मकवानपुरमा आयुर्वेदप्रति नागरिकको आकर्षण बढ्दै गएको पाईएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्य भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति आम नागरिकको आकर्षण बढ्दै गएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हेटौँडा मकवानपुरमा गत आर्थिक वर्ष २०७९÷०८० मा २६ हजार ८९४ जनाले सेवा लिएका छन् । जसमा महिला १४ हजार १५५ र पुरुष १२ हजार ७३९ जनाले आयुर्वेद सम्बन्धी सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरकी आयुर्वेद चिकित्सक डा.ललिता पाण्डेले जानकारी दिइन् । गत आवको तथ्याङ्क अनुसार १० हजार २५५ महिला र ९ हजार १११ पुरुषसहित १९ हजार ३६६ जना नयाँ सेवाग्राही थपिएका थिए भने ३ हजार ९०० महिला र ३ हजार ६२८ पुरुष सेवाग्राही पुनरावृत भएको तथ्याङ्क छ । थपिएको नयाँ र पुनरावृत हुनुभएका सेवाग्राहीको तथ्याङकले आयुर्वेदप्रति आकर्षण बढ्दै गएको देखिन्छ ।

जिल्ला आयुर्वेद स्वास्थ केन्द्र हेटौँडा मकवानपुरका अनुसार बितेको आर्थिक बर्षमा अप्रेसन गर्नुपर्ने र एन्टीवायोटीकका एकसय ५५ जना बिरामीलाई यहाँबाट रेफर गरिएको थियो । ५ बर्षदेखि १६ बर्ष सम्मका एक जना, १७ बर्षदेखि ५९ बर्षसम्मका १३६ जना, ६० बर्षभन्दा माथिका १८ जनालाई हेटौँडा अस्पताल, चितवन र नरदेवी आयुर्वेद चिकित्सालय काठमाडौँमा थप उपचारको लागि पठाइएको डा. पाण्डेले जानकारी दिइन् । रेफर गरिएको मध्य ८९ जना महिला र ६६ जना पुरुष बिरामी रहेका थिए । विशेषगरी हाड जोर्नी, ग्यास्ट्रिक, नसाको दुखाइ, रुघा, खोकी ज्वरो लगायतका स्वास्थ्य समस्या लिएर बिरामी यहाँ आउने गरेको उनले बताइन ।

नेपाल सरकारले निर्धारण गरेको २३ थरिका औषधि निःशुल्क वितरण गरिएको छ, उनले भनिन्–“आम नागरिकलाई आयुर्वेदिक औषधिको लागि सहजता होस् भन्ने उद्देश्यले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले आफ्नै फार्मेसीबाट बाहिर भन्दा ५ प्रतिशत कम शुल्कमा औषधि उपलब्ध गर्ने व्यवस्था मिलाएका छौँ ।” ६ महिना सम्मको सुत्केरीलाई दुध बढाउने औषधि पनि दिएका छौं, यो कार्यक्रम प्रभावकारी बनाउन जिल्लाको बकैया र बागमती गाउँपालिका र हेटौँडा उपमहानगरपालिका–२ मा कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिइन् । विशेषज्ञसहितको ओपिडि सेवा, विहान ८ बजेदेखि ३ बजेसम्म ल्याव सेवा, फिजियोथेरापी, आयुर्वेदीक थेरापी, जेष्ठ नागरिक सेवा र विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गरिदै आएको उनको भनाई छ ।

भदौ १ गतेदेखि १७ गतेसम्म जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरमा एकसय एकजनाले फिजियोथेरापी सेवा निःशुल्क लिएका छन् । बागमती प्रदेश सरकारको साउन २२ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार भदौ १ गतेदेखि प्रदेशका १३ वटै जिल्लाका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा रिह्याबिटेसन र फिजियोथेरापी सेवा निःशुल्क गरिदै आएको छ ।

गोरखापत्र दैनिकबाट

पालिका प्रेस
थप जानकारी