सरकारले एकसाथ ठूलो संख्यामा सहसचिवहरूको सरुवा गरेको छ । विभिन्न संघीय मन्त्रालय र प्रदेशका मन्त्रालयमा कार्यरत सहसचिवलाई सरुवा गरेको छ । केही विवादास्पद सहसचिवलाई जगेडामा लगेको छ भने केहीलाई नयाँ जिम्मेवारी दिएको छ । अवकाश हुन लागेका केही सहसचिवलाई पनि महत्त्वपूर्ण जिम्मेवारीबाट सामान्य कार्यालयमा पठाएको छ । सरुवामा परेका केही सहसचिव भने थमौतीको प्रयासमा पनि लागेका छन् ।

सरकारले यो साता ५८ जना सहसचिवको सरुवा गरेको हो । सरकारले दुई जना विवादास्पद सहसचिवलाई सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयको जगेडामा पठाएको छ । त्यसरी जगेडा पर्नेमा ६० किलो सुन तस्करी मुछिएका सहसचिव झलकराम अधिकारी र ललितानिवास जग्गा काण्डमा मुछिएका सुशील वैद्य रहेका छन् ।

अध्यागमन विभागको महानिर्देशक हुँदा अधिकारीको सुन तस्करीमा संलग्न दावा छिरिङसँग सिधा सम्पर्क रहेको भन्दै सीआईबीले बयान लिइरहेको छ । अधिकारी र छिरिङबीचको च्याट संवाद पनि सार्वजनिक भइसकेको छ । त्यसो त, अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेको समयमा पनि चोरीपैठारी रोक्न असफल भएको आरोपमा गत कात्तिकमा प्रधानमन्त्री कार्यालयमा तानिएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले नै गृह मन्त्रालय पठाएको र गृहले लगत्तै अध्यागमन विभागको महानिर्देशक बनाएको थियो । कर, राजस्व र अध्यागमनमा रहँदा उनले सुन तस्करसँग सम्बन्ध बढाएको अनुमान सीआईबीको छ ।

त्यसैगरी, ललितानिवास जग्गा विवादमा मुछिएका सहसचिव वैद्य दाङमा प्रमुख जिल्ला अधिकारी रहँदा छानबिनमा परेपछि उनी गृह मन्त्रालय तानिएका थिए । वैद्य काठमाडौं मालपोत कार्यालयमा रहेका बेला ललितानिवास जग्गा प्रकरणमा जोडिएको बताइन्छ । यसैगरी, गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा सचिव रहेका सहसचिव तुलसीराम भट्टराईलाई संघीय मन्त्रालयको जगेडा समूहमा राखिएको छ ।

गत साउनको ६० किलो सुन बरामद प्रकरणका बेला बिदामा रहेका सहसचिव भने सुदूरपश्चिम प्रदेश लखेटिएका छन् । त्यतिबेला त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक रहेका सहसचिव अरुण पोखरेललाई सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयमा पठाइएको हो ।

सामान्य प्रशासन महन्त्रालयका सहसचिव हेमराज तामाङलाई संस्कृति तथा पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ । उनलाई मन्त्रालयको पर्यटन विभागको महानिर्देशक बनाउन खोजिएको बताइएको छ । विभागका होमप्रसाद लुइँटेललाई राष्ट्रिय सूचना आयोगमा सरुवा गरिएको छ । तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले विभागमा पठाएका लुइँटेललाई यसअघि पनि सरुवा गर्ने प्रयास भएको थियो । विभागबाट मन्त्रालय तानेर मन्त्रालयका चक्रबहादुर बुढालाई पठाउन खोजिएको थियो । सामान्य प्रशासन मन्त्रालयका तामाङलाई सरुवा गरेपछि मन्त्रालयको प्रशासन महाशाखामा राष्ट्रिय योजना आयोगबाट सुमन दाहाललाई ल्याएको थियो ।

भन्सार विभागको महानिर्देशकसमेत भइसकेका दाहाललाई तामाङले नेतृत्व गरेको महाशाखाको जिम्मा दिने बताइएको छ । साथै, संघीय अर्थमन्त्रालयबाट पोखरेललाई पठाएपछि सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्रालयका सचिव नारायणप्रसाद रेग्मीलाई भने संघीय मामिला मन्त्रालयमा ल्याइएको छ । त्यसैगरी, शहरी विकास मन्त्रालयका रवीन्द्र बोहरालाई सार्वजनिक खरिद अनुगमन कार्यालय र प्रदीप परियारलाई योजना आयोग सरुवा गरिएको छ ।

संघीय मन्त्रालयका बलाराम रिज्याललाई गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयका महेश बराललाई योजना आयोग र लोकसेवा आयोगका तोयनारायण सुवेदीलाई ऊर्जा सिँचाइ तथा जलस्रोत मन्त्रालयमा सरुवा गरिएको छ । सुवेदी लोकसेवा आयोगमा प्रवक्ता थिए । लोकसेवा आयोगमा रहेका प्रदीप कोइरालालाई वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव महेश आचार्यलाई अर्थ मन्त्रालय, गृहका शिवराम न्यौपानेलाई लोकसेवा आयोगमा सरुवा गरिएको छ । राष्ट्रिय योजना आयोगका सहसचिव प्रकाश दाहाललाई बागमतीको आर्थिक मामिला मन्त्रालयको सचिव र बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालयमा रहेको शिवराम गेलाललाई गृह मन्त्रालय सरुवा गरिएको छ ।

पालिका प्रेस
थप जानकारी