थाहा नगरपालिकाका शिक्षकहरुका लागि योग, ध्यान र साधना तालिम १८ भदौबाट शुरु भएको छ । सात दिनसम्म सञ्चालन हुने तालिम सोमबार विहान ६ बजेबाट जेसीज सभा हलमा शुरु भएको हो । थाहा नगरपालिकाका विद्यालयहरुमा योग, ध्यानलाई नियमित गर्ने उद्देश्यले पहिलो चरणमा थाहाका १, २, ३, ४, ७ र ८ का सार्वजनिक विद्यालयका शिक्षकहरुको सहभागितामा तालिम शुरु गरिएको थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लले जानकारी दिए ।

पहिलो चरणको तालिममा थाहा नगरपालिका साविक दामन, पालुङ र आग्राका गरी २९ जनाको सहभागिता रहेको छ । थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रममा विद्यालयहरुमा नियमित रुपमा विद्यार्थीहरुलाई योग ध्यान कक्षा सञ्चालन गर्ने विषय पारित गरी बजेटसमेत विनियोजन गरेको थियो । शिक्षकहरुलाई तालिम दिएर उनीहरुमार्फत् विद्यार्थीहरुलाई साधना कक्षामा सहभागी गराउने नगरपालिकाको योजना रहेको छ ।

विद्यार्थीहरुलाई योग, ध्यान र साधनामार्फत् अनुशासित र कर्तव्यनिष्ठ बनाई मानव मूल्यको जगेर्ना गर्ने थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले बताए । तालिमका सहाभागीहरुलाई योग गुरु राजन बिडारीले प्रशिक्षण दिइरहेका छन् । तालिमको संयोजन सुनौलो सामुदायिक सिकाइ केन्द्रले गरिरहेको छ ।

पालिका प्रेस
थप जानकारी