिनाअघि मानसिक अस्पताल लगनखेल र टीपीओ नेपालले यो सेवा सञ्चालनमा ल्याएका हुन् ।

”पछिल्लो समय हामीलाई फोन गर्ने मानिसहरूको संख्या बढिरहेको छ,” मानसिक अस्पतालकी एक परामदर्शदाताले टेकपानासँग भनिन् । आत्महत्या वा आत्महानीको सोच आइरहेका व्यक्तिहरूलाई लक्षित गरी यो सेवा सुरु गरिएको उनले बताइन् ।

”डिप्रेसन, एन्जाइटी, आत्महत्या सोचाइ एवं आत्महत्याको प्रयास गरेको सम्बन्धी कल बढी आउने गरेको छ,” उनले भनिन्, ”यसबाट आत्महत्याको सोचाइबाट कसरी बाहिर निस्कने, यस्तो सोच आउँदा मनलाई कसरी शान्ति राख्ने, तनावहरूलाई कसरी व्यवस्थान गर्ने, डिप्रेसनको लेभल अनुसार आफूलाई कसरी ठीक अवस्थामा राख्ने लगायतका विषयमा परामर्श दिइरहेका छौं ।”

धेरैजसो कल बेलुकीको समयमा आउने गरेको उनले सुनाइन् । ”हामीले चौबिसै घण्टा सेवा दिइरहेका छौं । दिनमा औसतमा अधिकतम ९० ओटा कलसम्म बिरामी वा सम्बन्धित व्यक्तिको फोन आउने गरेको छ,” उनले थपिन् ।

यो हटलाइन सेवाबाट धेरै व्यक्तिले मनोपरामर्श लिई आफूलाई मानसिक रुपमा स्वस्थ राख्न सकेको उनको भनाइ छ । हाम्रो परामर्शबाट धेरै पीडित व्यक्ति सामान्य दैनिकीमा फर्किएको, ‘मुभ अन’ भएका कथाहरू छन्,’ उनले भनिन् ।

फोनबाटै पर्याप्त मनोपरामर्श नपुगेका बिरामी अस्पतालमै आएर थप परामर्श लिन सक्ने सुविधा पनि दिइएको छ ।

आत्महत्याको सोच आउनु एक मानसिक स्वास्थ्य समस्या भएकाले सामाजिक तथा व्यवहारिक कारणले यी सोच अझै बढ्न सक्ने सम्भावना हुन्छ । मानसिक स्वास्थ्य सेवा र मनोपरामर्श लिएमा यो समस्या पूर्ण रुपमा निको हुने भएकाले आत्महत्या तथा आत्महानीको सोच आएमा यस्तो सोच र व्यवहारलाई आफूभित्र मात्र नराख्न उनले आग्रह गरिन् ।

यदि तपाईं वा तपाईँ वरपर कोहीमा यस्ता मानिसक समस्या भएमा ‘1166’ मा निःशुल्क फोन गरी परामर्श लिन सक्नुहुनेछ ।

-टेकपानाबाट

पालिका प्रेस
थप जानकारी