बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सरकारी कार्यलयहरुलाई बेरुजु घटाउन निर्देशन दिएका छन् । विभिन्न खर्चपछि बेरुजु धेरै देखिन थालेकोले यसलाई घटाउन विशेष ध्यान दिन उनले निर्देशन दिएका हुन् ।

भौतिक पूर्वाधार बिकास मन्त्रालयको अर्धवार्षिक समिक्षा कार्यक्रमको समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका थपलियाले धेरै बजेट भएको मन्त्रालय भौतिक पूर्वाधार बिकास मन्त्रालय रहेको भन्दै उनले बजेट सहि ठाउँमा कार्यान्वयन गर्ने, बेरुजु नहुने गरी बजेट निकासा गर्ने र त्यसको उपलब्धि पनि अध्ययन हुनुपर्ने धारणा राखे । अर्धबार्षिक समिक्षाको समय भएको अवस्थामा विनियोजित बजेटलाई यथासक्य उपलब्धी हासिल हुने गरी खर्च गर्ने तर्फ ध्यान दिन जरुरी रहेको मन्त्री थपलियाले बताए ।प्रदेशको समग्र भौतिक पूर्वधार विकासको लागि मन्त्रालयको कार्यसम्पादन महत्वपुर्ण रहेकोमा जोड दिदैै उहाँले आयोजना छनोट देखि नै विशेष ध्यान दिन कर्मचारीलाई आग्रह गरे । बजेट खर्च मात्र गर्ने भन्दा पनि गुणस्तरीय रुपमा आयोजनाको काम भयोकी भएन भन्ने तर्फ पनि प्राविधिक कर्मचारीले ध्यान पु¥याउन उनले सचेत गराए ।

बजेट कार्यन्वयन गर्ने तर त्यसलाई किन भएन भन्नेतर्फ नजरअन्दाज गर्ने पनि गुनासो सुनिएको भन्दै उनले भने–‘आर्थिक अनुसासन, मितब्ययिता नजरअन्दाज नगरी कार्य सम्पन्न गर्न सबैको ध्यान जानुपर्छ ।’ प्रदेश सरकारको राजस्व संकलन दर न्युन हुदै गएको अवस्था रहेको भन्दै करको दायरा बढाउनुपर्ने उनले बताए । अहिले बजेट विनियोजन गरीएका भन्दा फरक स्थानमा योजना कार्यान्वयन गर्नुपर्ने दवाव आइरहेको भन्दै सामान्य संशोधन भन्दा अरु केहि फेरबदल गर्न मात्र सकिने उहाँले जानकारी दिए ।

आगामी वर्षको बजेट निर्माण कार्य प्रारम्भ भै सकेकोले त्यस तर्फ पनि ध्यान दिनुपर्ने भन्दै कार्यक्रम तथा आयोजना प्रस्ताव गर्दा ठेक्का ब्यवस्थापनमा जान सकिने गरि जग्गा प्राप्ति, डिजाईनिङ, वातावरणीय प्रभाव मूल्याङ्कन जस्ता पूर्व तयारी सम्पन्न भईसकेका ठूला आयोजनामा मात्र रकम प्रस्ताव गर्न मन्त्रालयलाई आग्रह गरे । वागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री माननीय युवराज दुलालको अध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेशका मुख्य सचिव मुकुन्द निरौला, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, बागमती प्रदेशका यातायात पूर्वधार निर्देशनालयका प्रमुख, लगायतका उपस्थति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी